दुनाटपरीदेखि ड्रोन बनाउन सिक्दै विद्यार्थी «

दुनाटपरीदेखि ड्रोन बनाउन सिक्दै विद्यार्थी

आधुनिकतासँगै नेपाली पहिचान लोप हुँदै गएको छ । लोकभाकामा प्रयोग गरिने विगुल, बिनायो, खैँजडी, सच्चुङ्गा लगायत बाजा अवलोकन गर्ने अवसर पाउन अहिलेको पुस्तालाई मुस्किल पर्छ । हलो, पटाहा, जुवा, ठेकी, टोलुङ, पैनी, गुलेली, पेरुङ्गो, फुर्लङ, डोकोलगायत नाम इतिहास बनेका छन् ।
इतिहासलाई बचाउन झापा मेचीनगर नगरपालिकाको इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले पुरातात्विक वस्तुलाई समेटेर संग्रहालय निर्माण गरेको छ । विद्यार्थीलाई इतिहासबारे ज्ञान दिन संंग्रहालय निर्माण गरिएको हो । संग्रहालयमा पुराना बाजा, मेलापातमा प्रयोग गरिने सामग्रीदेखि प्राचिन समयमा प्रयोग हुने भाडा राखिएको छ ।
आधुनिक पुस्ताले दुना टपरी देख्दैनन्, देखे पनि चिन्दैनन् । झापा मेचीनगर नगरपालिका–१५की मुस्कान ढुङ्गेललाई एक महिनाअघिसम्म दुना, टपरी के हो, कसरी बनाइन्छ भन्ने सामान्य ज्ञान थिएन । उनी इष्ट होराइजन अंग्रेजी माविको कक्षा ५मा पढ्छिन् । अहिले उनी विद्यालयमा नै सिकेर राम्रोसँग दुना, टपरी बुन्न सक्ने भएकी छिन् । मेचीनगर– १०का अंकित पोखरेल पनि सोही विद्यालयको कक्षा– ५मा पढ्छन् । उनी पनि कक्षा ५मा पुग्दासम्म दुना टपरी नदेखेको बताउँछन् ।
उनी भन्छन्, “दुना टपरी त पूजामा पो चाहिने रहेछ, विद्यालयमा आएर थाहा पाएँ ।” पोखरेल विद्यालयले आयोजना गरेको महोत्सवमा दुना टपरी बुनेर प्रदर्शन गर्न व्यस्त देखिन्थे । विद्यालयले दुना, टपरी बनाउने कक्षा नै सञ्चालन गरेको छ । कक्षा ३देखि ८ सम्म पढ्ने २५ जना विद्यार्थी दुना टपरी बुन्न सक्ने भएका छन् । उनीहरुलाई स्थानीय चन्द्रकुमारी राईले दुनाटपरी बनाउन सिकाएकी हुन् । इष्ट होराइजनले महोत्सवको आयोजना नै गरेर २५ भन्दा बढी स्टलमा विदार्थीद्वारा निर्मित कलाको प्रदर्शनी गरेको छ ।
विद्यालयले हप्तामा प्रत्येक शुक्रबार दुई घण्टा सिलाइबुनाइ सम्बन्धि ज्ञान दिने गरेको शिक्षक अनिता सुवेदीले बताइन् । किताबी ज्ञानले मात्र नहुने बताउने उनी घरव्यवहारमा आवश्यक सीप पनि विद्यार्थीलाई दिएको सुनाउँछिन् । सुरुमा गाह्रो भयो, नानीहरुलाई सियोमा धागो छिराउन सिकाउन पनि धेरै सकस गर्नुप-यो । अनिता कक्षा ३ र ४ का विद्यार्थीलाई सिलाइबुनाइ सम्बन्धि सीप सिकाउँछिन् । कक्षा ४मा अध्ययनरत काव्या भारती सामान्य सिलाइबुनाइ गर्न सक्ने भएकी छिन् । त्यस्तै कक्षा ४मा अध्यनरत सुमिका कार्की पनि सिलाइबुनाइ गर्न सक्ने भएकी छिन् । उनी भन्छिन्, “यो काम त हामीले जान्नुपर्ने रहेछ । कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई संगिता थापा र सिर्जना खनालले सिलाइबुनाइ सिकाउँछन् । विद्यालयका ४५ जना विद्यार्थी सिलाइबुनाइमा दखल बनेका छन् ।”
महोत्सवमा विद्यार्थीले ड्रोन उडाएका थिए । कक्षा १०का आविष्कार घिमिरे, आदित्य पौडेल र कक्षा ९ का प्रमोद ढुङ्गेल मिलेर उक्त काम गरेका हुन् । उनीहरुले निर्माण गरेको ड्रोन आधा घण्टासम्म उडेको थियो । महोत्सवमा अतिथि, अभिभावकको ध्यान ड्रोनले तानेको देखिन्थ्यो । ड्रोनमा क्यामरासमेत जडान गर्न सकिने प्रमोदले बताए । ड्रोन निर्माणका लागि ५० हजार रुपैयाँ लागेको विज्ञान विषयका शिक्षक इश्वर घिमिरेले बताए । तीन महिनासम्मको प्रयासपछि ड्रोन बनाउन सफल भएको घिमिरेले सुनाए । महोत्सवमा १ लाख ५० हजार रुपैयाँ लागतमा विज्ञान प्रदर्शन गरिएको थियो ।
महोत्सवमा उपस्थित सबै प्रदर्शनीको चर्चामा व्यस्त थिए । विद्यार्थीले चित्रकला तथा हस्तकलाको प्रदर्शनी, घरको प्लाम्बिङसम्बन्धी कार्यको प्रदर्शनी, विद्यार्थीले तयार पारेका परिकारको प्रदर्शनी, टपरी बुन्ने, बत्ती काट्ने कलाको प्रदर्शनी, सिलाइबुनाइ कलाको प्रदर्शनी गरेका थिए । विद्यार्थीहरुको ताजगीपन र व्यवहारिक ज्ञानका लागि महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सञ्जिव राईले बताए । निजी विद्यालयले पनि विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आवश्यक रहेको र विद्यार्थीमा भएको कलालाई बाह्यरुपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हरेक विद्यालयको कर्तव्य रहेको राई बताउँछन् ।
झापाका विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, अतिति गरी १२ हजार जनाले महोत्सवको अवलोकन गरेको विद्यालयका शिक्षक महेश खड्काले बताए । महोत्सव १२ लाख रुपैयाँ लागतमा सकिएको छ । कक्षा ३ देखि १२ सम्मका एक हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको महोत्सवमा ९० शिक्षक तथा कर्मचारीको संलग्नता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्