Logo

सिद्धार्थनगरको बुद्ध र देवकोटा चोकमा ट्राफिक लाइट जडान गरिने

सिद्धार्थनगर नगरपालिका (भैरहवा)को दुई मुख्य चोकमा ट्राफिक लाइट राखिने भएको छ । ट्राफिक लाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् ।


बिहीबार सिद्धार्थनगर नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुख काफ्लेले बजेट प्रस्तुत गर्दै सवारी चापलाई मध्यनजर गर्दै नगरको मुख्य चोक बुद्धचोक र देवकोटा चोक गरी दुई स्थानमा ट्राफिक लाइट जडानका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको बताइन् ।
नगरमा यातायातको चाप बढ्दै गयो, बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग बुद्धचोक, देवकोटा चोक पनि अति व्यस्त देखियो त्यसैले ती दुई स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट जडान गर्ने योजना बनाई बजेटमै राखिएको उपप्रमुख काफ्लेले जनाइन् ।

दुवै स्थान अतिव्यस्त क्षेत्र हुन् । नेपाल भारतको सबैभन्दा ठूलो स्थलमार्गसमेत भएकाले भारतबाट समेत धेरै सवारी साधन आउने भएकाले सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थनगर (भैरहवा) का देवकोटा चोक, बुद्ध चोक अतिव्यस्त चोक छन् । सवारी चाप अति बढी र सवारी गति पनि अधिक हुने गरेकाले त्यस क्षेत्रमा सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागी ट्राफिक लाइट जडान गर्नुपर्ने माग पहिलादेखि नै आएको थियो ।


यसअघि यसै सडकखण्डअन्तर्गत मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ । सिद्धार्थनगरका दुवै चोकमा ट्राफिक लाइट जडान कार्य बजेट कार्यान्वयन भएपछि हुने भएकाले साउनभित्रै आवश्यक काम सुरु गरी छिटोभन्दा छिटो जडान गरी सञ्चालनमा ल्याइने उपप्रमुख काफ्लेले बताइन् ।
सिद्धार्थनगरको बजेटले ट्राफिक लाइट जडानका लागि मात्रै नभई नगर सौन्दर्यीकरण अन्तर्गत मुख्य मुख्य स्थानमा विशेष प्रकारको सडक बत्ती जडान गर्ने कार्यका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न सडकमा सडक बत्ती व्यवस्थापन गर्न आवश्यक विद्युत् सामग्री खरिदका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख काफ्लेले बताइन् ।
सिद्धार्थनगरले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्