मुगुमा औषधि अभाव «

मुगुमा औषधि अभाव

मुगु – जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारोङ्क गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा केही महिनादेखि औषधि अभाव भएको छ । सिटामोलदेखि जीवनजलसम्म नपाइरहेको स्थानीयले बताएका छन् ।
नेपाल सरकारको नीतिअनुसार प्रत्येक स्वास्थ्य संस्थामा सामान्य औषधिदेखि जटिल खाले औषधि गरी ३५ प्रकारका औषधि अनिवार्य रुपमा पाइनुपर्छ । तर, मुगुको मुगमकामारोङ्क गाउँपालिका अन्तर्गत रहेका सामुदायिक स्वास्थ्य सेवा छाइल, स्वास्थ्य चौकी माग्री, पुलु स्वास्थ्य चौकी, किम्री स्वास्थ्य चौकी, मुगु स्वास्थ्य चौकीहरुमा औषधि नै पाइँदैन । स्थानीय सरकार आएको अनुभूति हुन नसकेको स्थानीयको गुनासो छ ।
छाइलमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा औषधिको निकै अभाव भएको छ । बिरामी चेकजाँच गर्ने र गर्भवति महिलाई पनि चेक गर्ने कोठाको अभाव छ । पटक–पटक गाउँपालिकामा औषधि अभाव र अन्य व्यवस्थापनका लागि पहल गरिएको भए पनि कुनै पनि निकायले नसुनेको स्वास्थ्य इकाइका कर्मचारीले बताएका छन् ।
“औषधि माग्न गएको बेला कुनै पनि औषधि पाइँदैन । कुनै दिन कर्मचारी पनि भेटिँदैन । बिरामी भएको बेला भगवानको भरमा बस्नुपर्ने भएको छ । बिरामी भएको बेला सदरमुकाम गमगढी जानुपर्छ । हुनेखाने त नेपालगन्ज, काठमाडौं, सुर्खेत जान्छन् । हामी गरिब दुःखीहरु बिरामी भएको बेला गाउँमा रहेको स्वास्थ्य संस्थामा औषधि पाइँदैन । स्वास्थ्य संस्थाका कर्मचारीहरु जनप्रतिनिधिको कुरा मान्दैनन्,” मुगमकामारोङ्क गाउँपालिकाकी कार्यपालिका सदस्य ऐटोल बिकले भनिन् ।
औषधि नआएको दुई महिना भएको र गाउँपालिकाले पनि थोरैमात्र औषधि पठाएको माग्री स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज गाइली खत्रीले बताइन् । गर्त वर्ष गाउँपालिकाका लागि १ लाखबराबरको औषधि खरिद गरिएको थियो । यो वर्ष गाउँपालिकाको सःशर्त अनुदानको लागि आएको ६ लाखमध्ये ४ लाख ९९ हजारको औषधि खरिद गरिएको र केही स्वास्थ्य संस्थामा वितरण गरिएको मुगमकामारोङ्क गाउँपालिकाका स्वास्थ्य प्रमुख सिंहमल बूढाले बताए ।
मुगमकामारोङ्क गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा नियमित कर्मचारी नबस्ने, स्वास्थ्य भवन जिर्ण देखिएको, सामान्य औषधि पनि नभएको हुँदा अनियमित गर्ने कर्मचारीलाई कारवाही गर्ने र गाउँपालिकाको ध्यान कम गएको हुँदा गाउँपालिकालाई समेत स्वास्थ्य क्षेत्रमा ध्यान जान आग्रह गरिएको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । किम्री गाउँमा रहेको स्वास्थ्य चौकीमा पनि कुनै पनि प्रकारको औषधि नभएको स्थानीयबासीको गुनासो रहेको छ ।

