चितवनका दूध किसानलाई ११ करोडको नोक्सानी «

चितवनका दूध किसानलाई ११ करोडको नोक्सानी

दुग्ध सहकारीमार्फत दूध बिक्री गर्ने चितवनका किसान मारमा परेका छन् । डेरी उद्योगले मोलमोलाई गर्न थालेपछि किसानहरु सस्तोमै दूध बेच्नुपर्ने बाध्यतामा पुगेका हुन् । डेरी उद्योगले मिल्क होलिडे गर्न थालेपछि किसानले नियमित दूध बेच्न पाएका छैनन् । भरतपुर–६ इन्द्रपुरीका किसान विष्णु अधिकारी १० वर्षदेखि पशुपालनमा छन् ।
अधिकारी गाई फर्ममा २१ वटा दुहुनासहित ४६ वटा गाई छन् । “दूधको मूल्य घटाउन दुग्ध सहकारीलाई उद्योगहरुले चर्को दबाब दिएका छन्”, उनी भन्छन्, “सस्तोमै दूध बेच्नुपर्ने बाध्यतामा किसान छन् ।” ३० देखि ४० रुपैयाँमा दूध खरिद गर्न पाएमात्रै संकलनमा आउने उनीहरुले दुग्ध सहकारीलाई जानकारी दिन थालेका छन् ।
डेरी उद्योगले पाउडर दूध खपत गराउन दुग्ध सहकारीबाट दूध आंशिकरुपमा मात्र संकलनको नीति लिएका हुन् । बाहिरी जिल्लाका दुई दर्जन भन्दाबढी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्ने गर्छन् । तर, लकडाउनमा बजार व्यवसाय ठप्प भएको बताउँदै उनीहरुले दूध खरिदमा कटौती गरेका छन् ।
नजिकैका डेरी पसलले पनि खपत नहुने बताउँदै सस्तोमा दूध लिने गर्छन् । चितवनमा ३ सय ५० हाराहारीका डेरी पसल छन् ।
भरतपुर–८ गौरीगञ्जमा आदर्श पशुपालन फर्ममा १ सय ५ गाई पाल्दै आएका शिवलाल कँडेल दूधको मूल्यमा कटौती गर्दा किसान मारमा पर्ने बताउँछन् । “दाना चोक्कर पनि खरिद गर्न पनि नपुग्ने पैसा लिएर के गर्नु”, उनी भन्छन्, “सरकारले तोकेको न्यूनतम मूल्य किसानले पाउनुपर्छ ।” चितवनमा १ सय १० दुग्ध सहकारीमा ६० हजार किसान आवद्ध छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले लकडाउनको ४५ दिनमा ११ करोड बढी नोक्सानी भएको जनाएको छ । ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ नोक्सानी भएको हो । संकलन केन्द्रमा दैनिक संकलन हुने परिमाण, बन्द भएको दिनलाई प्रतिलिटर ५३ रुपैयाँको दरले गणना गरी नोक्सान विवरण निकालिएको हो ।
संघका सचिव किशोर बगालेका अनुसार ४५ दिनको अवधिमा २० लाख ९० हजार २ सय १४ लिटर दूध सहकारीले खरिद गर्न सकेनन् । “१० देखि ३७ दिनसम्म संकलन केन्द्र बन्द हुन पुगे”, उनी भन्छन्, “डेरी उद्योग र डीडीसीले नियमित खरिद नगरेपछि समस्यामा छौं ।” चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुने गर्छ । जसमध्ये चितवनका दुग्ध सहकारीले दैनिक १ लाख ७३ हजार लिटर दूध सहकारी मार्फत संकलन हुन्थ्यो ।
“महंगोमा खरिद गरेर पछि सस्तोमा पाउडर दूध बेच्न सक्दैनौं, केही दिन मिल्क होलिडे गरौं भनेर डेरी उद्योग लाग्छन्”, उनी भन्छन्, “फाल्नुपर्ने वा सस्तैमा भएपनि बेच्नुपर्ने बाध्यतामा किसान छन् ।” केही विचौलियाले निकै कम मूल्यमा दूध खरिद गरेर दोब्बर मूल्यमा बेच्ने अभियानै चलाएका छन् । “राज्यले निगरानी गर्नुपर्छ, घाटा खाएरै बेच्न तयार छौं”, उनी भन्छन्, “गाईपाल्ने पैसामात्रै पाएपनि सबैलाई दूध खुवाउने योजना सरकारका संयन्त्रले गर्नुपर्छ, विचौलिया रोक्नुपर्छ ।”
संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले कोल्ड स्टोर नहुँदा दूध भण्डारण गर्न नसकिएको बताए । “मख्खन बनाएपनि भाडा तिरेर काठमाडौंतिर भण्डारण गर्नुपर्छ”, उनले भने, “दूधको विविधिकरण गर्न सबै सहकारी सक्षम छैनन्, भण्डारण गर्ने क्षमता पनि छैन ।” उनी आवद्ध गंगानगर दुग्ध सहकारीमा म्याद सकिने अवस्थामा पाउडर दूध र मखन मौज्जात छ । “दूध खरिद गर्छौं, दूधजन्य परिकार पनि केही लैजानु भन्नुपर्ने अवस्था छ”, उनले भने, “डेरी उद्योग नियमित नआउँदा दूध संकलन पनि कम गर्नुपरेको छ ।” उनले लकडाउन केही खुकुलो पारिएपनि नियमित दूध संकलन गर्न सहकारीहरुलाई समस्या भएको बताए ।
“विचौलियाहरुले ४० मा खरिद गरेर ८० रुपैयाँमा बेचेका छन्”, उनले भने, “किसान र उपभोक्ता दुबै मारमा छन्, राज्यले हेरोस् ।” संघले दैनिक करिब २८ हजार लिटर दूध निकै कम मूल्यमा विचौलियाहरुले खरिद गर्दै आएको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्