बाढीमा विलय भयो १२ करोड खर्चिएको ग्रिन सिटी पार्क «

बाढीमा विलय भयो १२ करोड खर्चिएको ग्रिन सिटी पार्क

कुल ३८ करोड लगानीमा बन्दै गरेको ग्रिन सिटी पार्र्क । जहाँ १२ करोड खर्चिसकिएको थियो । फाइल तस्बिर ।


इन्द्रावती गाउँपालिकाको नवलपुर हुँदै मेलम्ची पस्ने पुल छेउमा असार १ गते दिउँसोसम्म फराकिलो समथर जमिनमा आकर्षक मन्दिर, हरियाँ बगैंचा अनि ढुंगा बिछ्याइएको सुन्दर सडकपेटी देखिन्थ्यो । सलल बगिरहेको इन्द्रावतीको बगर छेउमा वरिपरि कम्पाउन्ड घेरिएको मेलम्चीको एउटा स्वर्गजस्तै लाग्ने पार्क थियो । त्यो हो मेलम्ची नगरपालिकाको महत्वकांक्षी योजना ग्रिन सिटी पार्क ।
असार १ गते साँझ हेलम्बु हुँदै बग्ने मेलम्ची नदी र पाँचपोखरी हुँदै बग्ने इन्द्रावती खोला एक्कासि बौलायो । दुवै खोलाको दोभान रहेको मेलम्ची बजारमा उर्लिएर बाढी पस्यो । सयौैं घरटहरा बगायो । मेलम्चीबासी खुला आकासमुनि बास बस्न बाध्य बने । अनि मेलम्चीलाई थप सुन्दरता झल्काउने र पर्यटन आकर्षित गर्ने लक्ष्यका साथ निर्माणाधीन ग्रिन सिटी पार्क एउटा कथा बन्यो । मेलम्चीबासीका सपनालाई बाढीले तुहाइदियो ।
तीन खण्डमा कार्य सम्पन्न गर्ने लक्ष्य राखी एक खण्ड निर्माण सकिएको र स्थानीयले समेत प्रशंसनीय कार्य मानेको पार्क अहिले बगरमा परिणत भएको छ । असार १ गते दिउँसो सुन्दर देखिएको पार्कमाथि अहिले खोला बगेको छ । पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण सुरु गरिएको थियो । कुल ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिने पार्कका लागि पहिलो खण्डामा नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माणको सुरुआत गरिएको हो । जुन १२ करोडको पहिलो खण्डको काम सम्पन्न हुने क्रममा थियो ।
पार्क निर्माण सुरु गरिएपछि यसको गुरु योजना हेर्दै स्थानीय पनि खुसी थिए । पयर्टनबाट समृद्धिको सपना देखेको मेलम्चीले पार्क निर्माणका लागि स्थानीयको समेत साथ पाएको थियो । पार्ककै कारण थप आन्तरिक तथा बाह्य पर्यटनको अपेक्षा स्थानीयले पनि राखेका थिए । पार्क बगाएपछि सुन्दर मेलम्चीको एउटा कल्पना टुटेको स्थानीय प्रकाश दाहाल बताउँछन् । “मेलम्चीको सुन्दरतालाई थप निखारता ल्याउने पार्कको बाढीले नामोनिसान मेटाइदियो,” उनले भने ।
ग्रिन सिटी पार्क निर्माणका लागि केबी एन्ड स्याङ्बो निर्माण सेवा जेभी र श्री खाम्पाचे शेर्पा निर्माण सेवासँग ०७४ जेठ ११ गते दुईपक्षीय सम्झौता भएको थियो । काठमाडौंबाट मेलम्ची भौगोलिक रूपमा एकदमै नजिक छ । सवारी साधनमा दुई घन्टाको यात्रापछि पुग्ने भएका कारण पर्यटक आकर्षित गर्न फरक शैलीमा पार्क निर्माण सुरु गरिएको थियो । इन्द्रावती खोलाको किनारमा रहेको खाली जग्गामा ग्रिन सिटी बनाउन पाँचवर्षे योजना बनाएको हो । यसका लागि नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै जाने र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।
पार्कको पहिलो चरणमा कम्पाउन्ड, गेट, भ्यूटावर, हेलिप्याड, मन्दिर, बगैंचा, पेटी आदि निर्माण भइसकेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्की बताउँछन् । “इन्द्रावती नदी किनारबाट तटबन्ध बनाई खोलाभन्दा करिब ३ मिटरको उचाइमा पार्क निर्माण हुँदै गरेको थियो,” उनले भने, “नदी किनारमा पार्क हुँदा वर्षाका बेला बाढीबाट जोगाउने नदी नियन्त्रण कार्य सम्पन्न नगरिएको हैन तर, अकल्पनीय बाढीले पार्क पूर्णरूपमा क्षति गरायो ।”
मेलम्ची नगरपालिकाको पार्क नमुना बनाउने योजना थियो । काम पनि यही अनुरुप भइरहेको थियो । व्यवस्थित ग्रिन सिटी पार्क बनाई पाँचवर्षे योजना भएका कारण यो पार्क आफैंमा उदाहरणीय हुने मेलम्चीको सपनालाई एकै झट्काको बाढीले निलिदिएको हो । मेलम्ची क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो पार्क नयाँ हुने भएकाले नगरपालिकाले पार्कबाट आम्दानीको सम्भावनासमेत देखेको थियो ।
रंगशाला, रेस्टुराँ, स्वीमिङ पुल आदि हुने भएकाले यो पार्कबाट आम्दानी हुने र नगरबासीले समेत रोगजारी पाउने कल्पना गरेको नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए । “राजधानीबाट टाढा नभएका कारण पार्कले सिन्धुपाल्चोकमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने अपेक्षा थियो,” मेयर अर्यालले भने, “पार्कमा स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्ने गरी बगैंचा निर्माण, बालबालिकाका लागि चिल्डेर्न पार्क, पिकनिक स्पट, शिवको मन्दिरसमेत रहने गरी गुरुयोजना बनाइएको थियो ।” पार्क निर्माणपछि स्थानीयले रोजगारी पाउनुका साथै नगरपालिकाको राजस्वसमेत वृद्धि हुने परिकल्पनाका साथ पार्क निर्माण गरिएको हो । पार्कमा फुटबल ग्राउन्ड, भलिबल, बास्केटबल, स्विमिङ पुलसमेत हुने र अधिकांश भौतिक तथा पूर्वाधार निर्माण सकिएको मेयर अर्यालले जानकारी दिए ।
ग्रिन सिटी पार्क निर्माण सम्पन्न भएपछि नगरपालिकाले निश्चित शुल्कमा प्रवेशाज्ञा दिने योजना बनाएको थियो । अब बाढीले संरचनाको नामोनिसान मेटाएपछि फेरि यस्तै पार्क निर्माण गर्ने योजना नहुन सक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्