प्राचीन युगमा कृषि उत्पादन र प्रविधि «

प्राचीन युगमा कृषि उत्पादन र प्रविधि

संस्कृत वाङ्मयमा प्राचीन भारतीय ग्रन्थहरू धेरै छन् । त्यसमा श्रुति, स्मृति, सूत्र, इतिहास, पुराण, आयुर्वेद एवं कृषि अतिप्रसिद्ध विषय छन् । उपर्युक्त ग्रन्थहरूमा उल्लिखित संस्कृत वाङ्मयमा कृषि विज्ञानको महत्वपूर्ण स्थान छ ।
सृष्टिको आदिम कालदेखि नै प्राणीहरू (मानव) ले जीवनयापनका लागि कन्दमूल फलाहारद्वारा भरणपोषण गर्दै कालान्तरमा क्रमशः कृषि विज्ञानको कार्य प्रारम्भ भयो ।
जस्तै श्रीमद्भागवत् महापुराणको चतुर्थ स्कन्धको अध्याय १८ मा वेन पुत्र पृथुद्वारा पृथ्वीको दोहन कर्म मतलब कृषिकार्य प्रारम्भको उल्लेख पाइन्छ ।
अन्नमीप्सितमूर्जस्वद्भगवान् वाञ्छते यदि ।
समां च करु मां राजन्देववृष्टं यथा पयः ।।
अपर्तावपि भद्रं ते उपावर्तेत मे विभो ।
इति प्रियं हितं वाक्यंं भुव आदाय भूपतिः ।
वत्सं कृत्वा मनुं पाणावदुहत्सकलौषधीः ।।
पूर्वकालमा ब्रह्माजीले उत्पन्न गरेको ब्रीहि यवादि अन्नहरू दुराचारीले खाएको हुँदा यज्ञका लागि केही बीज सुरक्षित राखेको कुरा धराले पृथुलाई भनिन् । अब बल बुद्धि वृद्धि गर्ने अन्न दिनेछु तर योग्य बाच्छो दोहन पात्र दुहुने व्यवस्था गर्नुहोस् ।
राजन ! एक मुख्य कुरा बाँकी छ मलाई समतल बनाउनुु, किनभने वर्षाको पानी मभित्र नसुकोस् । यसरी पृथ्वीको कुरा स्वीकार गरेर स्वयम्भूव मनुलाई बाच्छो बनाई आफ्नै हातले सम्पूर्ण धान्यादि उत्पादन गरे अर्थात् दोहन कर्म गरे । अरू कृषि, व्यापार, गोपालन, पशुपालन इत्यादि उल्लेख भागवत् दशम स्कन्ध पूर्वाद्र्ध २४ अध्यायमा इन्द्रमखभङ्गको प्रसंगमा भगवान् श्री कृष्णले नन्दाबाबालाई भन्नुभयो कि— इन्द्रको पूजा गर्नु पर्दैन, गाई सज्जन मान्छे र गिरिराजको पूजा गर्नुपर्छ, किनभने खेतीपाती, फलफूल, वृक्ष, अन्नपानी माटोमा नै हुन्छन् । यसकारण कृषि कर्म गर्नुपर्छ । ‘कर्मैव गुरुरीश्वरः’ भनेर कर्मवादको स्थापना गर्नुभएको देखिन्छ ।
वैश्यको वार्ता चार प्रकार— कृषि, वाणिज्य, गोरक्षा, ब्याज लिनु तर हामीले सधैं गोपालन गर्छाैं भनी फेरि पुष्टि गर्नुभएको छ । ‘कृषिवाणिज्यगोरक्षा कुसीदं तुर्यमुच्यते ।’ (भागवत् १०–२४–२१)
कृष्णजीले माटो खानु, बलरामजीले हलोले सम्याउनु, यमुनाकर्षण गर्नु कृषि कार्यका लागि यस्ता बलिया साधन थिए भन्ने बुझिन्छ । कृष्णजीले पूतनाको विषस्तनपान गर्नु र माटो खानु औषधोपचार पो हो कि ? किंबा यो उर्वराभूमिको संकेत हो कि ? बाल स्वभाव हो कि ? विचारणीय छ ।
