फुसको छाना हटाएर टिन लगाउँदै नगरपालिका «

फुसको छाना हटाएर टिन लगाउँदै नगरपालिका

इलाम-नगरवासीलाई समृद्ध बनाउने भन्दै इलामका दुई स्थानीय तहले फुसको छाना हटाएर टिन लगाइदिने भएका छन् । जिल्लाको देउमाई नगरपालिका र सूर्योदय नगरपलिकाले आव ०७५/७६ को नगर विकास योजनाको नीतिअनुसार नगरमा फुसको छानो हटाउने भएका हुन् ।
यसका लागि सूर्योदय नगरपालिकाले नगरभित्र भएका ९५ वटा घरमा फुसको छाना हटाएर टीन (जस्ता)को छाना लगाइदिने भएको छ । नगरपालिकाले आव ०७५/७६ को नगर विकास योजनाको नीति तथा कार्यक्रममा नै फुसको तथा प्लास्टिकको छाना प्रतिस्थापन गरेर ब्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
सोही नीति तथा कार्यक्रम अनुसार अतिविपन्न आर्थिक अवस्था भएका परिवारको बसोबास गर्ने घरको छानामा जस्ता लगाइने भएको हो । नगरपालिकाले यो कामका लागि चार लाख रुपैयाँ विनियोजन पनि गरिसकेको छ । नपाको विनियोजन ऐन, २०७५ को अनुसूची ५ मा लक्षित समूह सिमान्तकृत शीर्षकमा फुसको छाना प्रतिस्थापन कार्यक्रममा सो रकम छुट्याइएको हो ।
नगरपालिकाले यसका लागि तथ्यांक संकलन गरिसकेको नगरपालिकाका प्रवक्ता पेमाउगेन लामाले जानकारी दिए । तथ्यांकअनुसार नगरका १४ वटा वडामध्ये दुईवटा वडामा फुसको छाना भएका घर नै नभएको प्रवक्ता लामाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ र वडा नम्बर ८ (साविक फिक्कल गाविसका वडा नम्बर १ र २ तथा साविक कन्याम गाविसको वडा नम्बर १ र २) मा कुनै घर फुसको छाना भएको घर नै छैनन् ।
नगरका अरु १२ वटा वडामध्ये सबैभन्दा बढी वडा नम्बर ४ मा १७ घर फुसको छाना छन् । ११ र ९ नम्बर वडामा ११/११ घर फुसको छाना भएका छन् । वडा नम्बर १ मा १० घर, ३, १२ र १४ मा ८/८ घर, ५ मा ७ घर, ७ मा ६ घर, १३ मा ५ घर, २ र १० मा २/२ घर फुसका छाना छन् । यो तथ्यांक पहिलो चरणको भएको र अब पुनः यसलाई छानबिन गरी अन्तिम तथ्यांक संकलन गरिने नगरपालिकाका प्रवक्ता लामाले जानकारी दिए ।
यसका लागि वडाध्यक्ष सम्मिलित एउटा समितिसमेत बनाइएको छ । समितिले अन्तिम तथ्यांक निकाल्ने र काम अघि बढाउने जनाइएको छ । अन्तिम तथ्यांक आएपछि ती घरमा टिनको छाना लगाउँदा लाग्ने खर्च अनुमान गरेर काम थालिने बताइएको छ । नगरपालिकाले पैसा उपलब्ध गराउने या जस्ता उपलब्ध गराउने भन्ने निर्णय भइनसकेको प्रवक्ता लामाले बताए ।
त्यस्तै देउमाई नगरपालिकाले पनि नगरवासीलाई समृद्ध बनाउनका लागि फुसका छाना विस्थापित गरेर टिनको छानो लगाइदिने भएको छ । यस नगरपालिकाले प्रतिपरिवार पाँच बण्डल टिन उपलब्ध गराउने भएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । उनका अनुसार तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ । यसका लागि आवश्यक रकमसमेत विनियोजन भइसकेकाले यस वर्षभित्र यो काम हुने बताइएको छ ।
टीका खतिवडा

 

प्रतिक्रिया दिनुहोस्