जलपर्यटन प्रवद्र्धन गर्ने बुटवलको योजना «

जलपर्यटन प्रवद्र्धन गर्ने बुटवलको योजना

मेरो पालिका
प्रदेश – लुम्बिनी
जिल्ला – रूपन्देही
स्थानीय तह – बुटवल उपमहानगरपालिका
वडा संख्या – १९
मेयर – शिवराज सुवेदी
उपमेयर – गोमादेवी आचार्य
प्रमुख प्रशासकीय अधिकृत – शिवप्रसाद रेग्मी
क्षेत्रफल – १०३.७७ वर्गकिलोमिटर
जनसंख्या – १ लाख ५६ हजार ५ सय ७६ (उपमहानगर घरधुरी तथ्यांक संकलन २०७६ अनुसार), १ लाख १ सय ४९ (२०६८ जनगणनाअनुसार)
चालू आवको बजेट – २ अर्ब १० करोड, आर्थिक वर्ष २०७८-७९ – २ अर्ब ५३ करोड

नेपालकै महत्वपूर्ण एवं पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशको अस्थायी राजधानीका रूपमा परिचित छ ।
स्थानीय तहमा कानुन निर्माण गरी कार्यान्वयन गर्ने, आफ्नै पाठ्यक्रम लागू गर्ने, नगर शिक्षा योजना, उपत्यकाबाहिर पहिलो पटक नगरवासीको घरधुरीलाई डिजिटल नम्बर प्रदान गर्ने, पञ्जिकीकरणको काम अनलाइनमार्फत सुरुवात, युवा स्वरोजगार कार्यक्रमजस्ता धेरै नौला कार्यक्रम सुरु गरेको बुटवल उपमहानगर वर्तमान मन्त्रिपरिषद्का मुख्य सदस्य अर्थ एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्रसमेत हो ।
साबिक बुटवल नगरपालिकाका सबै २२ वटा वडाहरू र तत्कालीन सेमलार र मोतीपुर गाविसलाई जोडेर २०७१ मंसिर १६ मा बुटवल उपमहानगरपालिका स्थापना भएको बुटवलको ऐतिहासिक नाम बटौली हो र सहरलाई चिरेर तिलोत्तमा अर्थात तिनाउ नदी बगेको छ ।
बुटवल उपमहानगरपालिका समुद्री सतहको १ सय १५ मिटरदेखि १ हजार ५८ मिटर उचाइसम्म अवस्थित छ । पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरी सीमामा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका र दक्षिणमा तिलोत्तमा नगरपालिका तथा शुद्धोधन गाउँपालिका रहेका छन् ।
बुटवल उपमहानगर भविष्यमा महानगर बन्ने प्रयासमा रहेको छ र त्यसका लागि आवश्यक रणनीति बनाइरहेको बुटवलले महानगरमा स्तरोन्नति हुन छिमेकी तिजलोत्तमा नगर र रूपन्देहीकै अर्को नगरपालिका सिद्धार्थनगर (भैरहवा) को साथ खोजेको छ ।
उपमहानगरपालिका स्थापनापछि स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आएसँगै उपमहानगरले आफ्नै कानुन बनाउने, नगर शिक्षा योजना, रोजगारमुखी कार्यक्रम, डिजिटल प्रविधिको प्रयोग, पूर्वाधार विकासमा फड्कोजस्तो देख्न लायक धेरै काम सम्पादन गरेकाले पनि देशका अन्य नगरहरूमा बुटवल उपमहानगरको नाम अग्रपंक्तिमा आउँछ ।
नेपालको तराई क्षेत्रमा पर्ने उपमहानगरपालिकाको केही भागमा खेतीयोग्य उर्बर जमिनले ओगटेको भए पनि अधिकांश भाग आवास क्षेत्रले ओगटेको छ । जल, जंगल, जमिन, जनावर र जडीबुटीको कमी नभएको यस उपमहानगरपालिकामा सानाठूला खोला, खोल्सी र प्रमुख नदी तिनाउ रहेको छ ।
बुटवल उपमहानगरपालिकाले अहिलेसम्म १ सय ६० वटा कानुन निर्माण गरी कार्यान्वयन गरिरहेको छ भने नेपालका सबै स्थानीय तहमध्ये कर्मचारीको संगठन संरचना निर्माण गरी कार्य सम्पादन गर्ने र सबै वडा कार्यालयहरूलाई सेवाकेन्द्रका रूपमा रूपान्तरण गर्ने पहिलो स्थानीय तह भएको उपमहानगर प्रमुख शिवराज सुवेदी बताउँछन् ।