यस्तै श्री विष्णु पुराणको प्रथमांश अध्याय ४–६ मा पनि बराह भगवान्द्वारा पातालस्थित पृथ्वीलाई उद्धार गरी पृथ्वी विभाजन र अन्नादि उत्पादन गरेको उल्लेख पाइन्छ । ‘परमात्मामहिधरः क्षितिंं महांभसि न्यस्तवान् ।’ अन्नादि—
‘व्रीहयश्च यवाश्चैव गोधूमाश्चाणवस्तिलाः ।
प्रियङ्गवो ह्युदाराश्च कोरदूषाः सतीनकाः ।।
माषा मुद्गा मसूराश्च निष्पावाः सकुलत्थकाः ।
आढक्यश्चणकाश्चैव शणाः सप्तदश स्मृताः ।।’ (वि.पु. १–६–२१–२२)
अग्निमहापुराणको २४७ अध्यायमा गृह निर्माणमा उचित भूमि, ६४ वास्तु मण्डल र वृक्षारोपणको उल्लेख पाइन्छ ।
ब्रह्म वैवर्त महापुराण प्रकृति खण्ड अध्याय ८–९ मा पनि पृथ्वी उत्पत्ति उपाख्यान, भूमिदान फलकोे वार्ता नारदको प्रश्नको उत्तर दिँदै श्री नारायणले भन्नुभयो, जस्तै—
महाविराट्शरीरस्य जलस्थस्य चिरं स्फुटम् ।
मलो बभूव कालेन सर्वाङ्गव्यापको ध्रुवम् ।।
प्रत्येकं प्रतिलोम्नां च स्थिता कूपेषु सा स्थिरा ।
आविर्भूता तिरोभूता सा चला च पुनः पुनः ।। (ब्रह्मवैवर्तमहापुराण प्र.ख.अ ८–१२–१४)
यसरी भूमिको उत्पत्ति र भूमिमा कृषि कर्मका साथै भूकम्पको पनि उल्लेख पाइन्छ । कर्म पुराणमा पनि नौ प्रकारको सृष्टिमा पृथ्वी विभाजन र प्रत्येक पटकमा सृष्टि हुँदा पनि पृथ्वी विभाजन र कृषि कार्य भएको देखिन्छ ।
मत्स्य महापुराणको ११३ अध्यायमा भूगोलको विस्तृत वर्णनको विशेष उल्लेख पाइन्छ । (मत्स्य महापुराण अः१२९– त्रिपुर निर्माण विधि २५६ः गृह निर्माण विधि ५७ः ग्राह्य काष्ठ विधि ।)
आदि महापुराण र अग्नि महापुराणको अध्याय १८२ मा वृक्षायुर्वेद विषयमा वृक्षा विज्ञानका बारे श्री धन्वन्तरीले सुश्रूतलाई पूरै अध्यायमा भन्दै छन् । भवन निर्माणपश्चात् उत्तरमा पाकरी शुभ हुन्छ, पूर्वमा वर, दक्षिण दिशामा आँप, पश्चिममा पीपल वृक्ष शुभ हुन्छ । घरको नजिक दक्षिण दिशामा उत्पन्न काडाकोे वृक्ष शुभ हुन्छ । घरवरिपरि बगैंचा लगाउनु अथवा चारैतिर फुलेका तिलले सुशोभित गराउनु जान्ने मान्छे र चन्द्रमाको पूजा गरेर वृक्षहरू लगाउनु वृक्षारोपणका लागि नक्षत्रहरू ३ उत्तरा, स्वाती, हस्ता, रोहिणी, श्रवण र मूल यी सबै नक्षत्रहरू ग्राह्य छन् । उद्यानमा तलाउ निर्माण गरेर बनाउने साथै नदीतिर बग्ने गराउनु । जलाशय आरम्भका लागि हस्ता, मघा, अनुराधा, पुष्य, ज्येष्ठा, शताभिषा र तीन उत्तरा उचित छन् । वरुण, विष्णु तथा इन्द्रको पूजा गरेर प्रारम्भ गर्नु । नीम अशोक श्वेतरक्त पुन्नाग (चिलाउने) शिरीष, प्रियङ्गु, केरा, जामुन, मौलश्री र अनारको वृक्ष रोप्नुु । ग्रीष्म ऋतुमा बिहान–बेलुका दुवै समय शीतकालमा दिनमा वर्षाकालमा माटो सुकेपछि रातिमा रोपेको बिरुवालाई जलले सेचन गर्नुपर्छ । वृक्षारोपण गर्दा ध्यान दिनुपर्ने कुराहरू : वृक्षको मध्यमा २० हातको अन्तर उत्तम १६ हातको मध्यम र १२ हातको अधम तसर्थ, १२ हातको अन्तर वृक्षको स्थानान्तरित गर्नुपर्नेछ ।
