६ लेन सडक निर्माणमा प्रदेश सरकारको चासो «

६ लेन सडक निर्माणमा प्रदेश सरकारको चासो

विराटनगर-अत्यन्तै सुस्त गतिमा विस्तार भइरहेको विराटनगर–धरान ६ लेन सडकको निर्माणमा प्रदेश सरकारले चासो देखाएको छ । सडक विस्तार सुरु भएको लामो समय भइसकेको छ । सडक निर्माणले गति नलिँदा यात्रुले सास्ती बेहोर्नु परेको छ ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले विराटनगर रानीदेखि धरानसम्म निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सडकसम्बन्धी सरोकारवालासँगको बैठकमा मुख्यमन्त्री राईले ६ लेन सडकलगायत विराटनगर महानगरपालिका मुख्य तथा भित्री सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । “निर्माणाधीन सडकलाई चाँडोभन्दा चाँडो निर्माण गर्नुप¥यो,” मुख्यमन्त्री राईले भने, “त्यसका लागि प्रदेश सरकारले कहाँनेर के गर्नुपर्छ तत्काल भन्नुहोला ।”
सडक निर्माणमा देखापरेका समस्याको पहिचान र निराकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री राईले जानकारी दिए । विराटनगर प्रदेशको अस्थायी राजधानी भएकाले स्वदेशी र विदेशी पाहुनाको आगमन दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको बताउँदै उनले भने, “सहरको सुन्दरता कायम राख्न तथा सवारी साधनको चाप कम गर्न भित्री सडकको निर्माण जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने जरुरी छ ।”
भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले आगामी साता हुने राष्ट्रपतिको विराटनगर भ्रमण, प्रदेश मन्त्रालयको दैनिक हुने कार्यक्रम, फागुनमा हुने साफ महिला फुटबलमा पाहुनाको आगमन वृद्धि हुने भएकाले सडक निर्माणमा रहेका अवरोध हटाई समयमै निर्माण गर्नुपर्ने निर्देशन दिए । मुख्यमन्त्री राईले सडक, विद्युत्, टेलिकम, खानेपानीलगायतका कार्यालयबीच आवश्यक समन्वय गरी सडक निर्माणलाई द्रुत गतिमा अगाडि निर्देशन दिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सम्बन्धित कार्यालयका सचिव, विराटनगर, दुहबी र इटहरी स्थानीय तहका प्रमुख, सडक आयोजनाका प्रमुख, सडक, विद्युत्, टेलिकमका प्रमुख, सडक आयोजना जिम्मा लिएका निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्