त्यसै गरी उपत्यकाबाहिरका स्थानीय तहहरूमा पहिलो पटक नगरकोे ४० हजार घरधुरीलाई डिजिटल नम्बर प्रदान गरेको र घरमै बसेर ई–पेमेन्टमार्फत कर, राजस्व बुझाउन साथै अनलाइनमार्फत जन्म, विवाह, बसाइँसराइ, मृत्युलगायत पञ्जीकरण कार्य गर्न मिल्ने व्यवस्था सुरु गरेको उपमहानगर प्रमुख सुवेदी बताउँछन् ।
त्यसैगरी नगर शिक्षा योजनामा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाइ सुरु गर्ने नेपालको पहिलो स्थानीय तहका रूपमा बुटवलको स्थान रहेको छ । त्यसैगरी युवालाई स्वरोजगार बनाउन मेयर युवा इलम कार्यक्रम लोकप्रिय भएको छ । यसमा १७ जना तेस्रोलिंगीसमेत सहभागी छन् । त्यसैगरी उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमले पनि महिलाहरूलाई सानै रूपमा उद्यमी बनाउँदै आत्मनिर्भर बनाउन मद्दत पुगेको छ । हाम्रो उपमहानगरले महिला लक्षित कार्यक्रमहरू ल्याएको छ, जसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुग्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ, उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्य बताउँछिन् । चालू वर्षको बजेट र आगामी आर्थिक वर्षको बजेटमा पनि महिला मात्र नभई बालबालिका, शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक लक्षित धेरै कार्यक्रम रहेका छन्, आचार्य भन्छिन् ।
त्यसै गरी पूर्वाधारतर्फ पनि गत ४ वर्षमा धेरै फड्को मारेको छ । सार्वजनिक जग्गा संरक्षण प्रमुख योजना बनाउँदै अघि बढेको उपमहानगरपालिका मुलुककै पहिलो ढुवानी ग्राम निर्माण सुरु गर्ने स्थानीय तह हो । त्यसैगरी प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक बधशाला निर्माण जारी छ भने ऐतिहासिक जितगढीको गुरुयोजना निर्माण गरी काम अघि बढाइएको र बटौली जितगढी युद्ध संग्रहालय निर्माण जारी छ । जितगढीमा नेपाली सेनाले ब्रिटिस सेना (अंग्रेज) लाई पराजित गरेको स्थान हो । त्यसैगरी मोतीपुरमा थारु सांस्कृतिक संग्रहालय निर्माण हुँदैछ भने वडा नम्बर १६ को बैठौलिया ताल संरक्षण गरी जलपर्यटनमार्फत आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने बुटवलको योजना छ ।
त्यसै गरी पूर्ण खोप अभियान सञ्चालन गर्ने, मोतियाबिन्दुको शल्यक्रियामा अनुदान, मुटु, मृगौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान, वार्षिक रूपमा विद्यार्थीको निःशुल्क आँखा जाँचजस्ता स्वास्थ्य लक्षित कार्यक्रम आगामी आर्थिक वर्षमा हुने जनाइएको छ । त्यसैगरी श्रम बैंक स्थापना र श्रम डेस्क सञ्चालन, श्रमिकका लागि घुम्ती स्वास्थ्य शिविर, ‘सिङ्गो बुटवल, एक विद्यालय’ अनुरूप नयाँ शिक्षा नीति, नगर विकास योजना तर्जुमा गरी कार्यान्वयन, विगतबाट सञ्चालित मेयर युवा इलम र उपमेयर महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति लिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्