बाक्ला वृक्ष फलहीन हुन्छन् । तिनीहरूलाई छाँटकाँट गरेर सफा बनाउनुपर्छ । विडङ्ग घृत पङ्क मिश्रित शीतल जलले सेचन गर्नुपर्छ । वृक्षको फल नाश भयो भने, गहत, मास, मुग, जौ, तील र घ्यू मिसिएको शीतल जलद्वारा यदि सिँचाइ ग¥यो भने वृक्षहरूमा सधैं फलफूलको वृद्धि हुन्छ । भेडाबाख्राको बिर्काैलाको चूर्ण, जौको चूर्ण, तील र जल जम्मा गरेर सात दिनसम्म एक ठाउँमा राख्नु त्यसपछि सिँचन गर्नाले वृक्षको फलफूललाई बढाउँछ । माछा बस्ने जलले सिँचाइ गरेमा रूखहरू बढ्छन्, उन्नत हुन्छन् । साथै माछा पानीले सेचन गरेमा सबै वृक्षका रोगहरू निवारण हुन्छन् ।

वृक्षारोपण गर्ने क्रम :
उत्तमं विंशति हस्ता मध्यमं षोडशान्तरम् । स्थानात् स्थानान्तरणंं कार्यं वृक्षाणां द्वादशावरम् ।
विफलाःस्युर्घना वृक्षाःः शस्त्रेणादौहि शोधनम् । कृषि गोरक्षवाणिज्यं वैश्यस्य परिकीर्तितम् (अग्नि पुराण ः १५१ –९ र १८२–९ अध्याय)
सृष्टिभन्दा पहिले पृथुले धनुषको अग्रभागले हजारौं पर्वतलाई चलायमान गराए, सम्याए, जनता समतल भूमिमा बास गर्न लागे, जीवनयापनका लागि कन्दमूल फलाहर गर्थे । त्यो समयमा कृषि व्यापार गोरक्षा अन्न थिएन भनिएको छ ः ‘न शस्यानि न गोरक्षमं न कृषिर्न वणिक्पथ ।’ (ब्रह्म पुराण ४ –९२)
अन्नाद् भूतानि जायन्ते जीवन्तिच न संशयः ।
अन्नदानात् परंदानात् न भूतं न भविष्यति पुण्य यशस्यमायुष्यं बलपुष्टि विवर्धनम् ।।
राजा जनकले यज्ञार्थ हलो चलाउँदा श्री सीताजीकोे उत्पत्ति भन्नाले श्री बलभद्रको हलो र श्री जनक राजाको हलो खेती किसानका लागि उत्तम साधन थिए र अहिले पनि छ भन्ने बुझिन्छ ।
श्रीरामले भरतलाई राजनीति उपदेश दिने क्रममा कृषिकर्मको चर्चा गरेको उल्लेख पाइन्छ । जस्तै— ‘कचित्ते दयिताःसर्वे कृषि गोरक्ष जीविनः । वार्तायां संश्रितस्तात लोकोयं सुखमेधते ।।’
महाभारत अनुशासन पर्व, दानधर्म पर्वअन्तर्गत १४९ अध्याय श्लोक ११८ मा अन्नको चर्चा गरिएको छ ।
‘यज्ञान्तकृत यज्ञगुह्यमन्नमन्नाद एवच ।’ (महाभारत –१३–११८–१४९)
श्री महाभारत सभा पर्वको पञ्चमं अध्यायमा युधिष्ठिरको सभामा नारदजी आई उनलाई प्रश्नको रूपमा शिक्षा दिने क्रममा के तपाईंको राष्ट्रमा किसान सन्तुष्ट छन् ? (‘राष्ट्रे क्वचित् तुष्टा कृषि वलाः’ २–५–७७)
के तपाईंको राज्यमा सबै भागमा पानीले भरिएका ठूलाठूला तलाउ बनाएको छ ? केवल वर्षाको पानीले मात्र त खेती हुँदैन ?
