नयाँ हवाई रुट खोल्न प्रधानमन्त्रीकै अग्रसरता «

नयाँ हवाई रुट खोल्न प्रधानमन्त्रीकै अग्रसरता

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने विषयमा दुवै पक्षबीच पुनः छलफल सुरु भएको छ । गत असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता भाँडिएपछि प्रधानमन्त्री स्तरबाटै छलफल सुरु भएको हो ।
वार्ता भाँडिएसंगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्रीस्तरबाटै पुनः पहल सुरु भएको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार विगतमा भएको छलफल सैद्धान्तिक सहमतिकै आधारमा अगाडि बढ्नेगरी छलफल सुरु भएको छ । “अहिले प्रधानमन्त्रीस्तरबाट र मन्त्रीस्तर दुवैबाट पहल सुरु भएको छ,” मन्त्री अधिकारीले भने । भारत पक्षले प्राविधिकस्तरको वार्तामा अहिले रुट दिन नसक्ने जनाउ दिँदै नेपाली पक्षलाई फिर्ता गरेको थियो ।
वार्ता असफल भएको तीन महिनापछि पुनः हवाई रुट खोल्ने विषयमा परराष्ट्र, तालुक मन्त्रालय र प्रधानमन्त्रीस्तरबाट छलफल सुरु भएको मन्त्री अधिकारीले कारोबारलाई जानकारी दिए । उच्चस्तरको छलफलबाट हवाई रुटको विषय टुंग्याउन लागि रहेको समेत मन्त्री अधिकारीले बताए ।
नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै ६ वर्ष भइसकेको छ । दुई वर्षअघि नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमतिसमेत भएको थियो । तर, हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन । कार्यान्वयन गर्ने अन्तिम प्राविधिक वार्ता भाँडिएपछि नयाँ रुट खुल्ने विषय पुनः टर्दै आएको छ ।
भारतले तत्कालको लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत असोजमा भएको वार्तामा कुनै पनि रुट नदिने भारतीय पक्षले जानकारी गराएको थियो । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको अवसरमा नयाँ हवाई रुट दिने बताएका थिए । उक्त समयमा ६ महिनामा टुंग्याउने बताएको भए पनि हालसम्म कार्यान्वयनमा भने आउन सकेको छैन । गत भदौमा नेपालमा सम्पन्न भएको बिमस्टेक सम्मेलनमा समेत प्रधानमन्त्री मोदीले नयाँ हवाई रुट दिने जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा समेत उक्त विषयले प्रवेश पाएको थियो । सम्मेलन लगत्यै भएको प्राविधिक वार्ता भने भाँडिएको थियो ।
नेपालले भारतसँग जनकपुर, महेन्द्रनगर, नेपालगन्ज र भैरहवाको हवाई रुट माग्दै आएको छ । जनकपुर र नेपालगन्जको दिन भारत तयार भए पनि भैहरवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ । पछि भएका वार्तामा सुरक्षाको कारण देखाउँदै नेपालगन्ज र जनकपुर रुटसमेत दिन नसक्ने जानकारी भारतीय पक्षले दिएका थिए ।
नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाटमात्रै हवाई रुट खुला छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमति समेत कार्यान्वयनमा आएको छैन ।
भारतले ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ । तर, म्यानमार र भुटानको समेत सहमति आवश्यक पर्ने भएकोले उक्त रुट खुल्ने विषयमा समेत कुनै पनि विषय अगाडि बढेको छैन । काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो । त्यस्तैगरी ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बी–३४५) रहेको छ भने काठमाडौं–जलेश्वर–पटना (जी–३३५) रुट रहेको छ ।
भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को जुन भित्र सञ्चालनमा आउँदै छ । सन् २०२० मात्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । दुई विमानस्थल सञ्चालनका लागि पनि नेपालगन्ज रुट अनिवार्य छ । एउटामात्रै सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हुँदै आएको छ ।
भैरहवा विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतबीच हुनुपर्ने अत्यावश्यक सम्झौता खुलला आकाश सम्झौता अर्थात एयर स्पेस एग्रिमेन्ट (एएसए) को विषयमा छलफलनै हुन सकेको छैन । उक्त सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान÷अवतरणको गर्न नपाउने निश्चत छ । सम्भौता नभए भैरहवाले विमानस्थलले बिजनेस पाउने छैनन् । सीमनाबाट अत्यन्तै नजिक रहेको भैरहवा विमानस्थलमा एएसए सम्झौता नभएमा प्रत्येक उडानको स्विकृत भारत सरकारले दिनुपर्ने अवस्था छ । नेपाल र भारत सिमाको अत्यन्त नजिकै रहेको विमानस्थलमा प्रत्येक उडानमा जहाजले सीमा वारपार गर्नुपर्ने हुन्छ ।
सम्झौताले मुख्यगरी जहाजको उडान÷अवतरणमा ओभरसुट, आकासमा होल्ड गर्दा तथा नजिकको विमानस्थल प्रयोग गर्दा सजिलो हुनेछ । उक्त सम्झौता नभएमा बोर्डरक्रस गर्नेवित्तिकै स्वीकृत लिनुपर्ने हुन्छ । तर, सम्झौता भएमा केही पनि स्वीकृत लिनु पर्दैन । प्रत्येक बोर्डरक्रसको रकम एयरलाइन्स कम्पनीले तिर्नुपर्ने भएका एयरलाइन्स कम्पनीहरू पनि भैरहवा विमानस्थलमा उडान गर्नजाने छैनन् ।

प्रतिक्रिया दिनुहोस्