देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गरिने

सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि तयार गरेको छ ।
अक्सिजन अभावको संकटलाई सहज बनाउन अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न लागिएको हो । कार्यविधिअनुसार संघ, प्रदेश र जिल्लामा अक्सिजन कन्सनट्रेटर स्थापना गरिनेछ । संघमा एउटा, सबै प्रदेशमा एक÷एकवटा र हरेक जिल्लामा एक÷एकवटा गरी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुनेछन् ।
संघमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखामा, प्रदेशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा र जिल्लामा हरेक स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन कन्सनट्रेटर बैंकको स्थापना हुने जनाइएको छ ।
अक्सिजन कन्सनट्रेटरको माग, आपूर्ति, संकलन, वितरण तथा व्यवस्थापन गर्न स्थापना गरिएको स्टोरलाई अक्सिजन कन्सनट्रेटर बैंक भनेर बुझ्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ ।