‘मलाई उपेन्द्र र जीवाको मात्रै होइन, शेष घलेको पनि सहयोग छ’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनका अध्यक्षका उम्मेदवार एवं वर्तमान कार्यसमितिका उपाध्यक्ष भवन भट्टले अध्यक्षका लागि बिहीबार मात्रै उम्मेदवारी घोषणा गरेकी जमुना गुरुङलाई चुनावी प्रतिष्पर्धामा उत्रिएकोमा स्वागत गरेका छन् । उनले एक साताअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भट्टले आफूलाई संस्थाका संस्थापक अध्यक्षद्वय डा. उपेन्द्र महतो, जीवा लाछिाने र हालका अध्यक्ष शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको बताए । “जमुना भाउजुले उम्मेदवारी स्वभाविक नभएपनि लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएकाले स्वागत गर्छु,” उनले भने । यद्यपी सम्पूर्ण गैरआवासीय नेपालीहरूको समस्या, पीर, मर्काहरू बुझेको र अन्तर्राष्ट्रिय कोअर्डिनेसन कमिटिमा बसेर काम गरेको मान्छे मात्र नेतृत्वको लागि उपयुक्त हुने उनको भनाइ छ ।
भट्टले अध्यक्षका अर्का प्रत्यासी गुरुङ मुलुकले नै गर्व गर्नलायक व्यक्तित्व भएको भन्दै अहिले नै संस्थाको अध्यक्षमा आउन खोज्नु हतार भएको बताए । यद्यपी गुरुङले आफूमा ‘कन्फिडेन्स’ देखेर नै चुनावी मैदानमा आएकोले आफूले त्यसलाई सहर्ष स्विकार गर्ने उनको भनाइ थियो ।
भट्टले आफ्नो जीतको पहिलो आधार नै सम्पूर्ण एनआरएन साथिहरू भएको विश्वास दिलाए । उनले भने, “म त लगभग साझा उम्मेदवारको रूपमा उभिएको छु, हुन त योबीचमा सर्वसम्मतिले नेतृत्व चयन हुने भयो भनेर साथीहरू खुसी हुनुभएको थियो, तर जमुना भाउजुले अन्तिम समयमा आएर उम्मेदवारी दिनुभयो, यो म स्वभाविक देख्दिनँ ।”
उनले यसअघि एनआरएनए जापानको अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षसहित २ पटक उपाध्यक्षका रूपमा काम गरिसकेका कारणले पनि आफ्नो दाबी स्वभाविक रहेको बताए । भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना बस्ती निर्माणलाई समयमै सक्नेगरी काम गरिने पनि प्रतिवद्धता जनाए । यस्तै, एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड बियोन्ड, सामूहिक लगानीका परियोजना निर्माणलगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले विश्वास दिलाए ।
एनआरएनए भवन निर्माणलाई प्राथमिकता दिने, एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ एजेण्डा उनले सुनाए । उनले आफूहरूको संस्था नेपालीहरूको लागि नेपालीभन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै स्थापनाकालदेखि नै आफू सक्रिय भएर लागिरहेको जनाए । उनले भने, “हाम्रो संस्था वास्तवमै भोलेन्टिएर्स संस्था हो, हामी अहिले राष्ट्रको समृद्धिको लागि लागिपरिरहेका छौं, हाम्रो अरु कुनै उद्देश्य छैन, मुलुक समृद्ध भएको हेर्न मन छ ।’
भट्टले संस्थालाई सशक्त रूपमा ड्राइभ गर्नको लागि आवासीय र गैरआवासीय नेपालीबीच जोड्ने काम गर्ने लक्ष्य लिएको पनि सुनाए । उनले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको मनमा सँधै नेपाल र नेपाली नै रहेको बताउँदै भने, “हुन पनि म यो पटक नयाँ नाराका साथ अघि बढेको छु, नयाँयुगको सुरुवात ः सबै हात, एकै साथ भनेर, यो सबैलाई जोड्ने उद्देश्य हो ।” उनले आफू नेतृत्वमा आएसँगै एनआरएनए भर्सन–२ मा आउने अर्थात नयाँ इरा सुरु हुने बताए । उनले भने, “म विश्वास दिलाउन चाहन्छु, अब तपाइँहरूले नयाँ नेतृत्वमा म आएँ भने भवन भट्टलाई नयाँ रूपमा पाउनुहुनेछ ।” तपाइँ कुन गठबन्धन, लोकतान्त्रिक कि बाम ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा भने उनले आफू कुनै पनि पार्टी नभएर एनआरएनए पार्टी रहेको स्पष्ट पारेका थिए ।