‘वीरगंज महानगरपालिकाको १४ मुख्य कार्यक्रम’ «

‘वीरगंज महानगरपालिकाको १४ मुख्य कार्यक्रम’


वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १४ वटा मुख्य कार्यक्रमहरु ल्याएको छ ।
असार १० गते प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा महानगरपालिकाले आगामी आर्थिक वर्षमा गरिने १४ मुख्य कार्यक्रमहरु सार्वजनिक गरेको छ । महानगरपालिकाले ल्याएका १४ वटा कार्यक्रमहरुमा वीरगञ्ज ज्येष्ठ नागरिकको मनोरन्जनका लागि महानगरपालिकाको वडा नम्बर १५ मा रहेको लक्ष्मणुवा पार्कलाई महानगरपालिका संरक्षकको भूमिकामा रहने गरी ज्येष्ठ नागरिक संघ पर्साको नाममा हस्तान्तरण गर्ने जनाएको छ ।


७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकको लागि हरेक वर्ष सम्मान तथा कम्मल, छाता, टचलाइट लगायतका आवश्यक सामग्री दिने वीरगञ्जको वडा नं. ४ मा रहेको बाल उद्यानमा वीरगञ्ज महानगरपालिका र लायन्स क्लवको साझेदारीमा १ करोड ६० लाखको लागतमा खुल्ला जिम बनाइने र मधुमेह तथा उच्च रक्तचापको समस्या भएका विरामीहरुका लागि उपयुक्त प्रभातीय भ्रमणका लागि उपयुक्त स्थान बनाउने योजना बनाएको छ ।


त्यस्तै वडा नं. ११ मा रहेको श्रीपुर माध्यामिक विद्यालयमा लायन्स क्लवको साझेदारीमा १ करोड ६० लाखको लागतमा करिब एक हजार मानिस बस्न सक्ने क्षमताको अडिटोरीयम हल निर्माण गरिने, वडा नं. १५ लक्ष्मणवामा मानव सेवा आश्रम भवन निर्माणका लागि १८ कठ्ठा जमिन र उक्त जमिनमा भवन बनाउन पहिलो वर्षका लागि ५० लाख रुपैयाँ दिइने घोषणा गरेको छ ।


वडा नं. ३ मा मालपोत चोक स्थित मेनरोडमा रहेको करिव ६ कठ्ठा जमिन रक्त सञ्चार केन्द्रको भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय भएको र रक्त सञ्चार केन्द्रको भवन निर्माणका लागि २५ लाख रुपैयाँ समेत उपलब्ध गराउने निर्णय गरिएको छ ।
वीरगञ्ज महानगरपालिका भित्र रहेका करिव ९ हजार बालबालिकालाई सर्वोत्तम पिठो वितरण गर्ने कार्यक्रम, करिब ४ हजार गर्भवती महिलाहरुका लागि पोषिलो खानेकुरा उपलब्ध गराइने, गरिव, दलित तथा निम्न समुदायका नागरिकको घरमा एक हजार थान चापाकल जडान गरी शुद्ध खानेपानी उपलब्ध गराइने बजेटमा समावेश गरिएको छ ।


महानगरपालिका भित्र बसोबास गर्ने मानिसहरुको निःशुल्क आँखा परीक्षण गरी करिव ५ हजार व्यक्तिको मोतियाविन्दुको अपरेशन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि पनि करिव ५ हजार व्यक्तिको आँखा परीक्षण सम्पन्न गरिएको महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताए ।
महानगरपालिकाका वडा नं. २७, २८, २९, ३० र ३१ मा वर्षेनी नदी कटान हुँदा खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको र आवासीय क्षेत्रमा समेत डुवानका कारण घरहरु विस्थापित हुनुपर्ने अवस्थालाई अन्त्य गर्न १० करोड ३८ लाखको लागतमा भेडाहा खोला नियन्त्रणका लागि तटबन्धनको कार्य गरिने प्रमुख सरावगीले बताए ।


वीरगञ्ज भन्सारको प्रवेशद्वारमा आगामी आर्थिक वर्षको साउन महिनादेखि डाक्टर सहितको स्वास्थ्यकर्मीको टिम राखेर उपचार र स्वास्थ्य परीक्षण गरिने र उक्त स्थानमा अस्पताल समेत निर्माण गरिने भएको छ । शंकराचार्य गेट, घण्टाघर र घडिअर्वा पोखरीको म्यूजिकल फाउन्टेनको सौन्दर्यकरण र मर्मत गरिने तथा महानगरपालिका कार्यालयको पुरानो भवन भत्काएर अत्याधुनिक अपाङ मैत्री भवन निर्माण गरिने समेत बजेटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्