प्रयोगविहीन बर्थिङ सेन्टर
मुगमकामारोङ्क गाउँपालिकाका महिलाहरुलाई सुरक्षित रुपमा गर्भवति रहनको लागि बर्थिङ सेन्टरहरु बनाइएको भए पनि ती प्रयोगमा छैनन् । पुलु बर्थिङ सेन्टरको भवन ५ वर्ष पहिला निर्माण भएको र सेन्टरमा काम गर्नको लागि अनमिको व्यवस्था भए पनि औजार, उपकरण नहुँदा सेन्टरबाट गर्भवति महिलाहरुले सेवा लिन सकेका छैनन् ।
माग्रीमा रहेको बर्थिङ सेन्टरबाट यो वर्ष १६ जना गर्भवति आमालाई सेवा दिइएको र प्रत्येक दिन गर्भ चेक गराउनको लागि ५ देखिी ८ जनासम्म आउने गरेको माग्री स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज गाईली खत्रीले बताएकी छन् । “माग्रीमा रहेको बर्थिङ सेन्टरमा कुनै पनि औषधि पाइँदैन । महिलाले प्रयोग गर्ने अस्थायी साधन पनि छैन,” महिला स्वास्थ्य स्वयंसेविका पासाङ फुटी तामाङले भनिन् ।
किम्री बर्थिङ सेन्टरमा गत वर्ष ९ जना र यो आवमा ११ जनालाई प्रसूति गराएको रिपोर्ट भए पनि यी गर्भवति भएकी महिलाहरु आफ्नै घरमा सुत्केरी भएको रहस्य बाहिर आएको छ । बर्थिङ सेन्टर सुरुबाट भएदेखि कुनै पनि महिलाहरुले बर्थिङ सेन्टरमा आई सेवा नलिएको र गाउँघरबाट नै सेवा दिने गरेको किम्री बर्थिङ सेन्टरकी अनमी राजी शाहीले बताएकी छन् ।

किशोरी आमाको संख्या बढ्दो
मुगु जिल्लामा पछिल्लो समय किशोरी आमाको संख्या बढ्दै गएको छ । विशेषगरी जिल्लाको पूर्व भेगमा पर्ने मुगमकामारोङ्क गाउँपालिका अन्तर्गत रहेको चिमाथ गाउँमा यस्तो बढी देखिएको छ । चिमाथ गाउँमा ८३ घरधुरी रहेकोमा ५० देखि ६० जनासम्म किशोरी आमाको संख्या रहेको देखिन्छ । यो गाउँमा कुनै घरमा २ देखि ३ जनासम्म किशोरी आमा छन् । “आफ्नो १६ वर्षको उमेरमा विवाह गरियो । २५ वर्षको उम्मेरसम्म २ छोरी १ छोरा गरी ३ बच्चा छन् । सानै उम्मेरमा विवाह गर्दा आफ्नो भविष्य बिग्रेको छ । पढ्न लेख्न पाइएन, कुनै रोजगारी पाइएन,” मुगमकामारोङ्क गाउँपालिका चिमाथ गाउँकी बेलमति बुढाले गुनासो गरिन् ।
सोही गाउँकी तारादेबी बुढाको १६ वर्षको उम्मेरमा विवाह भयो । “२ सन्तानकी आमा बनियो, अहिले जीवन बिताउन निकै गाह्रो भएको छ । मजस्तै मेरो गाउँमा रहेका ५०–६० जना दिदीबहिनीले पनि सानै उम्मेरमा विवाह गर्दा किशोरी आमा बन्दै सबै जनाको भविष्य अन्धकारमा पुगेको छ,” उनले भनिन् । गत वर्ष जिल्ला स्वास्थ्य कार्यालयमा गर्भ चेक गराउने किशोरी आमाको संख्या २ सय ४० जना रहेको र २१ जना किशोरी आमाहरुलाई अप्रेशन गरी बच्चा निकालिएको तथ्यांक छ । यो वर्षमा पनि किशोरी आमाको संख्या बढी नै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी डा. मिना काफ्ले चौलागाईले बताइन् ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्