भेरी बबई डाइर्भसन निर्धारित समय र लागतमा निर्माण हुनुपर्छ «

भेरी बबई डाइर्भसन निर्धारित समय र लागतमा निर्माण हुनुपर्छ

राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइर्भसनको कार्यमा सन्तोषको सास फेर्न पाउनु टीबीएम मेसिनकै कमाल हो ।

नेपाल, कृषिप्रधान मुलुक भईकन पनि यथेष्ट सिँचाइ सुविधाको अभावमा विद्यमान कृषियोग्य भूमिबाट अपेक्षाकृत लाभ लिन सकिएको छैन । जहाँ २६ लाख ४१ हजार हेक्टर जमिन कृषियोग्य रहेकोमा १७ लाख ६० हजार हेक्टर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अध्ययनले देखाएको छ । परन्तु, सिँचाइ योग्य जमिनमध्ये १५ लाख ९ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ, जसमा वर्षभर सिँचाइ सुविधा भने ५ लाख ५७ हजार हेक्टरमा मात्र उपलब्ध हुन सकेको छ । परिणामतः कृषि ६५ प्रतिशत नेपालीको मुख्य पेसा भईकन पनि वार्षिक १ खर्ब अधिकको कृषि वस्तु आयात गर्नुपर्ने बाध्यता छ ।
कृषियोग्य भूमि कति छ भन्नुभन्दा पनि वार्षिक कति जमिनमा सिँचाइ सुविधा पुर्याइँदो छ, त्यो महत्वपूर्ण कुरा हो । परन्तु, ०७०/७१ देखि ७२/७३ को अवधिमा वार्षिक औसत २० हजार ५ सय ६१ हेक्टर जमिनमा मात्र थप सिँचाइ सुविधा उपलब्ध गराउन सकिएको छ, जहाँ ०७४/७५ सम्ममा आइपुग्दा १४ लाख ८८ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेकामा ०७५/७६ मा मात्र २० हजार ३ सय हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य तय भएको छ ।
यसो त नेपालमा सिँचाइका लागि परम्परागत कुलो, परम्परागत पोखरी, टर्पोलिन पोन्ड, लिफ्ट इरिगेसन, नहर लगायतका विधि उपयोग हुदै आएको छ । सिँचाइका लागि साना, मझौला र ठूला आयोजना अगाडि सारिएका छन् । सिँचाइको महत्व हृदयंगम गर्दै राज्यले रणनीतिक महत्वका सिक्टा, रानीजमरा कुलरिया, भेरी बबई बहुउद्देश्यीय डाइभर्सन गरी चारवटा आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् । तीमध्ये भेरी बबई डाइभर्सन मात्र बहुउद्देश्य आयोजनाका रूपमा अगाडि सारिएको छ ।
सुर्खेत, बाँके, बर्दिया जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ, सहरी विकास र जलाधार संरक्षणको क्षेत्रमा एकसाथ टेवा पुर्याउने लक्ष्य भेरी बबई डाइभर्सन बहुउद्देश्यीय अयोजनाले लिएको छ । जहाँ पहिलो चरणमा १२.२ किलोमिटर लामो सुरुङ निर्माणको संरचना निर्माण गर्ने, दोस्रो चरणमा ४८ मेगावाट विद्युत् उत्पादनको संरचना निर्माण गर्ने र तेस्रो चरणमा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने संरचना निर्माण गर्ने योजनाको लक्ष्य छ । क्षेत्रफलका हिसाबले अहिलेसम्मकै सबैभन्दा अधिक जमिन सिँचाइ सुविधा पुर्याउने आयोजना हो यो ।
सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनेरिङ ग्रुप लिमिटेड (कोभेक) ले लिएको छ । २०७५ फागुनसम्ममा पूरा गर्ने गरी २०७१ माघमा सुरुङ निर्माणको सम्झौता भएकोमा तोकिएकै समयमा पूरा हुने देखिएको छ । तथापि, बाँकी तीन वर्षको अवधिमा विद्युत् उत्पादन र सिँचाइको कार्य टुंगो लगाउन कम्ती पापड बेल्नुपर्ने छैन ।
०७७/७८ सम्म पूरा गर्ने सोचका साथ ०६८/६९ मा सुरुवात भएको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अन्य आयोजनाजस्तै लागत वृद्धि हुनबाट अछुतो छैन । सुरु लागत १२.६३ अर्ब अनुमान गरिएकोमा अहिले यो लागत अनुमान १६.४३ अर्ब पुगेको छ, जहाँ सुरुङ निर्माणका लागि मात्र १०.५६ अर्ब लाग्ने अनुमान छ ।
जाजरकोट छिन्चु सडकखण्डको चिप्लेमा १५ मिटर अग्लो बाँध (ड्याम) निर्माण गरी भेरी नदी पानी प्रतिसेकेन्ड ४० घनमिटरका दरले ४.२ डायमिटर ब्यास भएको १२.२ किलोमिटर सुरुङवाट बबई नदीमा खसालिने छ । जहाँ १ सय ५० मिटर हेडको सदुपयोग गरी ४८ मेगावाट बिजुली उत्पादन हुनेछ, जसका निमित्त चिप्लेमा बाँध (हेडवक्र्स) र हात्तीखालमा पावरहाउस निर्माणको सोच बनाइएको छ ।
