रामेछापको सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलाइसिस «

रामेछापको सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलाइसिस

रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । बुधबारदेखि ५ वटा मेसिनमार्फत् सो सेवा सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।
तामाकोशी सहकारी अस्पताललाई चुँजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराएको थियो । केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको छ । रामेछाप जिल्लामा मात्रै एक सय ५० भन्दा बढी मिर्गौला रोगी भएको अवस्थामा डायलासिस सेवाले सहज हुने अध्यक्ष घिमिरेले बताए । रामेछापबाहेक पूर्वमा विराटनरमा मात्र डायलासिस सेवा भएकोले सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरीलगायतका जिल्लाका बिरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्ने घिमिरले जानकारी दिए ।
यस उपचार केन्द्रमा एक पटकमा ५ जना बिरामीको डायलाइसिस हुन्छ । एकजना बिरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना बिरामीको उपचार हुने घिमिरेले बताए । यो सेवा बिरामीहरुले निःशुल्क पाउने छन् । तामाकोसी सहकारी अस्पताल मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित अस्पताल हो । यो अस्पताल सहकारीका सेयर सदस्यहरुबाट सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्