खेलकुद अनुशासनको माध्यम : आईजीपी खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले खेलकुद अनुशासन र तन्दुरुस्तीको माध्यम भएको बताएका छन् । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको वार्षिक खेलकुद सप्ताह–२०७५ को समापन कार्यक्रममा महानिरीक्षक खनालले अनुशासन र सामूहिक भावनाको विकासमा खेलकुदले महत्वपूर्ण टेवा पुग्ने बताए ।
“विद्यार्थीवर्ग देशका कर्णधार हुन्, उनीहरुलाई सही बाटोमा हिँडाउन खेलकुदले महत्वपूर्ण टेवा पुग्छ,” महानिरीक्षक खनालले भने, “अनुशासन एवं सामूहिक भावना विकास गर्न तथा मानसिक एवं शारीरिक तन्दुरुस्तीमा पनि खेलकुद प्रमुख पक्ष हो ।” आईजीपी खनालले सप्ताहव्यापी खेलकुद समारोहका विजेता छात्रछात्राहरुलाई प्रमाणपत्र-पदक तथा पुरस्कार समेत प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले शैक्षिक गतिविधिसँगै खेलकुद विकासले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा योगदान पु-याउने बताए । खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेबल टेनिस, दौड लगायतका खेलहरु समावेश गरिएको थियो ।