लकडाउनमै तयार भयो दोलखामा तारे होटल «

लकडाउनमै तयार भयो दोलखामा तारे होटल


लकडाउनका कारण धेरै व्यापार व्यवसाय बन्द भए । लामो समयदेखि व्यवसायमा लागेकाहरु पनि लकडाउनपछि के गर्ने भन्ने अन्यौलमा छन् । यसमा पनि लकडाउनले सबैभन्दा बढी असर पारेको क्षेत्र होटल तथा पर्यटन क्षेत्र नै हो ।


पहिलो र दोस्रो लकडाउनले कतिपय पर्यटन क्षेत्रका व्यवसायी पलायन नै हुनुपर्ने अवस्था आएको छ । तर दोलखामा एक व्यवसायीले पहिलो लकडाउनमा सुरु गरेर दोस्रो लकडाउनमा तारे होटल नै तयार पारेका छन् । लकडाउनमा यसलाई अवसरको रुपमा उनले लिएका छन् ।
सदरमुकाम चरिकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आएका व्यवसायी दिनेश बस्नेतले दुई तारे होटल एम्ब्रोसिया तयार गरेका हुन् । यो दोलखाकै पहिलो तारे होटल हो । सबै किसिमले तयार भएको होटल अब पाहुनाको पर्खाइमा मात्र छ ।


धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा परिचित दोलखामा आफ्नै ठाउँमा केही गरौं भनेर नयाँ व्यवसायमा लगानी गरेको होटल सञ्चालक दिनेश बस्नेतले बताए । होटलको भवनबाहेक १३ करोड रुपैयाँ लगानी भएको छ । ७ वटा स्वीट र २७ वटा डिलक्स गरी ३५ वटा कोठामा १ सय जनाको क्षमता छ । सुविधासम्पन्न बैंक्वेटसमेत होटलमा रहनेछ । बैंक्वेटको क्षमता ५ सय जनाको रहेको छ । १ सय जनाको क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँमा समेत गरी १ हजार जनालाई एकै पटक होटलले सेवा दिन सक्नेछ ।
होटलमा बस्नेले रुफटप गार्डेन, रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा पाउने छन् । रुपटपबाट सम्पूणृ चरिकोट बजारलाई काखैमा राखेर गौरीशंकर हिमाल लगायतका रोल्वालिङ हिमश्रृखलाका साथै शैलुङ, चेर्दुङ, हनुमन्ते लगायतका महत्वपूर्ण ठाउँको दृश्यावलोकन गर्न सकिन्छ ।


व्यावसायिक प्रायोजनका लागि बस्नेतले नै बनाएको भवनलाई होटलमा रूपान्तरण गरेका हुन् । चरिकोटको मुख्य चोक सातदोबाटोमा निर्माण गरेको व्यवसायिक भवन दोलखाकै अहिलेसम्मको सबैभन्दा ठूलो भवन हो । ८ तला रहेको भवनको पहिलो तलामा साना व्यवसायिहरुका लागि भाडामा दिएका छन् । दोस्रो तलामा मार्ट सञ्चालनमा रहेको छ भने कफिसपका लागि भाडामा दिएका छन् । तेस्रो तलामा बैंक र कर कार्यालयका लागि भाडामा लगाएका छन् ।


भवनको बाँकी साँढे तीन तला प्रयोग गरेर होटल सञ्चालनमा ल्याएका हुन् । भवनको भँुइ तला भने पार्किङको रुपमा प्रयोग गरेका छन् । अत्याधुनिक सामग्री प्रयोग गरेर होटलको बेड र कोठा भने पाँचतारे स्तरकै बनाइएको उनको दाबी छ । सुरुमा तीन तारे होटल बनाउने सोचका साथ अघि बढे पनि बेड संख्या कम भएकाले दुई तारे मात्र हुने बताइएको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको सञ्चालक बस्नेतको भनाइ छ ।
सो होटलको रेष्टुराँलाई भने सामान्यदेखि भीआईपीहरूलाई समेत लक्षित गरीएको जनाएको छ । आन्तरिक पर्यटकको संख्या बढ्दा दोलखामा सुविधासम्पन्न होटलहरू नभइरहेको बेलामा दुई तारे होटल सञ्चालनमा आउन लागेको हो । धेरै पर्यटकहरू सुविधासम्पन्न होटल नभएकै कारण एकै दिनमा कालिञ्चोक र भीमेश्वर मन्दिरको दर्शन गरेर फर्कने गरेका छन् ।
उनले दोलखामै कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगसमेत सञ्चालन गर्दै आएका छन् । उनलाई दोलखाका सफल व्यवसायी भित्रमा लिने गरिएको छ ।
२०५६ मा सातदोबाटो चोकमा सानो खुद्रा पसलबाट व्यवसाय सुरु गरेका बस्नेतको व्यावसायिक यात्रा अहिलेसम्म उकालो नै छ । उनीसहितको टिमले होटल भएकै भवनमा दोलखाकै पहिलो सुपरमार्केट ‘सुपर नाइन’ सञ्चालन गर्दै आएका छन् भने केही समयअघि मात्र सफल इन्टरप्राइजेज समेत सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्