श्वेताको माझी बस्ती सवा करोड ऋणमा «

श्वेताको माझी बस्ती सवा करोड ऋणमा

धकेलियो नयाँ घरमा सर्ने माझीको सपना

सिन्धुपाल्चोक-सरकारी अनुदान समयमै नपाएपछि अभिनेत्री श्वेता खड्काको अगुवाइमा निर्माण भइरहेको एकीकृत माझी बस्ती ऋणमा डुबेको छ । बस्ती निर्माण रोकिएपछि आफ्नै घर धितो राखेर कामलाई तीव्रता दिए पनि निर्माण सामग्रीको पैसासमेत तिर्न नपाएपछि बस्ती ऋणमा डुबेको हो ।
श्वेताले आवास निर्माणका लागि घर धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएकी थिइन् । भूकम्पपीडितले पाउने सहुलियत ऋण नपाएपछि सामग्री खरिदको ८२ लाख रुपैयाँ तिर्न बाँकी छ । श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको यो बस्ती फाउण्डेसनको लगानीबाहेक नै १ करोड १२ लाख रुपैयाँ हाराहारी ऋणमा परेको हो ।
सहुलियत ऋणकै भरमा बनिरहेको एकीकृत बस्ती नेपाल राष्ट्र बैकले नीति परिर्वतन गरेलगत्तै रोकिने अवस्थामासमेत पुगेको छ । चौतारा सा“गाचोकगढी नगरपालिकास्थित झ्याडीगाउ“मा निर्माणाधिन एकीकृत माझी बस्ती आर्थिक समस्यामा परेको फाउण्डेसनले जनाएको छ । “आवास बनाइसकेका भूकम्पपीडितले सहुलियत ऋण नपाउने सरकारी नीतिले निकै समस्या परिरहेको छ,” फाउण्डेसनकी अध्यक्षसमेत रहेकी अभिनेत्री खड्काले भनिन्, “सहुलियत ऋणको नपाइने भएपछि बस्ती निर्माण कसरी सम्पन्न गर्ने भन्ने अन्यौलमा छौं ।” फाउण्डेसन भूकम्पपीडितले पाउने अनुदानसहित सहुलियत ऋणमा पैसा लिएर बस्ती बनाउने अभिायनमा थियो । ऋण लिने प्रक्रिया लामो र झण्झटिलो भएकाले फाउण्डेसनले समयमै ऋण लिन नपाएकाले अहिले यो अवस्था आएको हो । यो बस्ती निर्माणका लागि लक्ष्मी बैंकसँग ऋण लिनका लागि कागजपत्र तयार भइसकेको थियो । फाउण्डेसनको अगुवाईमा झ्याडी टोल सुधार समितिले एकीकृत बस्ती निर्माण गरिरहेको छ ।
बस्ती निर्माणलाई तीव्रता दिनका लागि ढुवानी गर्न सडक क्षतिग्रस्त भएकाले कठिनाई भइरहेको थियो । समयमै सरकारी अनुदानसमेत पाउन नसकेपछि फाउण्डेसनले पाएको सहयोग र थप ऋण गरेर बस्ती निर्माणमा जोड दिए पनि अहिले पछिल्लो समयमा आएर ऋण नपाउने भएपछि थप समस्या आइपरेको हो । सहुलियत ऋणको प्रक्रिया भइरहँदा बीचैमा केही घर निर्माण सम्पन्न भएपछि ऋण अहिले नपाउने नियमले सिंगो बस्ती ठड्याउन अन्योलता भएको अभिनेत्री श्वेता बताउँछिन् ।
निर्माणाधीन ५६ घरमध्ये पाँच वटाको गाह्रो र ६ घरको छाना छाउने काम अन्तिम चरणमा पुगेको छ । “सबै प्रक्रिया सकिनै लागेको थियो, अहिले सरकारी निर्णयले थप समस्या उत्पन्न गरायो,” फाउण्डेसनका सचिव यज्ञराज कार्कीले भने, “आश्वासन दिएका सहयोगी संस्था तथा व्यक्तिहरूले मध्ये केहीले सहयोग गर्नुभएको छैन ।” उनले प्रतिबद्धता जनाएका संस्था तथा ब्यक्तिहरूले सहयोग गरेको खण्डमा केही कामलाई तीव्रता दिन सक्ने बताए । बस्तीमा बन्ने सबै घरको पहिलो किस्ता लिएर काम थालिएको बस्तीको कार्यमा सिन्धु क्रियटिभ प्राइभेट लिमिटेडले १२ वटा डीपीसी बनाएको थियो । क्रियटिभले कामलाई गति नदिएपछि झ्याडी टोल सुधार समितिले स्थानीयको श्रमदानलगायत सहयोग गरेर बस्ती निर्माण गरिरहेको समितिका अध्यक्ष दिनेश माझीले बताए ।
फाउण्डेसनले बस्तीमा भौतिक पूर्वाधारको सम्झौता गरेको थियो । सबै आवास बनिसकेपछि बायोग्यास, सामुदायिक भवन, खुल्लामंञ्च, पानीको फोहोरालगायतमा एक करोड ४० लाखको रुपैयाँमा श्वेताश्री फाउण्डेसनले सम्झौता गरेको छ । अहिले सहुलियत ऋण रोकिँदा जम्मा भएको रकम सबै बस्तीमा खर्चिएको छ । “पैसा अभावकै कारण काम रोकिने अवस्थामा पुगेपछि माझी समुदायको नयाँ घरमा बस्ने सपना धकेलिएको छ,” समितिका अध्यक्ष दिनेशले भने ।
सरकारी निकाय, निजी क्षेत्र र लाभान्वित वर्ग बिचको साझेदारीको नमूना यो परियोजना हो । “बस्तीमा एकै आकारका, एकै रगंका, सुन्दर तथा आकर्षक घरहरू गरिने परिकल्पना छ,” सचिव यज्ञराजले भने, “बिजुलीबत्ती, खानेपानी, सामुदायिक भवनहरू निर्माण गरी हरियाली नमूना गाउँको निर्माण गरी पर्यटन प्रवद्र्धनका लागि आकर्षक पूर्वाधारसमेत बनाई होमस्टे राख्ने अभियानमा छौं ।” सहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकीकृत बस्ती बनाउन अनुमति दिएपछि यो अभियान सुरु गरिएको हो । बस्तीमा २८ रोपनी जग्गा ओगट्ने त्यसमध्ये २० रोपनीमा आवास निर्माण भइरहेको छ ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्