सामाजिक व्यवसाय सम्मेलन हुने «

सामाजिक व्यवसाय सम्मेलन हुने

सामाजिक व्यवसाय दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मेलन हुने भएको छ । यूनुस सेन्टरको आग्रहमा स्वावलम्बन विकास केन्द्रले आयोजना गर्ने सम्मेलनमा शुन्य गरिबी, शुन्य बेरोजगारी र हरितगृह ग्यासको शुन्य उत्सर्जन लगायतका क्षेत्रमा छलफल गर्ने गरी भर्चुअल रुपमा सम्मेलन हुन लागेको हो ।
नोबेल शान्ति पुरस्कार विजेता प्रा. मोहम्मद यूनुस विशेष वक्ताको रुपमा रहने सम्मेलनमा १० जना विषयगत विज्ञहरुले आफ्नो धारणा राख्नेछन् ।
कार्यक्रमको जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले विद्यमान आर्थिक प्रणालीले विश्वमा धेरै किसिमका असमानता पैदा गरेको बताए । “विश्वको ९० प्रतिशत पुँजी तथा प्राकृतिक श्रोत साधनमा १ प्रतिशत धनीहरुको अधिनमा छ” उनले भने, “अब सामाजिक उत्तरदायित्वहरु वहन गर्न सक्ने तथा संरक्षणसँगै दिगो उपभोगका लागि स्रोत माथि साझा पहुँच स्थापित गर्न सक्ने र न्यायोचित उपयोगको वातावरण सिर्जना गर्न सक्ने समानतामुलक आर्थिक प्रणाली विकास गर्न आवश्यक छ ।”
वर्तमान आर्थिक प्रणालीको पुनर्संरचना गरी सामाजिक व्यवसाय अवलम्बन जरुरी रहेको भन्दै सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसले सामाजिक व्यवसायको अवधारणा जोडतोडले अघि सारेका हुन् । बंगलादेशको यूनुस सेन्टरले सामाजिक व्यवसायको यो अवधारणा विकास तथा प्रवद्र्धन गर्ने क्रममा हरेक बर्ष सामाजिक व्यवसाय दिवस मनाउँदै आएको छ । यो अवधारणासँग सहमत अन्य देशका संघ संस्था जस्तै नेपालमा स्वावलम्बन विकास केन्द्र र अन्य संघ संस्था एवम् व्यावसायिक घरानाहरुले पनि सामाजिक व्यवसायको अवधारणा प्रवद्र्धन गर्ने जमर्को गरी रहेका जनाएको छ ।
यस वर्ष ११औं सामाजिक व्यवसाय दिवसको अवसर पारी विश्वभर विशेष सभा सम्मेलनहरु आयोजना गरिँदै छन् । बंगलादेशको यूनुस सेन्टरको आयोजनामा असार १६ देखि २० गतेसम्मसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेका छन् भने १५ वटा देशमा राष्ट्रिय स्तरका फोरमहरु आयोजना हुँदैछन् ।
फोरममा स्वदेशी तथा विदेशी बंैक तथा वित्तीय क्षेत्र, व्यवसाय, गैरसरकारी क्षेत्र, वातावरण क्षेत्र, शिक्षा, अर्थ, वाणिज्य, खेल, युवा, महिला, रोजगारी, लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका करिब ३ सय जनाको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्