‘क्वोचित् राष्ट्रे तडागानि पूर्णानिच बृहन्तिच । भागशो विनिविष्टानि न कृषिर्देवमातृका ।” (म.भा.–२–५–७८)
तपाईंको राज्यमा किसानको अन्न या बीज त नष्ट भएको छैन ?
‘क्वचिन् नभक्त्म् वीजंच कर्षकस्यावसीदति ।’ (म.भा. २–५–८९)
महाभारत भीष्म पर्वको गीता पर्वअन्तर्गत अध्याय २५ देखि ४२ सम्म श्रीमद्भागवत् गीता १८ अध्याय विराजमान छ ।
(‘अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्न संभवः । यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसकुद्भवः ।।’ गीता ३–१४)
अन्न रसमय भएका प्राणीहरूको उत्पत्तिका बारेमा यस पद्यमा चार किसिमको चर्चा गरेको देखिन्छ ।
महाकवि कालिदास प्रणीत रघुवंश महाकाव्यको पञ्चम सर्गको नौ श्लोकमा पनि जीवनको आधार वनको नीवार आदि धान्यको उल्लेख पाइन्छ । जस्तै—
(‘नीवार पाकादि कडङ्गरीयै…..
वन्यंशरीरस्थितिसाधनं वः’ रघुवंश महाकाव्य ५–९)
पूर्वजको परम्पराअनुसार लिच्छविकालमा पनि देश धनधान्यले परिपूर्ण थियो । कृषक वर्ग मकै, धान, कोदो उत्पादन गरेर आफ्नो जीवनयापन गर्थे । जंगली जडीबुटी, काठपात पनि प्रशस्तै थियो । शीतकोे निवारणका लागि राडी, पाखी बुन्थे । उत्पादन भएका अन्न सुरक्षित राख्न भकारी, चित्रा बुन्थे । कीरा–फट्यांग्रा मूसा सलहका लागि गोमूूूत्र बेसार मिलाई सिँचाइ गर्थे । कृषि उपयोगी साधनहरू— हलो, कोदालो, कुटो, हसुवा, खुर्पा, करौंते, खन्ती, कोराहा इत्यादि ।
मल बीउ सिँचाइका निम्ति कूलो छेकबारबाट पशु पन्छीबाट हुने क्षति निवारण गरिन्थ्यो ।
कृषक सुरक्षा साधनहरू—
ढाल, भाला, तरबार, खुँडा, खुकुरी इत्यादिको प्रयोग गरिन्थ्यो ।
पूर्वीय संस्कृत वाङ्मयकोे फाँटमा भगवान् किंवा महापुरुषले चलाएका दिव्य शस्त्रास्त्रहरू नै कृषिका पनि साधन हुन्थे । जस्तै— भगवान् श्रीरामको धनुषवाण, बलराम र राजा जनकको हलो, श्रीकृष्णको सुदर्शन चक्र र परशुरामको वञ्चरो इत्यादि ।
उहाँहरूले जे पनि गर्न सक्नुहुन्थ्यो । त्यसैको केही आज पनि अवशेषहरू छन् । तर, आज आधुनिक प्रविधिबाट नयाँ नयाँ औजार कृषिकार्यका लागि उत्पादन भएका छन् । जस्तै— ट्याक्टर, मोटरपम्प, कीटनाशक औषधी, बेमौसमी बीउ बीजन इत्यादि ।
राष्ट्र संघले पनि इ.संं १९७७ लाई कृषि वर्ष मानेको छ । अब जलस्रोतले सम्पन्न हाम्रो देश नेपालमा पनि हामी नेपालीले विदेशिएका युवालाई स्वदेशमा नै आधुनिक कृषि उपकरणको प्रयोग गरी कृषि उत्पादनलाई बढावा दिन गोपालन, पशुपन्छी पालन, अन्नदाना उत्पादन गरी ग्रामीण विकास र समग्रमा सिंगो मुलुकलाई नै कृषिजन्य उत्पादनमा आत्मनिर्भर र राष्ट्रलाई समृद्ध बनाउँदै नेपाल आमाको शिर उच्च राख्न जनतालाई उत्प्रेरित र आकर्षित गर्ने कार्ययोजना ल्याउनेतर्फ सरकारी स्तरबाट सोच्नु अति आवश्यक परेको छ । अतः संस्कृत वाङ्मयमा कृषि विज्ञानको महत्वपूर्ण स्थान रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्