राजनीतिसँगै व्यावसायिक कालिज पालनमा पन्त «

राजनीतिसँगै व्यावसायिक कालिज पालनमा पन्त

काठमाडौ-दिलु पन्त नेकपाकी केन्द्रीय सदस्य हुन् भने नरेश शाही नेकपा निकट युवा संघका महासचिव हुन् । त्यसैगरी सुशील भट्टराई, बाबुराम श्रेष्ठ, ज्ञानेन्द्र तिमल्सिना र दिपक दुवाडी संघका केन्द्रीय सदस्य हुन् । उनीहरू प्रायः राजनीति गतिविधिमै सक्रिय हुन्छन् तर आजभोलि उनीहरूको दिनचर्या फेरिएको छ । राजनीतिसँगै यो समूहले उपत्यकाभित्र व्यावसायिक रूपमा कालिज पालन र कालिज रेष्टुराँको व्यवसाय पनि सुरु गरेका छन् ।
भट्टराई अध्यक्ष र श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएर दर्ता गरेको एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि काठमाडौंको दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा कालिजको व्यावसायिक पालन सुरु गरेको छ भने बागबजारमा कालिज रेष्टुराँ सञ्चालनमा ल्याएको छ । “राजनीति गर्ने व्यक्तिले आफ्नो जीवनयापनका लागि व्यवसाय पनि गर्नुपर्छ भनेर कालिज पालन र रेष्टुराँ सुरु गरेका हौं,” महासचिव शाहीले भने, “राजनीतिसँगै अहिले व्यवसायमा पनि सक्रिय भएका छौं, व्यवसायलाई प्रदेशमा समेत विस्तार गर्ने योजना बनाएका छौं ।”
२०६८ सालमा इटाली पुगेका शाहीे फर्कने बेलामा बिहान ९ बजेको प्लेन उडान समय बेलुका ४ बजे सरेपछि सोही क्रममा रेती भन्ने ठाउँमा कालिजको फार्म हेर्न गएका थिए । त्यो फर्म हेरेपछि नेपालमा पनि उनलाई कालिज व्यवसाय गर्ने इच्छा जाग्यो र एउटा समूह मिलेर त्यसलाई अघि बढाए । वन ऐनमा पालन गर्न मिल्ने तर बेच्न नमिल्ने थियो, त्यो वन ऐन संशोधन भएर कालिजको मासु बेच्न मिल्ने बन्यो । कम्पनी दर्ता भए पनि ‘रिङ नेक’ जातको कालिज साइटीसमा सूचीकृत नभएको सिफारिससँगै उनीहरूले कृषि मन्त्रालयसँग कालिज पालनका लागि स्वीकृत लिए । “फ्रान्सबाट ल्याएका १० हजार २७५ अण्डामध्ये ह्याचारीका माध्यमबाट करिब चार हजार चार सय बच्चा उप्पादन भए ।” अध्यक्ष भट्टराई भन्छन्, “चाल्नाखेलमा ११ रोपनी क्षेत्रफलमा पूर्वाधार बनाएर पालिएका कालिजको मासु बिक्री गर्न थालेका छौं, बागबजारमा हालै कालिज रेष्टुराँसमेत सञ्चालनमा ल्याएका छांै ।” उनका अनुसार, हाल दैनिक २० वटासम्म कालिज बिक्री भइरहेको छ । एउटा कालिजको मूल्य फार्ममा ३ हजार र बागबजारमा ३ हजार ५ सय पर्छ ।
डेढ करोड लगानीमा सुरु गरेको फार्ममा कालिज हेर्न आउनेको भीड छ । कालिजको मासु खाएमा सुत्केरी महिलालाई बढी शक्ति दिने तथा युरिक एसिडलगायतका बिरामीको रोग निको हुने विश्वास गरिन्छ । माइनस १६ देखि ३० डिग्रीको तापक्रमसम्म कालिज बाँच्ने फार्म इन्चार्ज धीरेन्द्र शाही बताउँछन् । “सुरुमा बचाउन मुस्किल परे पनि ठूला हुँदै गएपछि सहज भएको छ, दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउनुपर्छ ।”
पहिला कुखुराकै ह्याचरी प्रयोग गरेका कारण सुरुमा ९ हजार बच्चा हुन देखिए पनि आधामात्र बच्चा जन्मेपछि उनीहरूले कालिजका लागि ह्याचरी ल्याउने लागेका छन् भने आगामी जेठसम्ममा दाना उद्योगसमेत सञ्चालन गर्ने योजना बनाएका छन् । शाही आगामी जेठसम्ममा हाल भएका पोथी कालिजबाट ४० हजार बराबर कालिज उत्पादन हुने तथा त्यसका लागि प्रतिदिन २४ क्विन्टल दाना आवश्यक पर्ने हुनाले त्यसलाई लक्षित गरी दाना उद्योग सञ्चालन गर्न लागेको बताउँछन् ।
समूहले काठमाडौंमा ५÷६ वटा कालिज रेष्टुराँका साथै ६ प्रदेशमा कालिज फार्म र रेष्टुराँ सञ्चालन गर्ने योजना बनाएको छ । हालसम्म पोखरा, पाल्पा, इलाम, अर्घाखाँची लगायतमा फार्म र रेष्टुराँ सञ्चालन गर्ने तय भइसकेको छ भने अन्य क्षेत्रमा स्थानको खोजी हुँदैछ । कम्पनीले ५० प्रतिशत तथा स्थानीयको ५० प्रतिशत सेयरमा कालिज फार्म र रेष्टुराँ गर्ने योजना बनाएको शाहीले बताए । बागबजारको कालिज रेष्टुराँले भने कालिज खानाका साथै सुप, भुटन, तास, पांग्रा, कलेजो, आन्द्रालगायतका विभिन्न परिकार बनाएर सेवा दिइरहेको छ ।
हालसम्म बिमाको सुविधा नभएकाले समस्या भोगिरहेका उनीहरूले बीमा समितिले बल्ल कृषि मन्त्रालयलाई यसबारे पत्र लेखेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्