मकवानपुरका १० स्थानीय तहको बजेट सवा ८ अर्ब «

मकवानपुरका १० स्थानीय तहको बजेट सवा ८ अर्ब


हरेक वर्षको असार १० गते गाउँ/नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्थाको पालना गर्दै मकवानपुरका १० वटै स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । एक उपमहानगर, एक नगरपालिका र ८ वटा गाउँपालिका रहेको मकवानपुरका १० वटा स्थानीय तहले करिब सवा ८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
सबै स्थानीय तहहरुले गरी ८ अर्ब १७ करोड २३ लाख रुपैयाँको बजेट गाउँ/नगरसभामा पेस गरेका छन् । सबै स्थानीय तहहरुले चालू वर्षको तुलनामा बजेटको आकार वृद्धि गरेका छन् । पूर्वाधार विकास, कृषि उत्पादन र रोजगारी सिर्जनाको विषयलाई स्थानीय तहले प्राथमिकताका साथ बजेटमा समेटेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था स्थापना, औषधि तथा उपकरण खरिद गर्ने योजना पनि पालिकाहरूले समेटेका छन् ।
बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । चालू आवमा २ अर्ब ८ करोड ६६ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको उपमहानगरले बजेटको आकार करिब ५२ करोड रुपैयाँ वृद्धि गरेको हो । उपमहानगरले आगामी वर्ष पूर्वाधार विकासमा ५० प्रतिशतभन्दा बढी खर्च गर्नेसमेत योजना बनाएको छ ।
मकवानपुरको एक मात्र नगरपालिका थाहाले पनि पुरानै योजनाको निरन्तरतामा जोड दिँदै आगामी आर्थिक वर्षको लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरको १२ वटै वडामा प्रतिवडा ५ किलोमिटरको दरले ६० किलोमिटर सडक पक्की गर्ने योजनालाई निरन्तरता दिँदै बजेट छुट्याइएको छ । त्यस्तै थाहा–४ मा रहेको नार्खु डाँडामा बसपार्क र नयाँगाउँमा थाहा स्मारकलाई पूरा गर्ने, नगरभरका काठको विद्युत् पोल विस्थापन गर्ने, थाहा–३ स्थित काला भैरव चौरमा निर्माणाधीन थाहा शीतभण्डार निर्माण कार्यलाई आगामी वर्ष सम्पन्न गर्ने जस्ता योजना प्राथमिकीकरण गरिएका छन् । संघीय सरकारबाट थानकोट–चित्लाङ सुरुङमार्ग निर्माण गर्नका तत्काल सुरुवातका लागि पहल गरिने र थाहा नगरपालिकाको सडक चक्रपथ निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने पनि थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए ।
यस्तै आन्तरिक आम्दानीमा अन्य पालिकाभन्दा निकै सबल रहेको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँको बजेट कार्यान्वयन गर्ने भएको छ । उपाध्यक्ष मनिला विष्टले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाइएको बताइन् । ढुंगा गिट्टी बालुवाको पर्याप्त स्रोत भएका कारण गाउँपालिकाले बर्सेनि करोडौं आम्दानी गर्दै आएको छ । आगामी वर्ष पनि आन्तरिक राजस्व र ढुंगा गिट्टी बालुवाको बिक्रीबाट १७ करोड २८ लाख रुपैयाँ आम्दानी हुने गाउँपालिकाले अनुमान गरेको छ ।
गाउँपालिकाले आगामी आवबाट दूध उत्पादक किसानकनमा शतप्रतिशत वृद्धि गरेको छ । दुग्ध संकलन केन्द्रमा दूध बिक्री गर्ने किसानलाई हाल प्रतिलिटिर एक रुपैयाँ अनुदान दिँदै आइएकोमा अब प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिइने बताइएको छ । गाई भैंसीमा दिँदै आइएको निःशुल्क गर्भाधान सेवा बाख्रा र बंगुरमा पनि थप गरी निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ ।
यस्तै बकैया गाउँपालिकाले पनि आगामी वर्ष कृषि उत्पादन र रोजगारीलाई जोड दिँदै ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले अधिकांश पुरानै योजनालाई पूर्णता दिने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताइन् ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले पनि आगामी वर्ष ५४ करोड ७२ लाख रुपैयाँको आम्दानी खर्चको अनुमान गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले आगामी वर्षको आम्दानी तथा खर्चको अनुमानित विवरण पेस गर्दै चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ खर्च हुने बताइन् । विकट गाउँपालिकाले नदीजन्य उत्पादनलाई प्रमुख स्रोतको रुपमा प्रयोग गरी ४ करोड ८३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ ।
यसैगरी मकववानपुरको बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले गरिबी निवारणमा सहयोग पु¥याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो प्रतिफल र उत्पादनमूलक बनाउने, साहित्य कला र संस्कृतिको प्रवद्र्धन गर्नेजस्ता विषयलाई प्राथमिकीकरण समेटेर बजेट बनाएको छ । विपद् व्यवस्थापन र न्यूनीकरण गर्ने, शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका क्षेत्रहरु पनि गाउँपालिकाको प्राथमिकतामा परेका छन् ।
विकट गाउँपालिकामध्येको एक कैलाश गाउँपालिकाले पनि आगामी वर्ष ४५ करोड ९६ लाख रुपैयाँ आम्दानी खर्चको अनुमान गरेको छ । गाउँपालिकाले पुँजीगततर्फ ४५ प्रतिशत र चालूतर्फ ५५ प्रतिशत बजेट छुट्याएको छ । प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार कैलाशले स्वास्थ्य, सडक तथा पूर्वाधार, कृषि पशु, शिक्षा र पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट बनाइएको छ ।
यसैगरी भीमफेदी गाउँपालिकाले पनि ६५ करोड ४१ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष पार्वती रानाले कृषि र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट र्साजनिक गरेकी हुन् । उत्तरी मकवानपुरमा रहेको इन्द्रसरोवर गाउँपालिकाले आगामी वर्ष ३८ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट कार्यान्वयन गर्दैछ । गाउँपालिकाका प्रमुख जीवन लामाले आगामी वर्ष सडक पूर्वाधार बिस्तार र स्तरोन्नति, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गतामैत्री, वातावरणमैत्री, सरसफाइयुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताए ।
मकवानपुरगढी गाउँपालिकाले पनि ६२ करोड ९२ लाख १७ हजार रुपैयाको बजेट ल्याएको छ । बिहीबारको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाले सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् । गाउँपालिकाले आर्थिक विकासको क्षेत्रमा १० करोड ६० लाख विनियोजन गरेको छ भने पूर्वाधार विकास क्षेत्रतर्फ यातायात पूर्वाधारमा १४ करोड ६२ लाख, ९० हजार, भवन, आवास तथा सहरी विकासमा ८८ लाख ५० हजार, ऊर्जामा ३५ लाख ६८ हजार, सूचना तथा सञ्चारमा ८ लाख १८ हजार, विज्ञान तथा प्रविधिमा १० लाख ९५ हजार छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्