मृतकको सम्झनामा सामाजिक काम «

मृतकको सम्झनामा सामाजिक काम

रुकुम-नेपाल फरक–फरक चाडपर्व, धर्म र कला संस्कृति मान्ने देश हो । त्यसैले होला, दिवंगत भएका आफ्ना आफन्तहरुको सम्मान गर्ने चलन र संकार पनि ठाउँ अनुसारको फरक–फरक पाइन्छ । कतै आफ्ना मृतक आफन्तहरुको सम्झनामा प्रत्येक वर्ष मृत्यु तिथिमा श्राद्ध गरेर सम्झिन्छन्, कसैले शव गाडेको ठाउँमा गएर पूजाआजा गर्छन् त कसैले आफन्तको नाममा विभिन्न पुरस्कार तथा अक्षयकोष स्थापना गरेर पनि ।
रुकुम पूर्वमा भने त्यसभन्दा केही फरक काम गरिन्छ । जहाँ आफ्नो आफन्तको मृत्यु भएपछि मृतकको सम्झनामा सामाजिक कामसमेत हुँदै आएको छ । मृतकको सम्झनामा बिसौना (चौतारी) निर्माण, बिरुवा रोप्ने, गोरेटो बाटो मर्मत र पानीको मुहान सरसरफाइ जस्ता सामाजिक कामसमेत हुने गरेको छ । त्यस्तै मृतकको नाममा बनाएको बिसौना सरसफाइ र लिपपोत गरेर पूजाआजा पनि गरिन्छ । जसलाई स्थानीय भाषामा पिटर पूजा समेत भन्ने गरिन्छ ।
आ–आफ्नो आफन्तको मृतकको नामबाट बन्नेको बिसौनामा आ–आफ्नो परिवार जम्मा भएर मृतकको नाममा बनाएका विभिन्न खानाका परिकार बनाई पितरलाई पुज्ने गरिन्छ । पितरको अर्थ मृत आफन्तको आत्मा भन्ने स्थानीय अर्थ रहेको रुकुम भूमे गाउँपालिका २ का स्थानीय मदन रोकाले बताए । “आफ्ना पुर्खाहरु मरेर गएकालाई पितर भन्ने गरिन्छ र त्यही पुर्खाहरुको नाममा नै पिटर पूजा गर्ने गरिन्छ,” उनले भने, “आफ्नो भाइ (कुल) अनुसारमा पुर्खादेखि चल्दै आएको चलन अनुसार कम्तिमा वर्षमा एक पटक र कसैले त दुई पटकसम्म मान्ने गर्दछन् ।”
घरमा शान्ति, धनको लाभ, परिवारमा खुसीयाली, रोगबाट पितरले सुरक्षा गर्ने विश्वासमा यो पूजा गर्ने गरेको स्थानीयको भनाइ छ । “मृतक आत्माको शान्ति सामाजिक काम गरेपछि हुने यहाँका स्थानीयको विश्वास छ । त्यसैका लागि नै बाटोघाटो निर्माण गर्नेदेखि चौतारी निर्माणजस्ता सामाजिक काम हामी गर्दै आएका छौं,” रोकाले भने । पितर पूजाको दिन पूजा नगर्दासम्म अरुको सन्तानसँग नबोल्ने संकार पनि यहाँ छ ।
बोलेमा सन्तानमा पितरले हानिनोक्सानी गर्ने भएकोले पूजाको समयमा अरुसँग नबोल्ने प्रचलन रहिआएको छ । भूमे–२ गाबाङमा गणबहादुर बुढा टोलले वर्षको एक पटक मंसिर औंसीमा पितर पूजा गर्ने गरेको छ । “सोहि दिनमा नै सामाजिक काम जस्तै– गोरेटो बाटो मर्मत, बिसौना, तथा गाईभैंसी, भेडाबाख्राको लागि पानी खुवाउने मुहान पोखरी मर्मत तथा सरसफाइ गर्ने गरेका छौं,” उनले भने । पितर पूजा रुकुम पूर्व र रोल्पाको समेत विभिन्न ठाउँमा गर्ने संस्कार छ ।

प्रतिक्रिया दिनुहोस्