विदेशबाट फर्किएर तरकारी खेती «

विदेशबाट फर्किएर तरकारी खेती


वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।
उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ ।


बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ वर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् । उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्री गरिसकेका छन् भने अझै पनि बिक्री गर्न सकिने गरी उत्पादन भइरहेको छ ।


तरकारी खेतीका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले कोकाकोला र पेप्सीको बोतलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् । तरकारी खेतीमा उनले विषादी प्रयोग नगरेको र अर्गानिक तरकारी उत्पादन गरीरहेको बताउँछन्
युवा कृषक तुल्सीरामलाई प्रदेश सरकारले सञ्चालन गरेको स्मार्ट कृषि गाँउबाट तरकारी खेतीका लागि प्रयोग हुने हरेक सामग्री उपलब्ध गराएको छ । उनको तरकारी खेतीमा करेलासँगै काँक्रो, खुर्सानी, लौका, भिन्डी,फर्सीलगायतका तरकारीहरु छन् । प्रदेश सरकारबाट अनुदान सहितको सहयोग पाइरहेको उनले बताए ।


कृषक तुल्सीराम आफुले कृषिमा मेहनत गरिरहेको बताउँछन् । सरकारले वातावरण बनाइ दिए युवाहरु कृषि पेसामा आवद्ध हुने उनको भनाइ छ । नेपालमै बसेर अर्गानिक तरकारी उत्पादन गरी आम नेपालीलाई निरोगी बनाउन युवाहरुले भूमिका खेल्नुपर्ने उनले बताए ।
सिर्जनशिल भएर इमान्दारपूर्वक कृषि पेशामा संलग्न हुन सके दैनिक जीवनयापन गर्न मात्रै होइन, राम्रै आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन् तुल्सीराम । त्यसो त युवाहरुलाई कृषिमा आकर्षित गर्न तथा कृषि पेशामा टिकीरहनका लागि युवाहरुलाई तिनै तहको सरकारले आवश्यकता अनुसार सहजीकरण तथा सहयोग गर्नुपनि उत्तिकै आवश्यकता छ ।
पछिल्लो समयमा त झनै कृषक र कृषि पेशाको आवश्यकता र महत्व बढ्दै गएको छ । तसर्थ युवाहरुलाई कृषिमा समावेश गराउनको लागि सरकारले वास्तविक किसानलाई पहिचानगरी अनुदान दिने, उत्पादित वस्तुको बजारीकरण गर्न सहयोगको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्