जनप्रतिनिधिको विवादले कर्णालीका २४ स्थानीय तहको बजेट अलपत्र «

जनप्रतिनिधिको विवादले कर्णालीका २४ स्थानीय तहको बजेट अलपत्र

स्थानीय तहले असार १० गतेभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि कर्णालीका २४ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् ।
योजना तथा बजेटको भागवण्डादेखि स्थानीय तहका प्रमुखले आफूखसी बजेट विनियोजना गर्न खोज्दा कर्णालीका २४ स्थानीय तहले अझै आगामी नीति कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् ।
यसैबीच जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । विगतमा असार १० गते नै बजेट ल्याइरहेका तातोपानी र चन्दनाथले प्राविधिक समस्या भन्दै अझै बजेट ल्याउन नसकेका हुन् ।
यद्दपी, योजना बाँडफाँट तथा बजेट विनियोजनका विषयमा आन्तरिक विवाद भएकाले बजेट आउन नसकेको बुझिएको छ । बजेट विनियोजनका बारेमा तातोपानीका जनप्रतिनिधिबीच कुराकानी नमिलेको र जनपक्षिय खालको बजेट आउनुपर्छ भन्ने आफ्नो माग रहेको तातोपानी गाउँपालिका ६ नम्बर वडाध्यक्ष विशाल खड्काले बताए ।
त्यस्तै चन्दननाथ नगरपालिकाले केही दिनपछि मात्रै बजेट ल्याउने बताएपनि मेयर र उपमेयर बीचको आन्तरिक विवादले बजेट ल्याउन ढिलाई भएको छ । तर मेयर कान्तिका सेजुवालले नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट ल्याउने निर्णय भएअनुसार बजेट केही दिनमा आउने बताइन् ।
डोल्पाको मुड्केचुलामा पनि अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष सविताकुमारी रोकायाबीच पनि चर्को विवाद भएकै कारण बजेट आउन सकेको छैन ।
उता मुगुको सोरु गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षबीच मतभेद भएकाले गर्दा आगामी बजेट ल्याउन नसकेको पाइएको छ । अध्यक्ष लोकबहादुर शाही र उपाध्यक्ष राज्यलक्ष्मी मल्लबीच योजना छनोट र बजेट विनियोजनमा सुरुदेखि नै विवाद हुँदा नीति तथा कार्यक्रम र बजेट तयार पार्ने समयमा उपाध्यक्ष र अध्यक्ष जिल्ला बाहिर रहेको गाउँपालिकाले जनाएको छ ।
तोकिएको समयमा बजेट नल्याउने चन्दननाथ, तातोपानी, मुड्केचुला, सोरु गाउँपालिका मात्रै नभइ कर्णालीका २४ वटा स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन् ।
जसमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, मुगुको सोरु गाउँपालिका, कालीकोटको महावै गाउँपालिका र रास्कोट नगरपालिका, हुम्लाको सर्केगाड, चंखेली र नाम्खा गाउँपालिकालगायतका २४ स्थानीय तह रहेका छन् । अधिकांश जनप्रतिनिधिले आगामी चुनावीलाई केन्द्रमा राखी बजेट ल्याउन खोज्दा पनि विवाद भएको पाइएको छ ।

जुम्लाका ६ पालिकाको बजेट साढे दुई अर्ब
जुम्लाका ६ वटा स्थानीय तहले आगामी आवको बजेट ल्याएका छन् । आइतरबारसम्म जुम्लाका ६ स्थानीय तहले बजेट ल्याएका हुन् । जुम्लाका चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबाहेक अन्य पालिकाले आगामी आवको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । कृषि स्वास्थ्य, रोजगार तथा पर्यटनलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
तिला गाउँपालिकाले ४५ करोड,३१ लाख ६२ हजार, गुठिचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार, पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख बजेट विनियोजन गरेका छन् ।
त्यस्तै कनकासुन्दरी गाउँपालिकाले ४३ करोड र सिंजा गाउँपालिकाले ३३ करोड १२ लाख बजेट आगामी आव २०७८÷०८९ का लागि छुटाइएको छ । पाँच स्थानीय तहले गरी १ अर्ब ९४ करोड ८२ लाख ४ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरिएको छ ।
यस्तै हिमा गाउँपालिकाले भने, ३७ करोड १८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । जसमा पुँजीगततर्फ ९ करोड र बाँकी २८ करोड चालुतर्फ विनियोजन गरिएको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।
जुम्लाका ६ स्थानीय तहले करिब २ अर्ब ३२ करोड १ लाख ३२ हजार बराबरको बजेट सार्वजानिक गरेका छन् ।
शिक्षा, स्वास्थ्य, हिलोमुक्त वडादेखि रोजगारी सिर्जनाको नीतिलाई प्रथामिकता दिएर बजेट ल्याएको हिमा गाउँपालिकाले विनियोजित बजेटलाई आवश्यकता अनुसार ब्रेकडाउन गर्न बाँकी रहेको हिमाका अध्यक्ष रजबहादुर शाहीले बताए ।
उता पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले कुन शिर्षकमा कति बजेट छुटाउने प्रथामिकताका क्षेत्रमा बजेट घटाउने बढाउने विषयमा नियममित छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्