भारततर्फ तटबन्ध नेपालतर्फ कटान «

भारततर्फ तटबन्ध नेपालतर्फ कटान

डडेल्धुरा-डडेल्धुरा पर्शुराम नगरपालिका कुणा गाउँनजिकै महाकाली नदीमा भारत सरकारले तटवन्ध निर्माण गरिरहेको छ । महाकाली नदीले कटान गर्न थालेकोे भन्दै भारत सरकारले आफ्नो भूमि बचाउन एकलौटी रूपमा महाकाली नदीमा तटबन्ध निर्माण गरिरहेको हो ।
यो स्थान भारतको उत्तराखण्डमा पर्छ । भारतले महाकाली नदीमा बनाएको तटबन्धका कारण वर्षात्को समयमा महाकाली नदीले कटान गर्ने भन्दै पर्शुराम नगरपालिका–६ का कुणा र छेलाका स्थानीय बासिन्दा त्रसित भएको वडा नं ६ का वडाध्याक्ष खगेन्द्र सिंहले जानकारी दिए ।
महाकाली नदीमा बनाइरहेको तटबन्ध बारे भारतले नेपालका अधिकारीलाई कुनै जानकारी गराएको छैन । तर डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने भारतले महाकाली नदीमा बनाइरहेको तटबन्धका बारेमा जानकारी लिँदा सीमासुरक्षा बल एसएसबीको भवन सुरक्षाका लागिमात्रै तटबन्ध बनाइरहेकाले यसले नेपालतर्फ क्षति नगर्ने बताए ।
भारतले महाकाली नदीले कटान गरिरहेको स्थानमा तटबन्ध बनाउँदै आइरहेको भए पनि नेपाल सरकारले भने नेपालतर्फ तटबन्ध नबनाउँदा बर्सेनि सयौं हेक्टर जमिन बगरमा परिणत भइरहेको छ । पर्शुराम नगरपालिकाका कुणा, छेला, तातोपानी, भुरकुण्डा, करालीलगायत दर्जनौं गाउँ महाकाली नदीको कटानको उच्च जोखिममा छन् ।
नेपाल सरकारले समयमै नेपालतर्फ तटबन्ध नबनाएमा आफूहरूको उठिबास हुने कुणा गाउँका स्थानीयबासिन्दा दलबहादुर धामीले बताए ।
भारतले महकाली नदीका विभिन्न स्थानमा तटबन्ध निर्माण गर्दै आइरहेको स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदीले नेपालतर्फ कटान गर्दा नेपालको कैयौ हेक्टर जमिन भारततर्फ गएको छ । जसमा भएका नदीजन्य पदार्थ भारतले प्रयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्