बुधबारदेखि कास्कीमा सार्वजनिक सवारी साधन जोर–बिजोरमा सञ्चालन गर्न पाउने «

बुधबारदेखि कास्कीमा सार्वजनिक सवारी साधन जोर–बिजोरमा सञ्चालन गर्न पाउने


नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि कास्कीमा पनि निषेधाज्ञा भएको दुई महिनापछि यही असार १६ गतेदेखि धेरै सहज हुने भएको छ । सोमबार जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) को पोखरामा बसेको बैठकले असार १५ गते मध्यराति १२ बजेदेखि निषेधाज्ञा धेरै सहज बनाउने निर्णय गरेको हो ।


यही असार १५ गते मध्यराति १२ बजेदेखि असार २५ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा केही सहज बनाउने गरी निर्णयहरू भएको जिल्ला प्रशासन कर्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
असार १६ गतेदेखि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खाद्यन्न, फलफूल तरकारीलगायतका दैनिक उपभोग्य वस्तुका पसलहरू सञ्चालन हुन पाउने भएका छन । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै जोर बिजोर प्रणालीअनुसार संचालन हुने भएको सहायक प्रजिअ पौडेलले जनाए । निजी सवारी साधन जिप, कार, भ्यान र सार्वजनिक सवारी साधन ट्याक्सिमा अधिकतम चालकसहित ४ भन्दा बढी राख्न नपाउने आदेश जारी गरे गरेको छ । जनताको दैनिक सेवा प्रवाह हुने सरकारी तथा संघ–संस्थाका कार्यालयहरूले कार्यालयको प्रकृति, अवस्था हेरी कार्यालय प्रमुखले आफैं व्यवस्थापन गर्न र बैंक तथा विक्तिय क्षेत्रमा समेत सिमित कर्मचारीको आधारमा सेवा प्रवाह गराउनु प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कास्की जिल्लाको हकमा मात्र जोर बिजोर प्रणालीमा सवारी साधनहरू सञ्चालन हुने भएको छ । लामो दूरीका सवारी साधनहरू भने अझै सञ्चालन हुन सक्ने अबस्था भएको छैन ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुराँ, चिया तथा खाजा पसल,फनपार्क, डान्स, वार, दोहोरी साँझ, रंगशाला, फुटसल, स्पाः, सुइमिङपुल, ब्युटिपालर, फुटपात पसलहरू सञ्चालन नगर्न प्रशासनले आदेश जारी गरेको छ । विद्यालय तथा क्याम्पसहरूमा पठन पाठन र परिक्षा सञ्चालन नगर्न र सम्भव भएमा अनलाइन कक्षा सञ्चालनका लागि मात्र प्रशासनले अनुमति दिएको छ । विवाह प्रतबन्धलगायतका अन्य सस्कारजन्य कार्य गर्दा बढीमा १५ जना अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
मठ, मन्दिर मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थल, नित्य पूजा गर्ने मठ मन्दिर, पूजा ध्यान केन्द्र र प्रार्थना, प्रशिक्षण केन्द्रहरू सञ्चालन नगर्न कास्की प्रशासनले आदेश जारी गरेको छ । स्वास्थ्य , सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा बिक्री वितरणलगायतका अत्यावसेक सेवा तथा कार्य गर्ने बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरू प्रवाह नगर्ने प्रशासनबाट आदेश जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।
प्रशासनले जारी गरेको निर्देशनलाई पालना नगरे स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानुनबमोजिम कारबाही गरीने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले चेतावनी दिएका छन् । वैशाख १५ गते विहान ६ः०० बजेदेखि कास्कीमा निषेधाज्ञा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्