नासोङ गाउँपालिकाको सेवाप्रवाह बेसीसहरबाट «

नासोङ गाउँपालिकाको सेवाप्रवाह बेसीसहरबाट


मनसुनको सुरुवातसँगै प्राकृतिक विपत्तिमा परेको मनाङको नासोङ गाउँपालिकाले लमजुङको बेसीसहर नगरपालिकाबाट सेवाप्रवाह सुरु गरेको छ । अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीले गाउँपालिकाको प्रशासकीय भवन बगाएपछि नासोङ गाउँपालिकाले बेसीसहर–८, शेराफाँटमा सम्पर्क कार्यालय स्थापना गरी सेवाप्रवाह सुरु गरेको हो ।


शेराफाँटमा सम्पर्क कार्यालय तथा आपतकालीन सेवा केन्द्र स्थापना गरी सेवाप्रवाह सुरु गरेको गाउँपालिका वरिष्ठ अधिकृत गोविन्द रानाभाटले बताए । निरन्तर वर्षा र बाढीका कारण जिल्लामै रहेर सेवाप्रवाह गर्ने वातावतरण नभएकाले तत्काल सेवाप्रवाहको निम्ती अस्थायी कार्यालय स्थापना गरिएको रानाभाटले बताए ।


हाल आर्थिक वर्षको अन्तिम समय भएकोले चालू आर्थिक वर्षका योजना फस्र्योट जस्ता महत्वपुर्ण काम सम्पर्क कार्यालयबाट सम्पादन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा चालू आर्थिक वर्षमा सञ्चालनमा रहेका योजनामा सम्बन्धित वडाबाट आएका सिफारिसका आधारमा फस्र्योट गरिँदै आएको रानाभाटले बताए । योजना अनुगमनका सन्दर्भमा भने सम्बन्धित वडाका जनप्रतिनिधि र प्राविधिकहरू गाउँपालिकामै रहेको अधिकृत रानाभाटको भनाइ छ । सिफारिसका आधारमा उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधिले बेसीसहरमा आई योजना फरफारक गरेर सेवा लिने गरेका छन् ।


विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै प्रभावित नासोङ गाउँपालिका असार १ गते आएको बाढीका कारण थप प्रभावित भएको हो । बाढीले सोही गाउँपालिकाअन्तर्गत वडा नम्बर १ को तालगाउँका अधिक घरहरू डुबानमा परेका छन् । तालगाउँसहित सिरानताल, धारापानी, थोँचे, तिल्चे, ताचैलगायतका गाउँमा पनि बाढी र पहिरोको प्रभाव परेको छ ।
मनाङ पुग्ने एक मात्रै सडकमार्गमा पनि बाढीपहिरोले क्षति पु¥याउँदा हाल हेलिकप्टरमार्फत राहत सामग्री पु¥याउने काम भइरहेको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा बाढी र पहिरोमा फसेकाको उद्धार सम्पन्न गरी हाल राहत वितरणको कामलाई तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।


यसैबीच नासोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ५६ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । विपदको समयमा पनि संवैधानिक प्रावधानअनुसार गाउँसभाको आयोजना गरी आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १७ करोड ५६ हजार र पुँजीगततर्फ नौ करोड रुपैयाँ विनियोजन गरेको हो । एकमुष्ट अनुमानित बजेटका विषयमा थप छलफल जारी रहेको र असारको अन्तिम सातासम्म पूर्णता दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्