खेलकुदलाई चलायमान बनाउनुपर्छ «

खेलकुदलाई चलायमान बनाउनुपर्छ

राष्ट्रिय खेलकुद परिषद, (राखेप), सदस्य सचिव ,रमेशकुमार सिलवाल


कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वस्थ सतर्कताको मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ । अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकुद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ्य चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलुकद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा मानसिक तनाव पनि बढ्दो क्रममा छ । यसै सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना महामारीको बहानामा खेलकुद गतिविधि रोक्नु उचित नहुने तर्क गरे । उनले स्वास्थ्य मापदण्ड पालना गरेर खेलकुदलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । प्रस्तुत छ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव सिलवालसँग गरेको कुराकानीको सार :

सरकारले अझै पनि खेलकुद क्षेत्रलाई खुला नगरेको र कोरोना महामारीबीचमा राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना गतिविधिलाई कसरी सञ्चालन गरिरहेको छ ?
खेलकुद भनेको चलायमान संस्था हो । चलायमान नै बनाउनुपर्छ । म केही दुई–चारवटा प्रतिनिधिमूलक उदाहरणहरू दिऊँ । नेपाल सरकारले जमघट हुने स्थलका रूपमा खेलकुद गतविधि, शिक्षण संस्था, सिनेमा हलजस्ता स्थललाई रोक लागाएको छ । सबैभन्दा पछि, अन्तिममा खुल्ने भनेको खेलकुद, शिक्षण संस्था, पार्टी प्यालेस आदि हुन् । सभा–समारोह बैठक आदि थिए । नेपाल सरकारसँग खेलकुदको महŒवबारे चर्चा गरिसकेका छौं । कोभिड–१९ को समयमा खेल क्षेत्र किन चलायमान हुनुपर्छ, खेलाडीहरू किन फिजिकल्ली, मेन्टल्ली फिट हुनुपर्छ । कोचहरू किन फिट हुनुपर्छ । खेलाडी र कोचलाई अभ्यास जरुरी हुन्छ । यही विषयलाई लिएर फुटबलका गतिविधि सञ्चालन ग¥यौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू सम्पन्न भयो । क्रिकेटको गतिविधि पनि सञ्चालनमा आए । भलिबलले पनि गतिविधि सञ्चालन ग¥यो । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) पनि सम्पन्न भयो । खेलाडीको हकमा फ्रेन्चाइज प्रतियोगिताले धेरै सहयोग ग¥यो । अहिले हामी खेलकुद क्षेत्र र कोभिड–१९ को दोस्रो लहरबाट बच्न सरकारले जारी गरेका मापदण्ड दुवै विषयलाई सम्बोधन गर्ने लक्ष्यमा छौं । यो बीचमा नेपाल सुपर लिग किन गराएको भन्ने प्रश्न पनि आएको थियो । हामीले उक्त प्रतियोगिताका लागि अपनाउनुपर्ने मापदण्ड अपनाउँदै बन्द रंगशालामा सम्पन्न ग¥यौं । लकडाउनका कारण घरमै बसेका दर्शकका लागि यो प्रतियोगिताले मनोरञ्जन दियो । अर्को पक्ष भनेको धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए । पारिश्रमिकको हिसाबमा पनि खेलाडी लाभान्वित भए ।
अहिले हामीले केही–केही खेललाई चलायमान गराइसकेका छौं । जस्तै ओलम्पिकमा क्वालिफाइङमा परेका खेलाडीको अभ्यास सुचारु भइसकेको छ । त्यस्तै गरी फुटबल अभ्यासलाई पनि निरन्तरता दिएका छौं । एसियन भलिबल च्याम्पियसिपमा सहभागी हुने महिला भलिबलले पनि अभ्यास थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने प्रतियोगिताहरूका लागि अभ्यास सुचारु भइसकेको छ भने अन्यको हकमा अझै केही समय पर्खिनुपर्नेछ । अझै मासमा लग्नु हतार हुन्छ । क्रमशः हामी खुला वातावरणमा अगाडि बढ्नुपर्छ । यसमा हामी संवेदनशील छौं ।

