रोकिएका सडकका योजना सुचारु «

रोकिएका सडकका योजना सुचारु

दोलखा-दोलखामा ३ महिनादेखि रोकिएका सडकको काम सुचारु हुने भएको छ । पुराना ठेक्का लागेका काम संघ र प्रदेश कुन सरकारले हेर्ने भन्ने अन्योलतापछि रोकिएका सडक योजनाका काम पुनः सुचारु हुन लागेको हो । यसअघि नियमित काम भइरहेका सडकसमेत सडक विभागकै परिपत्रका आधारमा रोकिएका थिए ।
सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले अब कुनै पनि काम नरोकिने जानकारी दिए । “विगतमा अन्योलताकै कारण काम रोकिएको थियो,” उनले भने, “अहिले प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले नै पत्र लेखेर प्रदेशका संरचना नबनेको अवस्थामा मिलेर काम गर्न आग्रह गरेकाले अब सडक डिभिजनमार्फतै ति काम हुन्छन् ।” जसले गरे पनि नेपाल सरकारकै बजेट खर्च गर्ने भएकाले यसमा विवादको कुनै औचित्य नहुने बताए ।
सडक विभागले परिपत्र गरी पुल र राजमार्ग मर्मतबाहेकका सबै काम रोक्न निर्देशन दिएको थियो । प्रदेश सरकारको प्राविधिक र कार्यालयका संरचना तयार नहुन्जेल संघीय सरकारकै कार्यालयले नै हेर्ने भएका छन् । काम गर्ने सिजनमा काम नहुँदा सडक विभागका इन्जिनियर कामविहीन भएका थिए । उता सरकारको पुँजीगत बजेटसमेत खर्च हुन सकेको थिएन ।
अब दोलखाको लामाबगर–चीन सडकसँगै, जिरी–ढिंगी, जिरी–खिम्ती, दोलखा–चरिकोट सडक विस्तार, चरिकोट–कालिञ्चोक, गुरुम्फी–मस्तिङलगायत एक दर्जन योजना अलपत्र परेका छन् । राजमार्ग र दुई देश जोड्ने सडक योजना संघीय मन्त्रालयअन्तर्गत राख्ने विगतमा सूचना आएको छ । यस्ता योजना दोलखा र सिन्धुपाल्चोकमा गरी ४० वटा योजना अलपत्र छन् ।
डिभिजन प्रमुख झाका अनुसार आफू आउने बित्तिकै विगतमा अलपत्र परेका दोलखा–चरिकोट कालोपत्रे र फिल्म सिटी जाने सडकको काम सुरु भएको छ । अन्य सडकको पनि सुचारु हुन्छ । कामका मूल्यांकन गरेर संघ वा प्रदेश जुनबाट भुक्तानी पाउनु पर्ने हो निर्माण व्यवसायीले पाउने उनले बताए ।
काम रोकिँदा निर्माण व्यवसायी दैनिकजसो कार्यालयमा गुनासो लिएर पुग्ने गरेका छन् । भुक्तानीको अन्योलताले दसैं अघिसम्म काम गरेका करोडौं रुपैयाँसमेत विभागबाट भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्