होटल व्यवसाय खोल्न पाउनुपर्ने माग «

होटल व्यवसाय खोल्न पाउनुपर्ने माग

कोरोना महामारीको संकटले प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्नुपर्ने वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोरोना संक्रमण महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा बन्द गरिएका होटलहरु निषेधाज्ञा खुकुलो भएसँगै खोल्न पाउनुपर्ने माग गरेका छन् ।

पर्सामा कोरोना संक्रमण दर र संक्रमितको संख्या कम हुदै गएपछि स्थानीय प्रशासनले असार ७ गतेदेखि निषेधाज्ञा खुकुलो पारेर पसल बजार खोल्न दिएको छ । निजी सवारी सधानहरु पनि जोरबिजोर गरेर सञ्चालन गर्न दिइएको छ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा पनि सुचारु गर्ने निर्णय गरिसकेको अवस्थामा अब होटल तथा पर्यटन क्षेत्रलाई पनि विस्तारै सहज बनाउनका लागि खुला गर्नुपर्ने उनीहरको माग छ ।
निजी सवारी साधनहरु खुला गरेको अवस्थामा विस्तारै ग्राहकहरु पनि आउन थालेकाले कोरोना संक्रमणमा प्रभावित होटल र पर्यटन व्यवसाय क्षेत्रलाई जीवित राख्नका लागि पनि विस्तारै होटल तथा पर्यटन क्षेत्र खुला गर्नुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले आवासीय होटलहरुमा स्वास्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिन सकिने भएपनि मन्त्रिपरिषदको निर्णयबाट नै बन्द गरिएकाले सरकारले नै खुला गर्न पहल हुनुपर्ने बताए ।

सबै क्षेत्र खुला गर्दै गएकाले होटल तथा पर्यटन क्षेत्रलाई पनि विस्तारै खुला गर्ने सरकारको तयारी रहेकोले स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने तयारी गर्ने आश्वासन दिए । वीरगन्ज रक्सोलको नाका पनि बन्द र सार्वजनिक यातायात पनि बन्द रहेको अवस्थामा होटलमा आउने ग्राहकहरु खसै नहुने हुँदा एकैपटक खुला गर्दा फेरि संक्रमण फैलिने जोखिम रहेकाले जोखिमको विश्लेषण गरेर खुला गरिने प्रजिअ घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्