मनसुनजन्य विपत्तिबाट एक महिनामा २५ को मृत्यु «

मनसुनजन्य विपत्तिबाट एक महिनामा २५ को मृत्यु


एक महिनायता मनसुनजन्य विपत्तिबाट २५ जनाले ज्यान गुमाउनु परेको छ । मनसुनको सुरुवातदेखि नै मुलुकभर गएको बाढी पहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण २५ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढीबाट १३, पहिरोबाट १२ जनाको मृत्यु भएको छ । बाढीबाट ८४ परिवार र पहिरोबाट ५७ परिवार, बाढी र वर्षाका कारण ५९ परिवार विस्थापित हुनुपरेको छ । बाढीबाट २३ र पहिरोबाट १ जना बेपत्ता भएका छन् । बाढीका कारण ६ जना र पहिरोका कारण १३ जना घाइते भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो वर्ष छिटो मनसुन सक्रिय भएको र औषतभन्दा बढी वर्षा हुनेछ । मौसमविद्का अनुसार, मनसुन सक्रिय भएको साता दिनदेखि नै बाढी तथा पहिरोका घटना बढ्न थालेको र अझै बढ्न सक्ने भन्दै समयमा नै आवश्यक पूर्वतयारीको थालनी गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।
राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरकणका प्रवक्ता विश्वप्रकाश अर्यालले यो वर्ष मनसुन प्रारभमा नै मनसुनजन्य विपतका घटना भएकाले सतर्कता अपाउनुपर्ने बताए । “गत वर्ष पनि ३५९ जनाको मृत्यु भएको थियो, यो वर्ष प्रारम्भमा नै घटना भएकाले सावधानी अपनाउने गर्नुपर्छ,” उनले भने, “स्थानीय तह, जिल्ला विपत व्यवस्थापन समिती, प्रदेश, विभिन्न केन्द्रका सम्बन्धित सरकारी निकायबीच समन्वय गरिरहेका छौ, प्रतिकार्यका लागि पूर्वतयारीका काम भएको छ, खुला ठाउँ पहिचान, सूचना प्रणालीलाई व्यवस्थित बनाउने काम गरिरहेका छौ ।”
पूर्वतयारीको कार्यक्रम फिालो हुँदा मनसुनजन्य विपत्तिबाट हुने क्षति बढिरहेको बताउँछन् विपत् व्यवस्थापनविद् डा. सुवोध ढकाल । “विपत्मा ३ ओटा पाटा हुन्छन् । विपत पहिलेको, भइरहेको र पछिको अवस्था हुन्छ । विपतपूर्वको अवस्थामा अध्ययन अनुसन्धान, जोखिम पहिचान, जोखिममा भएका बस्ती स्थानान्तरण गर्नुपर्ने पक्षमा हामी कमजोर देखिन्छांै,” उनले भने, “सुरुवातमै गर्नुपर्ने काम भनेको विपतको क्षति कम गर्ने हो, बाढी आउँछ , तर त्यसको क्षति कम गर्ने भनेको पूर्वतयारी हो ।”
सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की लगायतका जिल्लाका बाढी र पहिरोबाट बढि प्रभावित भएको प्राधिकरणको भनाइ छ । प्राणिकरणका अनुसार मनसुनजन्य विपत्तीबाट प्रभावितहरुको तत्काल अस्थायी बसोबासको प्रबन्ध गरि क्षति पुगेका घरहरुको पुनर्निर्माण गरिने भएको छ । केही दिनअघि तत्कालीन गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औँ बैठकले उक्त निर्णय गरेको छ । बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई प्रभावित जिल्लामा तदारुकताका साथ उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ ।
देश विभिन्न विपदसँग जुधिरहेको समयमा बैठकले मनसुनजन्य घटनालाई थप प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि बनेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ पनि परिमार्जन सहित पारित गरेको छ । प्राणिकरणका अनुसार यसैगरी अन्य ४ वटा कार्यविधिहरु पनि पारित भएका छन् । तराईका बाढीको उच्च जोखिममा रहेका जिल्लाहरुमा थप मोटरबोट र रबरबोटको व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सोमबारसम्म बढी जोखिम
सोमबारसम्म वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । शनिबारदेखि नै देशका अधिकांश स्थानमा भएको भारी वर्षा सामेबारसम्म नै रहने देखिएको हो ।
मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले शनिबार देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं. १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले बताएको छ ।
आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसैगरी सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, मेलम्चीमा फेरि बाढी आएको छ । बाढीले शनिबार बिहान एउटा घर ढालेको छ । असार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ठूलो क्षति गरेको थियो । बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्