कैलालीका सबै स्थानीय तहले ल्याए बजेट «

कैलालीका सबै स्थानीय तहले ल्याए बजेट

– धनगढी उपमहानगरपालिकाको एक अर्ब ८१ करोडको बजेट पारित
– १२ वटा पालिकको पहिलो प्राथमिकतामा स्वास्थ्य, धेरै बजेट पूर्वाधारमा
– चुरेको पहिलो प्राथमिकता सडक पूर्वाधार
– कैलारी गाउँपालिकाले गाउँ गौरवको योजना बनाउने


कैलालीका १३ वटै स्थानीय तहमध्ये सबैले स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै बिहीबार आगामी आर्थिक वर्षका लागि बजेट गाउँ/नगरसभामा प्रस्तुत गरेका छन् । उनीहरूले पहिलो प्राथमिकता स्वास्थ, शिक्षा र कृषिलाई दिएको बताए पनि पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट छुट्याएका छन् । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रलाई सुधार गर्नुपर्ने देखिएको भन्दै उनीहरुले स्वास्थ्य क्षेत्रमा बजेट बढाएर विनियोजन गरेको जनाएका छन् ।


असार ८ गते नै नगरसभामा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँको बजेट प्रस्तुत गरेको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट बिहीबार पारित भएको छ । चालूतर्फ एक अर्ब दुई करोड ८० लाख ७० हजार र पुँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार अनुमान गरेको छ । धनगढीले कोभिड–१९ व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद व्यवस्थापन, कृषि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उपप्रमुख सुशीला मिश्रभट्टले बताइन् ।


टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ७५ करोड ८८ लाख ९५ हजारको बजेट ल्याएको छ । नगरसभामा उपप्रमुख केशरी रावल विष्टले चालूतर्फ ४९ करोड ३३ लाख ६७ हजार र पुँजीगततर्फ २६ करोड ५५ लाख २८ हजार व्यय अनुमान प्रस्तुत गरिन् ।
टीकापुर नगरपालिकाले पनि स्वास्थ्यलाई प्राथमितामा राख्दै कोभिड–१९ रोकथामका लागि ६१ लाख ८७ हजार र अन्य स्वास्थ्य कार्यक्रमका लागि ८२ लाख बजेट छुट्याएको छ । सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न बाँकी वडा नं १ र ८ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको उपप्रमुख विष्टले बताइन् । उनले टीकापुर अस्पतालमा बालरोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा र निःशुल्क रक्त सञ्चार सेवा ग्रामीण अल्ट्रासाउन्ड, पूर्णखोप सुनिश्चित, आमासँंग उपमेयर, ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रमजस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइन् ।


गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १८ करोड ७१ लाख ५७ हजारको बजेट अनुमान प्रस्तुत गरेको छ । चालूतर्फ ६६ करोड २२ लाख ९७ हजार र पुँजीगततर्फ ५२ करोड ४८ लाख ६० हजार व्यय अनुमान गरिएको उपप्रमुख रत्ना कडायतले बताइन् ।
घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका ८९ करोड ९९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बजेट प्रस्तुत गरेका छन् । उनले पूर्वाधार विकासमा सबैभन्दा धेरै कुल बजेटको ४३.४२ प्रतिशत विनियोजन गरिएको बताए । उनले प्रशासनिक व्यवस्थापनका लागि २६.४५ प्रतिशत, आर्थिक विकासमा ७.६६ प्रतिशत र सामाजिक विकासमा १९.७१ प्रतिशत बजेट छुट्याइएको बताए ।
लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १० करोड २८ लाख ८१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । लम्की चुहा नगरपालिकाको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ ।
गौरीगंगा नगरपालिकाले ७९ करोड ७० लाख १६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख अञ्चला चौधरीले आगामी आर्थिक वर्षमा गौरीगंगाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । उनले योजनाहरुमा नगरसभाको आगामी बजेटबाट बजेट विनियोजन गरिने बताइन् ।
भजनी नगरपालिकाले भने बिहीबार अबेरसम्म नगरसभामा बजेट प्रस्तुत गर्न सकेको छैन । बजेट प्रस्तुतिका लागि कार्यपालिकाको बैठक जारी रहेको भजनीका सूचना अधिकारी चन्द्रदेव भट्टले बताए ।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा तीन÷तीन करोड, आर्थिक विकास क्षेत्रमा दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइन् ।

उनले गाउँपालिकाले गौरवका योजनाअन्तर्गत वनदेवी धार्मिक पर्यटकीय क्षेत्र विकासका लागि एक करोड ५० लाख, सडकपुर–लोहरपुर सडक आयोजनाका लागि ७० लाख, एक सहकारी एक उद्योग परियोजनाका लागि ३० लाख, नमुना विद्यालय बनाउनका लागि २५ लाख, दुधिया मिनी पार्कका लागि, २५ लाख, एक वडा एक कृषि पकेट कार्यक्रमका लागि १५ लाख, सुर्मिनाला–लौसा र धर्मापुर–शीतलपुर सडकका लागि १०÷१० लाख, एक वडा एक कालोपत्रे सडकका लागि एक करोड ३५ लाख, युवालाई स्वरोजगारकोष (सहुलियत पूर्ण ऋण लगानी) ४० लाख विनियोजन गरिएको बताइन् ।
चुरे गाउँपालिकाले सडक र भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथकिता दिँंदै ४३ करोट ७० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दीपादेवी साउँदले चालूतर्फ २४ करोड ३४ लाख १० हजार र पुँजीगततर्फ १९ करोड ३६ लाख रुपैयाँ व्यय अनुमान गरिएको बताइन् ।
जोशीपुर गाउँपालिकाकाले ५२ करोड पाँच लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गीता कठरियाले आर्थिक विकासमा ६० लाख, सामाजिक विकासमा एक करोड ६३ लाख, संस्थागत विकासमा सात करोड ८४ लाख २० हजार विनियोजन गरिएको बताइन् । उनले पूर्वाधार विकासमा विनियोजन हुने रकम गाउँसभाको आगामी बैठकबाट विनियोजन गरिने बताइन् ।


बर्दगोरिया गाउँपालिकाले ४४ करोड ७० लाख ९० हजार रुपैयाँको डल्लो बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष भगवती डगौराथारुले आम्दानीको स्रोत र व्ययको अनुमान मात्रै गाउँसभामा प्रस्तुत गरिएको बताइन् । उनले गाउँसभाबाट योजनाहरुमा बजेट बाँडफाँड गरिने बताइन् ।
अघिल्लो वर्ष लामो सयमसम्म बजेट प्रस्तुत गर्न नसकेको मोहन्याल गाउँपालिकाले यसवर्ष आगामी आर्थिक वर्षका लाग एक दिन पहिले नै बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढामगरले ४५ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् ।

उनले आर्थिक विकासमा एक करोड २० लाख, पूर्वाधार विकासमा एक करोड ९ लाख ९१ हजार, सामाजिक विकासमा तीन करोड २५ लाख, वातावरण तथा विपत ब्यबस्थापनमा २५ लाख, सुशासन र संस्थागत विकासमा २० लाख, लैंगिक तथा समाबेशीकरणमा २० लाख विनियोजन गरेको बताइन् ।
यसैगरी, जानकी गाउँपालिकाले पनि बिहीबार साँझसम्म गाउँसभामा बजेट प्रस्तुत गरेको छैन । बुधबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको जानकीको गाउँसभामा बिहीबार नै बजेट प्रस्तुत हुने अध्यक्ष प्रदिप चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्