सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण «

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण


सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७६/०७७ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरेको रकमको ८ प्रतिशत प्रतिफल प्राप्त गरेका छन् ।
सो अवधिमा सूचीकृत योगदानकर्ता कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल बराबरको रकम प्राप्त गरेका हुन । सो योजनाअन्तर्गत तीन करोड ८० लाख १५ रुपैयाँ बराबरको वितरण योग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा जम्मा गरिने जनाइएको छ ।


सरकारले आगामी बजेट वक्तव्यमार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरिदिने निर्णयसमेत गरेको कोषले जनाएको छ । कोषले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सामाजिक सुरक्षा योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै योगदानकर्ताको अधिकतम फाइदा हुने गरी नयाँ कार्यक्रम ल्याउने तयारी रहेको जनाएको छ ।


कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षासहित चाँडै कोषमा आबद्ध भई कोषले प्रदान गर्ने सुविधा उपयोग गर्न अनुरोधसमेत गरेको छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनका लागि २०७५ कात्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरी २०७६ साउनबाट निरन्तर योगदान रकम संकलन गरिरहेको छ ।


हालसम्म कोषमा जम्मा १४ हजार ५८० रोजगारदाता, २ लाख ५१ हजार २९२ योगदानकर्ता, ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ । कोषले सञ्चालन गर्ने औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई तीन करोड ९१ लाख वितरण गरेको जनाएको छ । यसैगरी दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख तीन हजार र वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी गरिसकेको छ ।
गत माघमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भए पश्चात योजनाप्रति रोजगारदाता तथा श्रमिकमा थप उत्सुकता रहेको कोषले दाबी गरेको छ । कार्यविधिको दोस्रो संशोधनपछि मात्रै कोषमा एक हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र दुई अर्ब २१ करोड १२ लाखभन्दा बढी रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्