चोभारको सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा «

चोभारको सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा

चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।
इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताए । ९० प्रतिशत काम सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए ।


“भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ, प्रशासनिक भवन निर्माण भइसकेको छ” उनले भने, “एप्रिजल सेट चेकजाँच गर्न तीन वटा संरचना तयार भइसकेका छन् ।”
काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधै काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए ।
“बाहिरी देशबाट आउने सामानहरु जो काठमाडौंको गन्तव्य हुन्छ, उहाँहरुले म वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिन सिधै काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि सम्भव हुन्छ ।”
वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उनले बताए । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उनले जानकारी दिए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्