वाइडबडी खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको छैन : कंसाकार «

वाइडबडी खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको छैन : कंसाकार

 नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकाले शीर्ष नेताहरूले नबुझिकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे । कंसाकारले भने, “यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझिकन कसरी बोल्नुभयो ?’
उनले भने, “त्यो त उहाँहरूको कुरा हो । उहाँहरूको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिइसकेको अवस्थामा, उहाँहरूले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारण पनि हुनसक्छ ।”
लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरूले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने, “हामी त त्यही आश गरेर बस्ने हो ।” उनले वाइडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने, “सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।”
दुइटा वाइडबडी खरिदका लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरूलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने, “त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीनवटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम ग¥यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।”
कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गर्दै आफूले पदबाट राजीनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मूल्यमा जहाज खरिद गरेको दाबी गर्दै उनले विरोध गर्नेहरूले कुरै नबुझेको बताएका छन् । कंसाकारले प्राविधिक कुरा नबुझी हल्लाको पछि नलाग्न नेताहरूलाई सुझाव दिएका छन् ।
सर्वोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दाबी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । पत्रकारहरूको जिज्ञासामा कंसाकारले घुमाउरो पारामा बिरोध गर्नेहरूको वास्तविकता आफूलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गरे ।
उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । यद्यपि उनले उक्त जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दाबी गरे । उनले बिमानको भारहन क्षमता २४२ टनको भएपनि हाल २३० टन मात्रै रहेको पनि स्वीकार गरेका छन् ।
वाइडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टीकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दाबी गरे । उनले भने, “विमान खरिदको बोलपत्र प्रक्रिया ठीक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।” अदालतको लिखित फैसला नै पत्रकारहरूसमक्ष पढेर उनले सुनाएका थिए ।
रवीन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उनले दाबी गरे । उनले भने, “२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।”
भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरूसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, “मन्त्रीज्यूले चाहिँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होइन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो ? उहाँहरू दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरूको विवाद हो । म त सानो मान्छे हुँ ।”
उनले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पारे । उनले भने, “जानकारी गराएको थिएनौं । तर, महालेखापरीक्षकले सोधेको दुई/चारवटा प्रश्नमा हामीले जवाफ दिएका थियौं । तर, भुक्तानी दिने बेलामा महालेखालाई सोध्नुपर्छ भन्ने त छैन । सोध्न जरुरी पनि छैन ।”
वाइडबडी असफल बनाउने तत्वहरू रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उनले स्पष्ट पारे । यद्यपि उनले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताए । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागे पनि यसमा कुनै सत्यता नभएको पनि उनले जिकिर गरे । उनले भने, “यो खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको छैन । शून्य कमिसनमा खरिद गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्