चक्रपथ निर्माण अझै अपुरो «

चक्रपथ निर्माण अझै अपुरो


करिब १३ वर्ष अघिदेखि सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारलाई व्यवस्थित सहरीकरण गर्ने योजना अनुरुप सुरु गरिएको रिङरोड निर्माण अझै अपूरो छ । साँघुरो चौतारा बजारलाई घेर्ने गरी निर्माण थालिएको रिङरोडले अझै पूर्णता नपाएको हो ।
स्थानीय तहले मात्रै नभई बजारबासीले समेत चासो नदेखाएका कारण रिङरोड सुचारु नभएपछि बजार अस्तव्यस्त हुने गरेको छ । जसकारण बजारको सौन्दर्य विलिन हुनुका साथै व्यापारमासमेत बाधा पुगेको छ ।
साँघुरो बजार क्षेत्र रहेको सदरमुकाम चौतारा बजारलाई व्यवस्थित गर्नका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर सहरीकरण गर्ने महत्वकांक्षासहित सुरु गरिएको थियो । दशक अघिदेखि निर्माण सुरु गरिएको रिङरोडले पूर्णता नपाउँदा बजार क्षेत्रमा सवारी जाम हुने समस्या अहिले विकराल बनेको छ । साँघुरो चौताराको भविष्य सुनिश्चित गर्न सडक विस्तार आवश्यकता महसुस गरेर सुरु गरिएको योजना स्थानीयको बेवास्ताका कारणसमेत अलपत्र परेको हो ।
बजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्ने महत्वकांक्षी योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा खर्च भएको रकम बालुवामा पानी सावित भएको छ । बजारको साँघुरो सडकको विकल्प र व्यवस्थित बजार निर्माण गर्ने उद्देश्यसहित तत्कालीन सांसद सुभाष कर्माचार्यको पहलमा राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष २०६३÷६४ रकम विनियोजन भएपछि रिङरोड निर्माण सुरु भएको थियो । चौताराका समाजसेवी तुलसीमान श्रेष्ठको सक्रियतामा उपभोक्ता समिति निर्माण गरेर बन्न लागेको रिङरोड उनको निधनसँगै अलपत्र परेको हो । पहिलो पटक केन्द्रीय योजनाबाट बजेट परेपछि केही वर्षसम्म त्यसले निरन्तरता पाएको थियो । पछि स्थानीय तहको संरचना आएपछि पनि केही बजेट यो रिङरोडका लागि विनियोजन गरिए पनि त्यसले अझै पूर्णता पाएको छैन । रिङरोडको सिंगो ट्रयाक खुले पनि सवारी आवागमन सुचारु नहुँदा सदरमुकाम चौतारा बजार अस्तव्यस्त हुने गरेको छ । साँघुरो बजारमा सवारी जाम हुँदासास्ती भोग्नुपरेको स्थानीय राम सापकोटा बताउँछन् । “बजार साँघुरो हुँदा सवारी जाम हुने र दुर्घटनासमेत हुनेगरेको छ,” उनले भने, “बजारलाई एकतर्फी गरेर चक्रपथ सञ्चालनमा ल्याउनु अहिलेको आवश्यकता हो ।”
सुरुमा लक्ष्यअनुरुप काम सुरु भएको भए पनि स्थानीय असहमतिले एक वर्षको एक लाख ५० हजार रुपैयाँ बजेटसमेत फ्रिज भएको थियो । उक्त बजेट सम्झौता नै नभएपछि फेरि यो योजनामा बजेट विनियोजन हुन सकेन । तर, स्थानीय तह आएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले सडक स्तरोन्नतिका लागि पहिलो वर्ष ५ लाख रुपैयाँ छुट्याएको थियो । सो रकमले रिङरोडको ट्रयाक जोडिएको हो । ट्रयाक जोडिए पनि सवारी साधन नचल्दा बजार अस्तव्यस्त बनेको हो । जथाभावी पार्किङ, सवारी जामले चौतारा बजारको सुन्दरता समेत गुमेको स्थानीय सुवास गौतमको भनाइ छ । उनले रिङरोड तत्काल सुचारु गरी बजारलाई एकतर्फी मात्रै प्रयोग गरेमा समस्याले समाधान उन्मुख हुने बताए ।
२०६८ सालमा भएको सिन्धुपाल्चोक महोत्सवका बेला बसपार्कबाट घले गाउँ हुँदै साविक जिविस निस्कने सडक मर्मत गरी सुचारु गराइएको थियो । भुइँचालो पछि केही समय रिङरोडका केही भागमा मोटर नगुडेको भने हैन । तर, त्यसले पनि स्थायित्व पाउन सकेन । रिङरोडका केही भाग कालोपत्रे भएको छ । तर अधिकांश सडक जीर्ण भएकाले समस्या उत्पन्न भएको हो । यो रिङरोड निर्माण प्रक्रिया प्राविधिक स्टेमेट गरी तत्काल स्तरोन्नति गरि सडक सूचारु गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका इन्जिनियर बद्रीनारायण भुजेल बताउँछन् । चौताराको भविश्य सुनिश्चित गर्न सडक विस्तारको आवश्यकता भएकाले यसलाई रिङरोडले परिपूर्ति गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्