बजार खुलेपनि बढेन सुनचाँदीको कारोबार «

बजार खुलेपनि बढेन सुनचाँदीको कारोबार


लामो समयको निषेधाज्ञापछि बजार खुल्दा पनि सुनचाँदीको कारोबार बढ्न सकेको छैन ।
सरकारले बार अनुसार गत सातादेखि बजार पसल खुला गरेपनि कारोबार बढ्न भने सकेको छैन । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेकाले आम्दानी नहुँदा कारोबार बढ्न नसकेको हो । बजार खुला भएपनि सुनचाँदीको कारोबार बढ्न नसकेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजार खुलेपनि सुनचाँदीको कारोबार बढ्न नसकेको बताए ।
सामान्य अवस्थामा दैैनिक ४० देखि ४५ केजी सुनको कारोबार हुने गरेकोमा अहिले २० देखि २५ प्रतिशतमा झरेको उनको भनाइ छ । कोभिडको कारणले गर्दा सुनको कारोबारमा ५० प्रतिशतले घटेको महासंघको भनाइ छ ।
“लगनको सिजन भएपनि कोभिडको कारणले कारोबार बढ्न सकेको छैन” उनले भने, “पहिलै अर्डर आएको गहनामात्र बिक्री हुने भएकाले नयाँ अर्डर आएका छैन ।” लगनको सिजन भएपनि कोभिडको कारणले गर्दा मानिससँग आम्दानी नहुँदा बजारमा माग बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
गत सातादेखि बार अनुसार हप्तामा तीन दिन सुनचाँदी पसल खुला हुने गर्छ । अहिले सातामा आइतबार, मंगलबार र बिहीबार मात्र सुनचाँदीको कारोबार हुने गर्छ । सामान्य अवस्थामा लगनको बेला सधै भीडभाड हुने न्युरोडका सुनचाँदी पसलमा फाट्टफुट्ट ग्राहक गएपनि त्यति धेरै कारोबार बढ्न सकेको छैन । बजार खुला गरेपनि आवश्यक पर्नेले मात्र खरिद गर्ने गर्छन ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत वैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञाले सुनचाँदी व्यवसायमा पनि कारोबार नहुँदा व्यवसायीले घाटा बेहोर्नुपरेको छ । मासिक पाँच अर्बको सुनचाँदीको कारोबार हुने गरेकोमा ४५ दिन पूर्णरुपमा बन्द हुँदा ठूलो घाटा बेहोरनुपरेको व्यवसायीको भनाइ छ । अघिल्लो वर्ष भएको लकडाउनले सुनचाँदी व्यवसायमा ठूलो घाटा भएको थियो ।
बन्दको बैैंकले सुनको आयात पनि बन्द गरेका थिए । बजार खुलेसँगै अहिले दैनिक २० किलो सुन आयात भइरहेको व्यवसायीको भनाइ छ । पछिल्लो समय बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । अघिल्लो वर्ष साउनको महिना सुनको मूल्य बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसपछि क्रमिकरुपमा घट्दै गएर तोलामा ८५ हजार रुपैयाँमा झरेको थियो । पुनः बढेर ९० हजार नाघेको हो ।

प्रतिक्रिया दिनुहोस्