भारतीय व्यवसायीसँग पर्यटन क्षेत्रमा लगानी गर्न अध्यक्ष राणाको आग्रह «

भारतीय व्यवसायीसँग पर्यटन क्षेत्रमा लगानी गर्न अध्यक्ष राणाको आग्रह

लखनउ-नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघले भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा रहेको उद्योगी व्यवसायीहरूको एक प्रतिनधिमण्डलले भारतका पर्यटन व्यवसायीहरूसँग भएको छलफलमा सो आग्रह गरेको हो ।
लखनउका होटल व्यवसायीहरूसँग छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाले नेपालमा पर्यटन विकासको धेरै राम्रो अवसर रहेको जनाउँदै पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय पर्यटन व्यवसायीहरूलाई आग्रह गरिन् ।
उनले पश्चिम नेपालका बाँके, बर्दिया, सुर्खेतलगायतका जिल्लाहरूमा पर्यटन व्यवसायको सबैभन्दा राम्रो संभावना रहेको जनाउँदै लगानी गर्न भारतीय लगानीकर्ताहरूसँग आग्रह गरेकी हुन् ।
कैलाश मानसरोवर जाने भारतीय धार्मिक पर्यटक आगामी वर्षदेखि लाख बढीको संख्यामा पुग्ने र अन्य भारतीय पर्यटक पनि वृद्धि हुने र अरू विदेशी तथा स्वदेशी पर्यटक समेतको आवागमन पश्चिममा बढ्ने भएकाले होटल तथा रेस्टुराँ व्यवसायमा लगानी गर्न आग्रह गरिएको अध्यक्ष राणाले बताइन् ।
महासंघका अध्यक्षको आग्रहपछि विगत ७० वर्षदेखि भारतका १९ वटै प्रान्तमा ९० वटाभन्दा बढी तारे होटलहरू सञ्चालन गर्दै आएको होटल क्लार्कइन ग्रुपले नेपालमा पर्यटन व्यवसायमा लगानी गर्ने उत्सुकता देखाएको छ ।
सो ग्रुपले भारतीय धार्मिक पर्यटकलाई लक्षित गरेर बाँके, बर्दिया र सुर्खेतमा होटल तथा रेस्टुराँ व्यवसायमा लगानी गर्ने प्रतिबद्धता गरेको महासंघका अध्यक्ष राणाले बताइन् ।
उनले सोही प्रतिबद्धता अनुरूप नेपालगन्जस्थि होटल स्नेहालाई स्नेहा क्लार्कइनमा परिवर्तन गरी भारतीय लगानी भिœयाइएको पनि बताइन् ।
७० वर्षदेखि हस्पिटालिटीको क्षेत्रमा सक्रिय क्लार्कइन कम्पनीले भारतमा मात्रै ९० वटा विभिन्न तारेहोटल सञ्चालन गरिरहेको र अब पहिलो पटक नेपालको पश्चिमी क्षेत्रबाट लगानी भित्रयाइरहेको होटल क्लार्कइन ग्रुपका अध्यक्ष एसएन श्रीवास्तवले बताएका छन् ।
उनले होटल व्यवसायमा आफूहरूले कमाएको अनुभवको आधारमा नेपालमा होटल ब्यबसायमा लगानी गर्ने जनाउँदै बढीभन्दा बढी धार्मिक भारतीय पर्यटक नेपालगन्ज तान्ने जनाए । भारतका विभिन्न प्रान्तहरूमा कैलाश मानसरोवर पशुपतिनाथको मात्रै प्रचार–प्रसार गर्न सके नेपालले धान्नै नसक्ने गरी भारतीय धार्मिक पर्यटकहरू ओइरिने अध्यक्ष श्रीवास्तवको दाबी छ ।
नेपालगन्जलाई भारतका प्रमुख शहरहरूसँग सडक र हवाई यातायातमार्फत राम्ररी जोड्न सकिने हो भने बाँके, बर्दियाको क्षेत्र पर्यटकले भरिने नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ ।
उद्योगी व्यवसायीको टोलीमा रहनुभएका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको बागेश्वरी मन्दिर, कैलाश मानसरोवर, प्युठानको स्वर्गद्धारी र बर्दियाको निकुन्जका लागि बर्सेनि २ लाखभन्दा बढी पर्यटक नेपालगन्जमै तान्न सकिने बताएका छन् ।
देश–विदेशका अतिथिलाई नेपाल पठाउने र त्यहाँको प्राकृतिक सम्पदादेखि धार्मिक पर्यटकीय स्थलसम्म पु¥याउने काम आफूहरूले गर्ने लखनउस्थित होटल सपना क्लार्कइनका प्रबन्ध निर्देशक वैभव सिंहले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न आएको सो प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री आदित्यनाथले पनि पर्यटन क्षेत्रमा नेपालमा अथाहा सम्भावना रहेको जनाउँदै लगानी र पर्यटक दुवै पठाउने वचन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्