कार्य सन्तोषजनक गतिमा अगाढि बढिरहेको छ, जहाँ सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनेरिङ ग्रुप लिमिटेड (कोभेक) प्राप्त गरेकोमा टीबीएम मेसिनबाट सुरुङ खन्न सुरु गरेको ११ महिनाको अवधिमा १२ किलोमिटरमध्ये ८ किलोमिटर सुरुङमार्ग तयार भैसकेको छ । बाँकी ४ किलोमिटर सुरुङ बढीमा ६ महिनामा पूरा हुने बताइन्छ । सुरुङमार्ग निर्माणपछि गर्नु पर्ने कार्य भनेको बाँध र विद्युत्गृह निर्माणको हो । अहिले यी दुई कार्यको अध्ययन भइरहेको छ । आयोजना प्रतिवेदन आयोजना प्रमुखबाट स्वीकृत भएपश्चात् विश्वव्यापी बोलपत्र आह्वान गरी बाँध र विद्युत्गृह निर्माणको कार्य अगाडि बढाइने छ ।
आयोजना निर्धारित समयमा निर्माण सम्पन्न गर्न अन्य कुराका अतिरिक्त यथेष्ट बजेट विनियोजन गर्न सक्नुपर्छ । अघिल्ला वर्षहरूमा न्यून बजेट विनियोजन भएकोमा अहिले यो आकार आयामिक रूपमा वृद्धि भएको छ । जहाँ ०७३/७४ मा ८६ करोड र ०७४/७५ मा ८८ करोड विनियोजन भएकोमा ०७५/७६ मा संघीय सरकारले ६.०९ अर्ब विनियोजन गरेको छ, जहाँ ०७५/७६ मा आन्तरिक स्रोत ४.०९ अर्ब र बाह्य ऋण २ अर्ब उपयोग गरिनेछ । महत्वपूर्ण कुराचाहिँ ०७४/७५ मा ८० करोड मात्र विनियोजन भएकोमा कार्य प्रगतिलाई आधार मानी अर्थ मन्त्रालयले थप ४ अर्ब रुपैयाँ वयवस्था गरेको नजिर छ । कार्यप्रगति सन्तोषजनक भएमा स्रोतको व्यवस्थापन गर्न राज्य पछाडि पर्दैन भन्ने सबुत थियो, त्यो ।
राष्ट्रिय गौरवको आयोजना हुनुको नाताले आवधिक योजनाको लक्ष्यबाट भेरी बबई डाइभर्सन अछुतो रहने कुरै थिएन । चौधौं आवधिक योजनामा ९ किलोमिटर सुरुङ निर्माण गरी हेडवक्र्स तथा पावर हाउस निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य तय भएकोमा हालसम्मको कार्यलाई आधार मान्दा उक्त लक्ष्य प्राप्त हुने देखिएको छ ।
जहाँसम्म टीबीएम मेसिनको कमालको प्रसंग छ; कुल १२.२ किलोमिटर सुरुङमध्ये निर्माण सुरुवातको ११ महिनामा (२०७५ कात्तिक अन्तिमसम्म) ८ किलोमिटर सुरुङ तयार भएको छ । यही गतिमा कार्य हुँदा २०७५ फागुनसम्ममा बाँकी ४ किलोमिटर सुरुङ पूरा हुने आकलन छ । महत्वपूर्ण कुराचाहिँ भौगर्भिक अध्ययनमा जोखिमयुक्त ठानिएको भाग अहिले पूरा भइसकेको छ । चीनबाट झिकाइएको टनेल बोरिङ मेसिन अर्थात् टीबीएमले सोचेभन्दा राम्रो काम गरेकाले छोटो समयमा राम्रो उपलब्धि हासिल भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइर्भसनको कार्यमा सन्तोषको सास फेर्न पाउनु टीबीएम मेसिनकै कमाल हो । ब्लास्टलगायत परम्परागत प्रविधिमै सीमित भएको भए एक वर्षमा १ किलोमिटर सुरुङ खन्न कठिन हुन्थ्यो होला, जबकि टीबीएमद्वारा दैनिक २५ देखि ४२ मिटरसम्म सुरुङ खन्न सकिएको छ । अन्य आयोजनाहरूमा सुरुङ निर्माणको खातिर यो नयाँ र भरपर्दो प्रस्थान हुन सक्छ, टीबीएम मेसिन ।
प्राथमिकता संकेत तथा रणनीतिक स्तम्भका हिसाबले प्रथम, दिगो विकास संकेत, जलवायु परिवर्तन संकेत र लैंगिक संकेतका हिसाबले दोस्रो सोपानमा सूचीकृत भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पूरा भएमा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनुका अतिरिक्त ४८ मेगावाट बिजुली प्राप्त हुनेछ, जहाँ वार्षिक रूपमा कृषि क्षेत्रबाट ३.१ अर्ब र विद्युत्वाट २.१ अर्ब बराबरको लाभ लिन सकिने अनुमान गरिएको छ, जुन चानचुने उपलब्धि हुनेछैन ।
सुरुङ खन्ने कार्य निर्धारित समयभन्दा एक वर्षअगावै पूरा हुनु एकखाले इन्सेन्टिभ हो । उक्त इन्सेन्टिभलाई पुँजीकरण गर्न आयोजनाको उच्च व्यवस्थापन चनाखो हुनुपर्छ । खासमा बाँध र विद्युत्गृह निर्माणको विस्तृत अध्ययन टुंगो लगाई विश्वव्यापी बोलपत्र (गोलोबल टेन्डर) आह्वान गर्न विलम्ब गर्नु हुँदैन । सबैभन्दा महत्वपूर्ण १६.४३ अर्ब (पछिल्लो संशोधित लागत) रुपैयाँको लागत वृद्धि नहुने गरी ०७७/७८ भित्र बेन्चमार्क आयोजनाका रूपमा भेरी बबई बहुउद्देश्यीय आयोजना टुंगो लगाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्