कोरोना महामारीको बीचमा क्यालेन्डरका प्रतियोगिता प्रभावित भएका छन् । ती प्रतियोगिता सञ्चालन गरिन्छ, गरिँदैन ?
खेलकुद प्रतियोगिता सञ्चाल गर्नु परिषद्को मात्र दायित्व होइन । संघहरूको मात्र दायित्व पनि होइन । नागरिकको चासोको विषय बन्नुपर्छ । तीनै तहको सरकारले खेलकुदलाई चासोका साथ हेर्नुपर्छ । आयोजक संस्थाहरूको पनि चासोको विषय बन्नुपर्छ । यो वर्ष करिब ८ देखि १० वटा खेलको फ्रेन्चाइज प्रतियोगिता हुँदैछन् । लगानीकर्ताले लगानी गर्नुको उद्देश्य आर्थिक हिसाबमा मात्र हुँदै छन् । केहीले प्रचारका लागि लगानी गरेका हुन्छन् । यस्ता प्रतियोगिता दर्शकबिना सञ्चालन गर्न सहज हुँदैन । यही अवस्थाले गर्दा केही समय ‘वेट एन्ड सी’ भन्ने अवस्थामा आयोजक बस्नुभएको छ । कोरोनाको महामारी केही मत्थर भएर सहज हुने अवस्था भयो भने महिला फुटबलको, भलिबलको, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी, क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता हुँदै छ । अहिले धैर्य गर्नुपर्छ । वर्षाद्को समय भएकाले सहज छैन । यस्ता प्रतियोगिता वर्षाद् सकिएसँगै आयोजना हुन्छन् । कभर्ड हलमा आयोजना हुने इन्डोर खेलका केही प्रतियोगिता छन् । यस्ताका लागि पनि दर्शक चाहिन्छ नै । अहिले मेची–महाकाली स्तरमा प्रतियोगिता सञ्चालन गर्न कोभिडको महामारी छ । यद्यपि छिट्टै गतिविधि सञ्चालन गर्न हामी आतुर छौं । सहज वातावरण भए क्यालेन्डरका प्रतियोगिता सम्पन्न हुन्छन् ।

