वीरगन्ज महानगरपालिकाको बजेट साढे तीन अर्ब


वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरको नवौं महाधिवेशमा महानगरपालिकाकी उपप्रमुख तथा राजस्व समितिकी संयोजक शान्ति कार्कीले बजेट प्रस्तु गरेकी हुन् ।
विनियोजित बजेटको चालुतर्फ एक अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय अर्थात ५२.४४%, पुँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय अर्थात ४५.६८% र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार अर्थात १.८८% खर्च हुने अनुमान गरिएको छ ।
कुल खर्च मध्ये महानगरपालिकाले क्षेत्रगत रुपमा विनियोजन गरेको बजेट अनुसार आर्थिक विकास क्षेत्रमा१० करोड ८ लाख ३० हजार रूपैयाँ अर्थात २.८४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा एक अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात ३२.५१ प्रतिशत विनियोजन गरेको छ ।
त्यस्तै, पूर्वाधार विकास क्षेत्रमा एक अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात ३८.१७ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ १३ करोड ३२ लाख ७४ हजार रूपैयाँ अर्थात ३.७५ प्रतिशत र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार अर्थात २२.७३ प्रतिशत विनियोजन गरिएको छ ।
महानगरपालिकाले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजनामा ४३ करोड ३३ लाख ९१ हजार, वडा स्तरीय योजना तथा कार्यक्रममा २८ करोड २७ लाख ३४ हजार, समपूरक कोष १७ करोड ६९ लाख २५ हजार, लक्षित कार्यक्रम ५ करोड ७६ लाख ५९ हजार, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख विनियोजन गरिएको छ । त्यस्तै सडक बोर्ड कार्यक्रममा २ करोड २९ लाख, रोजगार कार्यक्रम ७० लाख, वडा कार्यालय भवनतर्फ ५ करोड, उज्यालो वीरगंज कार्यक्रमतर्फ ४ करोड ७१ लाख, शैक्षिक विकासतर्फ ६१ करोड २० लाख १० हजार, स्वास्थ्यतर्फ २१ करोड ३० लाख १५ हजार विनयोजना गरेको छ ।
कृषि विकासतर्फ एक करोड ५३ लाख ८० हजार, पशु सेवा विकास २० लाख र जनसहभागितामा आधारित कार्यक्रमतर्फ ४ करोड २० लाखको बजेट व्यवस्था मिलाएको जनाएको छ । बजेटमा समावेश हुन नसकेका महत्वपूर्ण आयोजनाहरु प्रोजेक्ट बैंकमा राखेर श्रोतको उपलब्धता भए पछि क्रमशः कार्यान्वयन हुने व्यवस्था मिलाएको महानगर प्रमुख सरावगीले बताए ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारको वित्तिय समानिकरण ४६ करोड एक लाख, राजस्व बाँडफाँट २१ करोड २६ लाख ९८ हजार, सशर्त अनुदान ७६ करोड ५१ लाख प्राप्त हुने अनुमान गरेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण ३ करोड २९ लाख ९ हजार, सशर्त अनुदानतर्फ २ करोड, राजस्व बाँडफाँटतर्फ सवारी साधन २ करोड २८ लाख ७४ हजार, नगर विकास अनुदानतर्फ ४० करोड ३० लाख ९१ हजार, सडक बोर्डतर्फ २ करोड २९ लाख र युनिसेफतर्फ ३५ लाख प्राप्त हुने अनुमान रहेको जनाएको छ ।
नगद मौज्दाततर्फ ४७ करोड २८ लाख ६५ हजार र आन्तरिक आयतर्फ ८६ करोड १६ लाखको अनुमान गरिएको छ । आन्तरिक आयतर्फ ५९ करोड ७५ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा ४१ करोड ३२ लाख १३ हजार मात्र आय भई ६९.१६ प्रतिशत प्रगति भएको पनि बजेटमा उल्लेख छ ।
राजस्व परिचालनका नीतिहरु
महानगरले कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसाय समेतमा प्रतिकुल असर परी व्यापारी, उद्योगी, व्यवसायीहरुमा ठूलो आर्थिक क्षति भएकोले सो समेतलाई ध्यानमा राखेर केही राहत सहितको राजस्व नीतिहरु लिएको छ ।
बजेटमा महानगरपालिकाले होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, सपिङमल, उद्योग र कलकारखानाको चालू आर्थिक वर्षको सम्पत्ति करमा ५० प्रतिशतसम्म छुट दिने र अगामी आर्थिक वर्ष २०७८÷०७९ मा पनि सम्पत्ति कर असूली प्रकृयालाई निरन्तरता दिइने उल्लेख छ ।
व्यवसाय करलाई समसामयिक र व्यवहारिक बनाई हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नविकरण नभएका व्यवसायका लागि २०७८ पुष भित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिवानामा छुट गरिने, राजश्व परामर्श समितिलाई क्रियाशील वनाई जनमैत्री कर प्रणाली लागु गर्नका लागि विद्यमान कार्य प्रणालीमा सुधार गरिने जनाएको छ ।
सम्पत्ति करको दायरा फराकिलो वनाई ‘स्वेच्छिक सम्पत्ति घोषणा’ अभियानलाई प्रोत्साहन गरिनेछ । आगामी वर्षदेखि अनलाइन प्रणालीबाट कर संकलन गर्ने व्यवस्था मिलाइने भन्दै महानगरले नगरवासीलाई आफ्नो वडाबाट कर तिर्न सहज हुनेगरी वडा कार्यालयबाट कर लिने कार्य प्रारम्भ गरिने, कर संकलनको आधारमा आउँदो वर्षदेखि वडामा जाने बजेटमा विशेष व्यवस्था गरिएको छ ।