सडक महोत्सवमा होटलको काेठा भाडा बढ्ने «

सडक महोत्सवमा होटलको काेठा भाडा बढ्ने

पोखरा-अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने पोखरा सडक महोत्सवको अवसरमा ५० प्रतिशतसम्म होटलको रुममा मूल्यवृद्धि हुने भएको छ । रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा यही पुस १३ गतेदेखि पोखरामा सञ्चालन हुने २० औं संस्करणको पोखरा सडक महोत्सवकोे अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मूल्यवृद्धि हुने भएको रेवान पोखराका पूर्वअध्यक्ष एवं महोत्सवका प्रमोशनल टुर संयोजक सूर्यबहादुर भुजेलले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
उनले भने, “विदेशमा यस्ता मेला महोत्सवको अवसरमा धेरै गुणासम्म मूल्यवृद्धि हुने गरेको छ, त्यसैगरी पोखरामा पनि यसअघि धेरै नै मूल्यवृद्धि भएको थियो तर यसपालिको महोत्सवमा बढीमा ५० प्रतिशतसम्म मूल्यवृद्धि हुनेछ ।” उनले पोखराका रेस्टुराँहरूमा भने १५ प्रतिशतसम्म छुट दिने जनाए । उक्त महोत्सव सम्पन्न गर्न करिब १ करोड ३० लाख खर्च लाग्ने उनले जनाए । उक्त महोत्सवबाट करिब ३० लाख बचत गर्ने लक्ष्य राखिएको भुजेलले जनाए । पोखरामा अधिकांशको माग आतासबाजीको माग भएकोले नयाँवर्षको अवसरमा आतासबाजी हुने भएको पूर्वअध्यक्ष भुजेलले बताए ।
आन्तरिक राजस्व कार्यालय प्रक्रियामा र सिस्टममा नभएको रेवान पोखराका महासचिव गणेश थापाले आरोप लगाए । उनले भने, “कर प्रणाली पारदर्शी छैन, आन्तरिक राजस्व कार्यालयको कारण धेरै सिस्टको भार हामीलाई परेको छ, ट्याक्स कार्यालयले प्रश्न माथि धेरै प्रश्न गरेपछि आफूहरूले उत्तर दिन सकेनौं, अन्ततः जरिवाना दिर्न बाध्य भएका हौं ।” आमा समूह, कलाकारसहितको समूहलाई दिने रकमबिना बिल तिर्नुपर्दा आफूहरूलाई कठिन भएको महासचिव थापाले बताए ।
पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पुस १७ गतेसम्म पोखरामा सञ्चालन हुने महोत्सवमा पोखराका विभिन्न ठाउँबाट रात्रिकालीन बस सेवाको व्यवस्था गरेको रेवान पोखराका अध्यक्ष बुधराज भुजेलले बताए ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल बनाउने उद्देश्य राखेको अध्यक्ष भुजेलले जनाए । उक्त महोत्सवले पोखरा सेरोफेरो, देश तथा विदेशका विविध सांस्कृतिको परिचय गराउँदै त्यसको संरक्षणमा उल्लेखनिय योगदान पु¥याउँदै आएको अध्यक्ष भुजेलले विश्वास लिएका छन् । महोत्सवको सुरक्षा व्यवस्थाको लागि २४ वटा नाइट भिजनसहितका सीसी क्यामराको समेत व्यवस्था गरिएको उनले जनाए ।
पोखराको सहिद चोकदेखि खहरे डिहिकोपाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा उक्त महोत्सवको रौनक हुने भएको छ । पोखराका रेस्टुराँ व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्