नवौं रािष्ट्रय खेलकुद पोखरामा आयोजना हुँदै छ । छनोट प्रतियोगितादेखि अन्य भौतिक पूर्वाधार निर्माण, मिति तय गर्ने जस्ता विषयमा राखेपले के तयारी गरेको छ ?
हामीले नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने लक्ष्य राखेका छौं । अझैसम्म पनि मिति किन नतोकिएको भन्ने प्रश्न आउला । अहिले हामी देशेको परिस्थिति हेरिरहेका छौं । मंसिरमा चुनाव छ । चुनाव हुने अवस्था रह्यो भने सोहीअनुसार क्यालेन्डर बनाउनुपर्छ । कम्तीमा पनि हामीले सेलेक्सन प्रतियोगिता गर्न तीन महिना अवधि दिनुपर्छ । गरिस् भन्दा गरेँ भन्ने जस्तो बनाउनु हुँदैन । खेलाडीलाई सूचना दिनुप¥यो । स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट हुनुप¥यो । यो बीचमा पर्याप्त समय दिनुपर्छ, जसले गर्दा राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा प्रतिस्पर्धात्मक बन्छ । प्रशिक्षकलाई पनि समय चाहिन्छ ।
हाम्रो सोच फागुनमा गर्ने छ । त्यसका लागि अवस्था नियाल्नुपर्नेछ । फागुनमा गर्ने विषयमा कोभिड महामारीको विषय छ । कोभिडका कारण अघिल्लो साल हुन सकेन । अझै यो वर्ष राष्ट्रिय चुनाव घोषणा भएको छ । सर्वोच्च अदालतमा मुद्दा पनि छ । स्थानीय चुनाव पनि यसै वर्ष छ । स्थानीय चुनावको मितिसँग पनि हामीले राष्ट्रिय खेलकुदको मिति जुधाउनु हुँदैन । यी दुवै पक्षलाई दृष्टिगत गर्दै अगाडि बढाउने सोचमा छौं ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट केही बढेर आएको छ । पर्याप्त हुन्छ ?
बजेटको विषयमा मेरो प्रस्ट धारणा छ । जोजो विकसित राष्ट्रहरूले खेलकुदमा प्रगति गरे त्यहाँ राज्य, निजीक्षेत्र र आम जनसमुदायको लगानी छ । हाम्रो बजेटलाई हेर्दा त्यस्तो स्थिति छैन । अन्य देशमा १ देखि २ प्रतिशत छुट्ट्याउने चलन छ । विगतको हेर्दा र केलाउँदा हाम्रो बजेट अपर्याप्त छ । सबै खेलकुदमा आशातित नतिजा निकाल्नका लागि छुट्ट्याइएको बजेट काफी छैन । कम्तीमा पनि १ प्रतिशत लगानी गर्नुपर्छ । १ प्रतिशत लगानी गर्न नसके हामीले राम्रो पूर्वाधार बनाउन पनि सक्दैनौं । राम्रो प्रतियोगिता आयोजना गर्न पनि सम्भव हुँदैन, राम्रो प्रशिक्षण, खेलकुदको माहोल पनि सम्भव छैन । खेलक्षेत्रमा लागेकालाई सम्मान पनि दिन सक्दैन । खेलकुद व्यावसायिक हिसाबमा अगाडि बढ्न कठिन हुन्छ । यो विषयलाई बारम्बार उठाइरहेको छु । मेरो आग्रह उहाहरूसँग यही हो ।
अहिले नेपालमा २२ वटा मन्त्रालय छन् । एउटा मन्त्रालयमा ४.५ प्रतिशत बजेट मिल्छ । हामीले ३.५ प्रतिशत काटेर १ प्रतिशत दिनुुस्, १ प्रतिशत त पाउनुपर्छ भनेर माग राखेका छौं । तर नीतिगत हिसाबमा अहिले सरकारले राम्रो गरेको छ । हामीले उठाएका कुरामा सम्बोधन गरेको छ । नीतिगत र कार्यान्वयन गर्न बजेट चाहिन्छ । बजेट अपर्याप्त छ । पञ्चवर्षीय योजनामा नेपाल सरकारले केके गर्ने तोकिदिएको छ । तोकिएको रकममध्येबाट खर्च गर्न हामीलाई १ खर्ब १२ अर्ब रुपैयाँ आवश्यक पर्छ । यो रकम योजना आयोगमा पारेको छ । तर, यो पाँच वर्षको अवधिमा हामीले प्राप्त गर्ने रकम कम हुन्छ । योजना आयोगले पेस गरेको देखाउन या कार्यान्वयन गर्नका लागि हो । देखाउन मात्र हो भने मेरो भनाइ केही छैन । यदि कार्यान्वयन गर्न हो भने यो नीति राम्रो छ । यो नीतिलाई कार्यान्वयन गर्न बजेट पर्याप्त हुनुपर्छ । बजेटचाहिँ १० प्रतिशत उपलब्ध गराइन्छ अनि नतिजा शतप्रतिशत खोजिन्छ भने त्यो सम्भव छैन । यदि सकिँदैन भने हामी खोज्छौं । कम्पनीमा पनि राज्यको लगानी राम्रो हुनुपर्छ । लगानीबिना प्रतिफल सम्भव छैन । पोहोरको भन्दा केही बढेको अवश्य हो । हामीले गरेका काममा सरकारले बजेट रोकेको छैन । थप कार्यक्रममा भए थप बजेट उपलब्ध गराएर पनि प्रतियोगिता भएका छन् । १३ औं सागको आयोजना गर्दा अर्थमन्त्रालयबाट नै बजेट छुट्टिएको थियो । अहिले पनि नवौं राष्ट्रिय खेलकुदका लागि छुट्ट्याइएको बजेट अपुग छ । आवश्यक परे बजेट निकास गर्छौं भनेर सरकारले आश्वासन दिएको छ । १४औं साग अनिश्चित छ । १४औं सागको मिति आइसक्यो । पाकिस्तानमा हुने भनेको हो, तर पाकिस्तानबाट आधिकारिक निमन्त्रणा अहिलेसम्म आएको छैन । यस्ता कार्यक्रममा बजेट उपलब्ध गराउँछौ भन्ने आवश्वान पाएका छौं । मेरो विचारमा बजेट नपाइएला भन्ने चिन्ता हुँदैन कि ?

कोरोना महामारी अझै सकिएको छैन । कार्यभार सम्हालेको पनि झन्डै १ वर्ष हुन लाग्यो, खेलकुद गतिविधि अगाडि बढाउन तपाईंको कस्तो योजना थियो ? कार्यप्रगतिबाट सन्तुष्ट हुनुहुन्छ ?
यसअघि पनि भनिसकेँ मैले । हामीले दुवै पक्षलाई ध्यान दिनुपर्छ । सरकारले भनेको निर्देशनलाई पालना गर्नुपर्छ । नगर भनेको गर्नु हुँदै छ । महामारीको समयमा हामीले सीमित प्रतियोगितालाई अनुमति दिएका छौं, त्यो पनि दर्शकबिना । सबै जिल्लामा जिल्लाअनुसारको लकडाउनको अवस्था छ । खेलकुद परिषद्ले सबै जिल्लामा, प्रदेशमा सर्कुलर गरेर लकडाउनको प्रकृति हेरेर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न समन्वय गरेर अनुमति दिन भनेका छौं । उपलब्ध स्रोत र साधनको प्रयोग गरेर अभ्यासलाई निरन्तरता दिन भनेका छौं । जुमबाट पनि अभ्यास दिलाएका छौं । तर, यो भौतिक रूपमा उपस्थित भएर गरेजस्तो प्रभावकारी भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्