कालिञ्चोक गाउँपालिकामा डिजिटल सेवा «

कालिञ्चोक गाउँपालिकामा डिजिटल सेवा

दोलखा-दोलखाको कालिञ्चोक गाउँपालिकाले डिजिटल सेवा सुरु गरेको छ । गाउँपालिकाले आफ्ना सेवासुविधा र सूचनाको पहुँच हातहात पुग्ने गरी गाउँपालिकाभित्रको सबै प्रोफाइलसहितको आफ्नै मोबाइल एप सार्वजनिक भएको छ । सेवाग्राहीसँगको दूरीलाई कम गर्दै सेवा तथा जानकारी हातहातबाटै लिन सहयोग पुग्ने उद्देश्यका साथ गाउँपालिकाले कालिञ्चोक गाउँपालिका नामक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकामा भएका एवं हुने सबै जानकारी मोबाइलबाट नै लिन मिल्ने गरी सार्वजनिक गरिएको मोबाइल एपमा गाउँपालिका प्रोफाइल, सेवा, सूचना तथा जानकारी, निर्वाचित जनप्रतिनिधिको फोटोसहितको सम्पर्क विवरण तथा वडाको नक्सासहितको विवरण समावेस गरिएको छ । एउटा मोबाइलमा वडागत रूपमा सबै सूचना समावेस छ ।
मोबाइल एपको माध्यमबाट कालिञ्चोक गाउँपालिकावासीले गाउँपालिकाको गतिविधि सहजै जानकारी पाउने कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिए । गाउँपालिकाले नागरिकका लागि दिने सेवा, त्यसका लागि लाग्ने समय र दस्तुरसमेत उल्लेख भएको गाउँपालिकाका अध्यक्ष थामीले बताए । गाउँपालिकालाई आधुनिक सूचनामैत्री बनाउनका लागि मोबाइल एप तयार गरिएको उनले बताए । “हाम्रा हरेक सूचना र जानकारी मोबाइलबाटै जानकारी पाउन सकिन्छ,” उनले भने, “स्थानीय सरकार पनि सबैको नजिक हुनका लागि यस्तो व्यवस्था गरेका हौं ।” गाउँपालिकाभित्रको सबै सूचना र जानकारी पनि एपबाटै नागरिकले जानकारी पाउने उनले बताए ।
मोबाइलको प्ले स्टोरमा गई कालिञ्चोक गाउँपालिका सर्च गरी एप डाउनलोड गर्न सकिने नाम्सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजन केसीले जानकारी दिए । गाउँपालिकाभित्रको सबै पाश्र्वचित्र नै नाम्सालिङको सहयोगमा तयार भएको हो । पाश्र्वचित्रमा भएको सूचना र जानकारी मोबाइल एपमा समावेस छ ।
मोबाइल एपभित्र, सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, कृषि, वन, पर्यटन क्षेत्र, जातजातिको विवरणसमेत उल्लेख छ । नाम्सालिङ सामुदायिक विकास केन्द्रका व्यवस्थापक सुबोध निरौलाले मोबाइल एप हेरेपछि सूचना र जानकारीका लागि गाउँपालिका धाइरहनु पर्ने बाध्यताको अन्त्य हुने बताए । विभिन्न स्थानीय तहले बनाएको मोबाइल एपभन्दा कालिञ्चोकको अझ राम्रो भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्