मेलम्चीमा ठेकेदार–सरकारको दोहोरी र राजधानीवासीको तिर्खा «

मेलम्चीमा ठेकेदार–सरकारको दोहोरी र राजधानीवासीको तिर्खा

यतिखेर राजधानीमा बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै मेलम्चीपछि अर्को आयोजनाको पनि निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले राजधानीका सडक पखालिदिने उद्घोष गरेर २०५६ सालमा सुरु भएको राजधानीवासीको खानेपानीको सपनाका रूपमा रहेको चर्चित तथा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो, तर अहिलेसम्म पनि योजना सम्पन्न हुन नसक्दा सपना बिपनामा परिणत हुन सकेको छैन ।
योजना निर्माणमा विभिन्न विवाद, स्थानीयहरूको अवरोध तथा ठेकेदारले बीच–बीचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसकेपछि राजधानीवासीको सपना आजका दिनसम्म सपनामै सीमित रहेको हो । दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि योजना सुरु भएको हो । यस अवधिमा अर्बौं रुपैयाँ सकियो । खर्बौं लिटर पानी मेलम्चीमा बग्यो तर अहिलेसम्म योजना सम्पन्न भएको छैन ।
एसियाली विकास वैंक (एडीबी) लगायत अन्य संस्था र नेपाल सरकारको संयुक्त लगानीमा सुरु भएको यस आयोजनाका लागि निर्माण गरिनुपर्ने २७ किलोमिटर सुरुङको धेरैजसो काम त सकिएको छ । तर, अन्य कामहरू धेरै बाँकी नै छ । योजना सुरु भएदेखिकै हिसाब गर्ने हो भने खर्च र समयको लगानीअनुसार यहाँको काम खासै प्रगति भएको छैन । बाँकी निर्माणलाई तीव्रता दिइएको आयोजनाले बताइरहँदा हालै मात्र ठेकेदार कम्पनीले अर्को बहानामा काम रोकेपछि आयोजनाको काम प्रभावित भएको छ । यसअघि विभिन्न मिति गुजारेर सरकारले गएको दसैंमा कुनै पनि हालतले मेलम्चीको पानी राजधानीका घरघरमा ल्याउने बताएको थियो । तर, अहिलेको कामको अवस्था देख्दा अर्को दसैंसम्म पनि आउलाजस्तो छैन ।
हुन त यसअघि २०७३ वैशाखमै आयोजनाको सम्पूर्ण काम सकेर धारा–धारामा पानी खसालिसक्ने सरकारले बताएको थियो । तर, २०७२ को विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको बहानामा समय धकेलियो । त्यसपछि २०७४ असोजसम्म मेलम्चीको पानी राजधानीसम्म पु¥याइने लक्ष्यका साथ काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिए पनि त्यसपछि पनि पटक–पटक समय थपियो र अहिले भने यसको समयसीमाको टुंगो पनि छैन ।
योजना सम्पन्नका लागि सो कम्पनीले कामलाई तीव्रता त दिएकै हो । दैनिक ३५ देखि ४० मिटर सुरुङ निर्माण गर्दै ब्रेक थ्रू गरेको कम्पनीले आयोजनाको धेरैजसो काम सकिएको जनाएको छ । यसअघि निर्माण गर्दै आएको पुर्व ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले यति धेरै निर्माण गर्न सकेको थिएन । अहिले सम्बन्धित इटालियन ठेकेदार कम्पनी सीएमसीले दैनिक करिब ४ सय कामदारलाई चौबीसै घण्टा परिचालन गरेको बताएको छ । अहिले भएको कामको अनुपातमा योजना ०७५ सालमै सम्पन्न गर्न सकिनेमा आयोजना ढुक्क छ । तर, मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा यन्त्र, उपकरण, निर्माण सामग्री आपूर्ति तथा उपठेक्का लिएका नेपाली ठेकेदार सीएमसीबाट पाउनुपर्ने रकम नपाएको भन्दै आन्दोलित भए । सीएमसीले नेपाली व्यवसायीलाई डेढ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकार र ठेकेदार भुक्तानीलगायत माग सम्बोधन नगरे उनीहरूले मेलम्चीको साइट र काठमाडौं कार्यालयमा तालाबन्दी गर्ने र सबै काम रोक्ने सम्मको चेतावनी दिएका छन् । आयोजनामा संलग्न २८ वटा कम्पनीका नेपाली व्यवसायीले आफ्ना मागप्रति सरकार गम्भीर नबने मेलम्चीको साइट कार्यालय र काठमाडौंस्थित मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा