रेटिङ एजेन्सी स्थापनाका लागि एनआरएलाई सैद्धान्तिक सहमति «

रेटिङ एजेन्सी स्थापनाका लागि एनआरएलाई सैद्धान्तिक सहमति

 नेपाल धितोपत्र बोर्डले नेपाल रेटिङ एजेन्सी (एनआरए) स्थापनाका लागि सैद्धान्तिक अनुमति दिएको छ । बोर्डबाट कम्पनी स्थापनाको सहमति पाएपछि कम्पनीले पूर्वाधार निमार्णको काम सुरु गर्नेछ ।
दि नेपाल रेटिङ एजेन्सी कर्पोरेट संस्था तथा व्यक्तिको रेटिङ गर्ने गरी सञ्चालनमा आउन लागेको छ । अमेरिकी रेटिङ कम्पनी डन एण्ड ब्राण्डस्ट्रिट (डीएण्डबी)को सहायक कम्पनीको रूपमा स्थापना हुने नेपाल रेटिङ एजेन्सी (एनआरए)को अनुमति माग्दै केही समयअघि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
अमेरिकालगायत विश्वभर २०० देशमा क्रेडिट रेटिङ, क्रेडिट स्कोरिङ, व्यक्ति तथा संस्थाको साख मूल्यांकनको काम गर्दै आएको छ । १८० वर्ष पुरानो अमेरिकी कम्पनीले नेपालमा पनि उपस्थिती जनाउने करिब निश्चित भएको हो । डन कम्पनीसहित सम्बन्धित पक्षहरूको एनआरएमा ७० प्रतिशतसम्म सेयर स्वामित्व रहेने बताउँदै पूर्व बैंकर अनलराज भट्टराईले भने, “व्यवस्थापनसहित गरी धेरै स्वामित्व डमको हुन्छ भने २४ वटा सम्म वाणिज्य बैंकहरूको ३९ प्रतिशत स्वामित्व हुन्छ ।” डम एण्ड स्ट्रिटले प्रदान गर्ने नम्बर अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त रहेको भट्टराईले बताए । नेपाल धितोपत्र बोर्डले कम्पनी स्थापनाको अनुमतिका लागि सैद्धान्तिक सहमति दिएको उनले बताए । हाल कम्पनीसँग छलफल भइरहेको बताउँदै भट्टराईले भने, “प्यारेन्ट कम्पनीसँगको औपचारिक छलफलपछि संरचना बनाउने अन्तिम निर्णय हुन्छ ।”
बोर्डले डी एण्ड बी कम्पनी नेपाल रेटिङ एजेन्सी स्थापनाका लागि योग्य भएको अनुमति दिएको हो । बोर्डबाट सहमतिपत्र पाएको कम्पनीले रेटिङ कम्पनीको स्थापना गरी अनुमतिपत्रका लागि बोर्डमा पुनः निवेदन दिई क्रेडिट रेटिङ नियमावली अनुसार अनुमतिपत्र लिनुपर्छ । विदेशी रेटिङ कम्पनीले नेपालमा रेटिङ कम्पनी स्थापना गर्न लगानी गर्न बोर्डबाट सहमति पाएको २ वर्षभित्रमा कम्पनी स्थापना गरिसक्नु पर्छ ।
क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा रेटिङ एजेन्सीको स्थापना गर्नका लागि अनिवार्य रूपमा विदेशमा रेटिङ एजेन्सीको काम गरेको कम्पनीको २५ देखि ७५ प्रतिशतसम्म लगानी हुनुपर्ने व्यावस्था छ । नियमावलीमा एजेन्सी स्थापना गर्नका लागि कम्तीमा २ करोड चुक्ता पूँजी र चुक्ता पूँजी र नेटवर्थ चुक्ता पुँजीको ७५ प्रतिशत हुनुपर्छ । क्रेडिट रेटिङ एजेन्सीको व्यवसाय गर्न चाहने कम्पनीले बोर्डवाट स्विकृती लिएर मात्र सञ्चालन गर्न सक्छ ।
रेटिङ एजेन्सीले कम्पनीहरूको साख मूल्यांकन गरी लगानीकर्ता तथा सर्वसाधारणलाई जानकारी दिने काम गर्छ । जसले गर्दा व्यापार व्यवसायमा हुन सक्ने जोखिमको निर्धारण गर्न सहज हुन्छ । सहमतिपत्रका लागि विदेशमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कम्पनीको प्रबन्धपत्र तथा नियमावली, आफ्नो मुलुकमा क्रेडिट रेटिङ कार्य सञ्चालन गर्न सम्बन्धित नियमन निकायमा दर्ता भएको वा अनुमतिपत्रको प्रमाणित प्रतिलिपि, नेपालमा क्रेडिट रेटिङसम्बन्धी काम गर्ने भनी सञ्चालक समितिले गरेको निर्णयको प्रतिलिपि तथा कम्पनीको विगत तीन वर्षमा क्रेडिट रेटिङसम्बन्धी गरेको कार्यको विवरणलगायत कागजात संलग्न गरी बोर्डमा निवेदन दिनुपर्छ ।
रेटिङ संस्थाले निष्काशनकर्ता कम्पनीको समग्र वित्तीय स्थिति, कार्य सम्पादन तथा सुशासनको अवस्था आदिलाई आधार मानी मूल्यांकन गरी सरल रूपले बुझ्न सकिने गरी प्रस्तुत गर्छ । लगानीकर्तालाई लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीहरूको स्थितिबारे बुझ्न सहयोग हुन्छ । रेटिङ संस्थाले केन्द्रीय बैंकको अनुमतिमा वित्तीय संस्थाबाट ऋण लिन चाहने व्यक्ति वा कम्पनीको रेटिङ गर्न सक्छ । बीमासम्बन्धी नियमन निकायको अनुमतिमा बीमा कम्पनीहरूको बीमा दाबी भुक्तानी गर्न सक्ने क्षमताको समेत रेटिङ गर्न सक्छ । नेपालमा क्रेडिट रेटिङ संस्थाको प्रवेशपछि मुलुकको समग्र वित्तीय क्षेत्रकै पारदर्शिता र विश्वसनियता अभिवृद्धि गराउन नियमन निकायहरूलाई सहयोग हुनेछ । रेटिङ संस्थाले गहन अध्ययन अनुसन्धान गरी वित्तीय तथा संगठित क्षेत्रको जोखिम समेत मापन गर्ने काम गर्छ । हाल सञ्चालनमा रहेको इक्रा नेपालले सार्वजनिक निष्कासन, डिवेञ्चर तथा हकप्रद सेयर निष्कासनको रेटिङ गर्दै आएको छ । नेपाल रेटिङ एजन्सीले पनि बोर्डमाट अनुमति पाएको खण्डमा नेपालमा रेटिङ एजेन्सीको संख्या दुई हुनेछ । तर एनआरएले भने नेपालको हालको रेटिङ बजारमा प्रतिस्पर्धा भन्दा पनि कम्प्लिमेन्ट गर्ने भट्टराईको भनाइ छ । वित्तीय औजारहरूको रेटिङ भन्दा पनि अन्य विजनेस गर्ने उनले बताए । यो आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम गर्ने योजनामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्