२६ करोडको सुन्तला उत्पादन «

२६ करोडको सुन्तला उत्पादन

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यसवर्ष ६ हजार ४६८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणि पन्थीले जानकारी दिए । अघिल्लो वर्ष गुल्मीमा २ हजार २०५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा लगाइएको सुन्तला मध्ये अहिले करिब ५० प्रतिशत सुन्तला टिप्न बाँकी रहे पनि पछिल्लो संकलित विवरण अनुसार उत्पादन वृद्धि भएको पन्थीले बताए । जिल्लामा सुन्तला उत्पादन दर बढ्नुमा मौसमले साथ दिनु, सुन्तला खेतीतर्फ किसानको बढ्दो आकर्षण तथा उत्पादनमा व्यवस्थित पद्धति अपनाउनु मुख्य रहेको उनले बताए ।
कृषकबाट बगैंचा सुदृढीकरण, मल, किटनासक बिषादी प्रयोग, बिरुवा काँटछाँट व्यवस्थित तरीकाले गर्नु र हावाहुरीले सुन्तला नष्ट नभएको कारण पनि सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
लटरम्म फलेको सुन्तलाका कारण गुल्मीका अधिकांश गाउँ अहिले पहेंलपुर देखिएका छन् । कफी खेतीपछिको मुख्य आम्दानीको स्रोत सुन्तला पनि हो गुल्मीमा । छत्रकोट गाउँपालिकाअन्तर्गत साविकको हर्दिनेटा–६ को लुम्छा गाउँमा सुन्तला लोभलाग्दो गरी लटरम्म फलेको छ । गुल्मीको मुसिकोट नगरपालिका–९ अर्लाङ्कोटमा पनि सुन्तलाले गाउँ नै पहेंलो बनाएको छ । यो क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र नै मानिएको छ ।
गत वर्ष सुन्तला उत्पादनमा गिरावट आएका कारण निराश बनेका गुल्मीका किसान यस वर्ष भने हर्षित छन् । हिउँदको महिनामा सुन्तला व्यवसाय गरेर नै लाखौंको कारोबार गर्ने कृषक अहिले सुन्तला उत्पादन बढेसँगै सुन्तला ब्यापारमा निकै ब्यस्त छन् । गुल्मीको मुसिकोट नगरपालिका–९ अर्लाङ्कोटका सुन्तला वाला नामले पहिचान बनाइसकेका सुधन खरेलले वर्षमा २५ लाखभन्दा बढीको कारोबार गर्छन् । आफ्नो बारीमा भएको दर्जनौ सुन्तलाको रुखका अतिरिक्त गाउँबासीले उत्पादन गरेका सुुन्तला पनि एकैसाथ बेचबिखन गर्ने गर्छन् ।
गुल्मीमा कूल १ हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ । जसमा ६ हजार ४६८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । त्यसलाई न्यूनतम प्रतिकिलो ४० रूपैँयाका दरले जोड्दा पनि २५ करोड ८७ लाख २० हजार रूपँैयाको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खुद्रा बजारमा भने सुन्तलाको भाउ भने प्रतिकिलो १२० रूपैयाँसम्म रहेको छ ।
गत वर्ष गुल्मीमा सुन्तला उत्पादन ३५ प्रतिशतले घट्दै ११ करोडमा सीमित भएको थियो ।
जिल्लामा उत्पादन भएको सुन्तला कृषकले हाल कृषक कहाँ ४० रूपैयाँ प्रतिकिलोदेखि ६० रूपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरेका छन् । तर, बजारमा भने खुद्रा मूल्य भने १२० रूपैयाँसम्म प्रतिकिलोमा बिक्री गर्ने गरेका छन् ।
जिल्लाका प्रायजसो सबै ठाउँमा सुन्तला खेती गरीएतापनि मुख्यगरी अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ, रेसुङ्गा नगरपालिका, पीपलधारा, हाडहाडे, नयाँगाउँ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदहलगायतका स्थानमा कृषकले सुन्तला उत्पादन गर्दै आएका छन् ।
गुल्मीमा उत्पादन भएको सुन्तला ६० प्रतिशतभन्दा बढी जिल्लामै खपत हुने गरेको छ । बाँकी जिल्ला बाहिर पाल्पा, वुटवल, पोखरा, काठमाडौंलगायतका मुख्य बजारमा बिक्री गर्ने गरिएको छ ।

सुन्तला खेती जोन निर्धारण
यसवर्षबाट गुल्मीका विभिन्न स्थानलाई सुन्तला खेती जोन स्थान निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा सुन्तला खेती जोन स्थान निर्धारण गरिएको हो ।
भूगोल, हावापानी र सम्भावनालाई मध्यनजर गरी सुन्तलाको जोन क्षेत्र निर्धारण गरिएको छ । जसअनुसार सुन्तला जोन गाउँका रूपमा रेसुङ्गा नगरपालिकाको वडा नम्वर ३ भाडगाउँ, वडा नम्वर ४ अर्खले, वडा नम्वर ५ अर्खले, वडा नम्वर ६ बालकाटे र गुरुङ गाउँ, वडा नम्वर ७ उपल्लो तम्घासदेखि नेटासम्म घोषणा गरिएको छ ।
मुसिकोट नगरपालिकाको बडा नम्बर ८ वामी मैदान, वडानम्वर ९ को अर्लाङ्कोटलाई सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा नम्बर १, नयाँगाउँ, वडानम्वर २ पिपलधारा, वडानम्बर ३ हाडहाडे, वडानम्बर ४ जैसीथोक, वडानम्बर ५ वस्तु, वडानम्बर ६ धुर्कोट रजस्थल सुन्तला जोन क्षेत्र निर्धारण गरिएको छ ।
जिल्लाका १२ वटा स्थानीय तह मध्ये बढी क्षेत्र सुन्तला जोन हुने स्थानीय तह धुर्कोट गाउँपालिका बनेको छ । पहिलेदेखि स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँ, पीपलधारा, हाडहाडे र धुर्कोट रजस्थल रहेकोले पनि धुर्कोट गाउँपालिका सुन्तला उत्पादनमा धनी बनेको होे ।
मदाने गाउँपालिकाका भनभने सुन्तला जोन निर्धारण भएको छ । चन्द्रकोट गाउँपालिकाको वडानम्वर ५ र ६ सुन्तला जोन क्षेत्र निर्धारण भएको छ ।
कालिगण्डकी गाउँपालिकाको वडा नम्वर २ र ३ पनि सुन्तला जोन क्षेत्र घोषणा भएको छ । छत्रकोट गाउँपालिकाको वडानम्वर ३ र ४ पनि सुन्तला जोन घोषणा भएको छ ।
यतिबेला गुल्मीमा सुन्तला उत्पादनमा कृषकको आकर्षण पनि बढेको छ । सुन्तला एकपटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झै स्याहार गर्न नपर्ने भएकाले सुन्तला खेतीतर्फ आकर्षित भएको कृषकहरूले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्