गोरखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै «

गोरखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

गोरखा-गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ अनुसार पुरुषले अदालतमा सिधै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने क्रम पनि बढ्दै गएको हो ।
जिल्ला अदालतमा भदौ १ गतेयता ९७ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा ६० वटा महिला र ३७ वटा पुरुषले दर्ता गराएका छन् । सम्बन्ध बिच्छेददका मुद्दामध्ये ३६ वटाको फैसला भैसकेको श्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए । अदातलमा हाल चालू मुद्दा एक सय ६८ रहेकोमा ६१ वटा सम्बन्ध बिच्छेदका रहेका उनको भनाइ छ ।
“नयाँ मुलुकी ऐन लागू भएपछि सम्बन्ध बिच्छेद गर्न पुरुषले पनि अदालत जान सक्ने सुविधा छ,” उनले भने, “यहि ऐनमा टेकेर गोरखामा हालसम्म ३७ पुरुषले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराइसकेका छन् ।” पहिले सम्बन्ध बिच्छेदका लागि पुरुषले अदालतमा मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनु पर्ने अवस्था थियो । तर, अहिले सम्बन्ध बिच्छेदको मुद्दा दिन सोझै अदालत जान सक्ने सुविधा भएपछि वर्षौदेखि अदालत जान नसकेका पुरुष अदालत आउन थालेका श्रेस्तेदार अधिकारीले बताए ।
“पुरुषहरु मुद्दा दर्ता आउने क्रम बढ्दो छ,” उनले भने, “पहिले वडा वा स्थानीय तहको निर्णयले मात्रै पुरुषको सम्बन्ध बिच्छेदको मुद्दा अदातलमा आउँथ्यो, प्रक्रिया लामो थियो । तर अब सोझै अदालत आउन सक्नेछन् ।” विभिन्न कारणले श्रीमान्–श्रीमतीबीच असमझदारी बढ्दै गएपछि सम्बन्ध बिच्छेददका लागि अदालत आउने क्रम बढेको जिल्ला न्यायाधिश वसन्तराज पौडेलले जानकारी दिए । “पारिवारिक विखण्डन बढ्दै गएको छ,” उनले भने, “विवाहलाई क्षणिक मनोरञ्जनका रुपमा लिएकाहरु एकअर्काको स्वभावसँग घुलमिल हुन नसक्दा पनि सम्बन्ध बिच्छेद बढ्दो छ ।”
पुरुष र महिलाबीच सम्बन्ध बिच्छेदका लागि सहमति भए एक महिनाभित्रमा मुद्दा किनारा लाग्नेछ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा एक वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ । ऐन अनुसार महिला÷पुरुषले ३ वर्षदेखि अंश लिई वा मानो नछुट्टाई श्रीमती फरक बसेमा, श्रीमतीले खानलाउन वा घरमा बस्न नदिएमा, अंगभंग वा शारीरिक वा मानसिक क्षति पु¥याएमा र अन्यसँग यौन सम्पर्क गरेको ठहर भएमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने व्यवस्था छ । श्रीमतीले यी विषयका अलावा श्रीमान्ले अर्को विवाह गरेमा र आफूलाई जर्बजस्ती करणी गरेमा मुद्दा दर्ता गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्