तालाबन्दीलगायत कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने जनाएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना पछिल्ला केही हप्तायता निकै चर्चामा छ । दुई दशकदेखि निर्माणाधीन यो आयोजना सम्पन्न हुने अन्तिम चरणमा पनि अन्योल सिर्जना भएपछि चर्चामा आएको हो । सुरुङ निर्माण गरेर काठमाडौंमा पानी ल्याउने जिम्मा पाएको इटालीयन ठेकेदार कम्पनी सीएमसीका कर्मचारी स्वदेश फर्कने क्रममा एयरपोर्टमै पक्राउ परेको विषयले मेलम्चीको चर्चा एक्कासि चुलिएको थियो ।
स्वदेश फर्कन लागेका कम्पनीका म्यानेजर क्रिस्टिनयानो क्रुजोसहित आठ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेर सरकारले राहदानी जफत गरेको थियो । त्यसपछि ठेकेदार र आयोजनाबीच चुलिएको विवाद सतहमा देखिएको हो । सन् २०१३ सम्ममा सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि उसले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सीएमसीलाई नयाँ ठेक्का दिएको थियो । सीएमसीसँग तीन वर्षमा सम्पन्न गरिसक्ने गरी ७ अर्ब ७२ करोड लागतमा ०७० असारमा सम्झौता भए पनि तोकिएको समयभित्र आयोजना त बनेन नै, पछिल्लो विवादसँगै मेलम्ची आयोजना अब फेरि अन्योलमा परेको छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ, जसमध्ये ठेकेदार कम्पनीले ९ अर्ब रुपैयाँ लगिसकेकोे छ ।
कम्पनीले सरकारसँग १ अर्ब ६५ करोड क्षतिपूर्ति दाबी गरेको थियो । तर, सरकारले क्षतिपूर्ति दिन नमानेपछि ठेकेदारले एकतर्फी ठेक्का रद्द गरेको थियो । विवादले निकै उग्र रूप लिएपछि पछिल्लो समयसरकार र ठेकेदारबीच काम गर्ने विषयमा समझदारी त भएको छ, तर ठेकेदारले काम गर्ने हो वा फेरि अर्को बहाना बनाएर काम रोक्ने हो, त्यो अहिले यसै भन्न सकिने अवस्था छैन । हाल आयोजनाको २७ किलोमिटर सुरुङखण्डमध्ये करिब १ किमि सुरुङखण्डको ढलान र सपोर्टको काम बाँकी छ भने तीनवटा सुरुङको हावा फाल्ने काम तथा टनेलगेटको काम गर्न बाँकी छ । यता पाइप बिछ्याउने काम पनि बाँकी नै छ ।
अहिलेसम्म यस आयोजनामा करिब ३० अर्ब रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ । तत्कालीन समयमा यसको अनुमानित खर्च करिब ३२ करोड अमेरिकी डलर ( तत्कालीन डलर दरअनुसार २७ अर्ब नेपाली रुपैयाँ) रहेको भए पनि हाल आएर ४० अर्ब नाघ्ने बुझिएको छ । जसमध्ये १४ करोड डलर एसियाली विकास बैंकले खर्च गर्नेछ । बाँकीमध्ये जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब २ करोड डलर, जापानको अन्तर्राष्ट्रिय सहयोग बैंक (जेबी) को करिब ५ करोड डलर, तेल निर्यातक राष्ट्रहरूको नियोग (ओपेक) को करिब १ करोड ५० लाख डलर, नर्डिक विकास फन्टको करिब १ करोड ५ लाख डलर र नेपाल सरकारको करिब ९ करोड १० लाख डलर खर्च हुने अनुमान छ ।
यतिखेर राजधानीमा दैनिक करिब ३८ करोड लिटर खानेपानीको माग छ, जसमध्ये खानेपानी संस्थानले करिब १२ करोड लिटरजति मात्र आपूर्ति गर्न सकेको छ । बाँकी खानेपानीका लागि इनार, ढुङ्गेधारा, ट्याङ्कर, जार र बोतलको पानी उपयोग गर्न राजधानीवासीहरू बाध्य छन् । दैनिक झन्डै ५ करोड रुपैयाँभन्दा बढीको पानी खरिद हुने गरेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने हो भने पनि अहिलेको मागलाई धान्न मुस्किल नै पर्छ । र, यसका लागि मेलम्चीपछि लार्के र याङ्ग्रीबाट थप ९ करोड लिटर पानी ल्याउने गरी काम गर्ने आयोजनाले जनाएको छ । यतिखेर राजधानीमा बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै मेलम्चीपछि अर्को आयोजनाको पनि निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्