बर्खायाममा सडकको दुर्दशा «

बर्खायाममा सडकको दुर्दशा

देशभर विभिन्न ठाउँमा अविरल वर्षा भइराखेको छ । विगतको वर्षभन्दा यस वर्ष वर्षा बढी हुने भनेर मौसमविद्हरूले जनाइसकेका छन् । यसरी भइराखेको वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, तटीय क्षेत्रमा कटान र डुबानजस्ता समस्याहरूले बितण्डा मच्चाइराखेको छ । कैयौं मानिसले ज्यान गुमाएका छन्, धनजनको क्षतिका साथसाथै कैयौं मानिस बेपत्ता भएका छन् ।
त्यस्तै वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो गएका कारण सडकमार्ग अवरुद्ध भएका छन् । त्यसमाथि हाम्रो देशको विकासका बारेमा के कुरा गर्नु र ! देशको राजधानीजस्तो ठाउँमा समेत बर्खायाममा सडकको साइड–साइडमा तथा जताततै भएको खाल्डाखुल्डीका कारण दिनहुँ आवतजावत गर्नमा मुस्किल भइराखेको छ । जबजब चुनाव आउँछ र बजेट भाषण हुन्छ, तबतब विकासको लागि बजेट छुट्ट्याइन्छ र भोट माग्न आउँदा सडक, पानी र बत्तीजस्ता अत्यावश्यक सेवासुविधालाई विशेष प्राथमिकता दिनेछौं भनेर प्रण गरिन्छ । तर, जब चुनाव र बजेट भाषण सकिन्छ त्यसपछि सबथोक पहिलेको जस्तै अवस्थामा आउँछ । देश विकास गर्ने शैली यस्तो भएका कारणले बर्खायाममा देशका जनताले पीडा तथा दुःख झेल्नुपरिराखेको छ ।
प्रत्येक वर्ष जनताले अब त केही राम्रो र केही नयाँ होला कि भनेर आस गर्ने गर्छन्, तर हामी जनताका लागि ‘जति जोगी आए पनि कान नै चिरेका’ भन्ने उखानझैँ हुन्छ । भूकम्प, बाढी, पहिरो र कोरोना नै आउँदा पनि अत्यधिक मर्ने र दुःख खेप्नुपर्ने भनेको जनताले नै हो । ठूला–ठूला पदका मानिसहरूलाई के नै छ र विपत्तिको घडीमा आफू ओझेलमा बसेर परबाट बसी जनताको पीडा हेरेर बिचरा भने भइहाल्यो, झूटो आश्वासन दिए भइहाल्यो । बिजोग त यहाँ दिनहुँ ज्याला–मजदुरी गरेर आफ्नो परिवार पाल्ने मानिसहरूलाई छ । अविरल वर्षाका कारण घरबाट निस्कन पाएका छैनन् । घरबाट निस्कनासाथ जताततै हिलोमैलो मात्र छ । दिनहुँ अफिस जाने क्रममा समेत सडकमा पानी जमेका कारण पैदल हिँड्ने मानिसहरूले कति समस्या खेप्नुपरिराखेको छ ।
आफ्नो कपडा तथा जुत्ता खराब हुनुको पीडा त छँदै छ, त्यसका साथै कहिलेकाहीं उक्त हिलोमा चिप्लिनुले दुर्घटनासमेत निम्त्याउँछ । झनै अफिसमा समयमा नपुगेर हाकिमको गाली खाने पीडा अलग नै छ । र, जताततै पानी जमेका कारण कतिपय ठाउँहरूमा गाडीहरू तथा सवारी साधन उक्त खाल्डोमा फसेको स्वयम् हामी आफंैले देखेका छौं । अचम्म तब लाग्छ, भर्खरै नयाँ निर्मित रोडमा पानी जम्नुमा दोष कसलाई दिने ? उक्त रोड बनाउने तथा सुपरिवेक्षण गर्ने इन्जिनियर, ठेकेदार या सरकारलाई ? सबैलाई काम छिटो अनि कम दाममा सकाउन हतार हुन्छ, चाहे त्यसको परिणाम जेसुकै होस् । जसरी होस्, उक्त कामबाट आफूलाई फाइदा होस् तर त्यसको बदलामा देशका जनतालाई जतिसुकै मर्का परे पनि यहाँ कसैलाई फरक पर्दैन । त्यसमाथि ‘सरकारी काम कहिले जाला घाम’ भनेझैँ तीन वर्षको प्रोजेक्ट सकाउन यहाँ पाँच वर्ष लाग्छ । दिन–प्रतिदिन नयाँ–नयाँ प्रविधि तथा उपकरणहरूको विकास भइराखेको छ । सही ढंगले मानव संसाधनको व्यवस्थापन गर्ने हो भने धेरै समस्याहरूको समाधान हुन्थ्यो होला । अनि यहाँको काम गर्ने शैलीको झनै के कुरा गर्नु र ! जब सडक पिच गरिन्छ, त्यसको केही समयपश्चात् कि त ढल खन्न थालिन्छ कि त खानेपानीको पाइप बिछ्याउन थालिन्छ । यस्तो प्रवृत्तिका कारणले गर्दा पनि सधैंभरि बर्खायाममा जनताले दुःख खेप्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्