भ्रमण वर्ष र बीआईटीएम «

भ्रमण वर्ष र बीआईटीएम

पर्यटन प्रवद्र्धनका लागि गरिने नाट्टाको यस बीआईटीएमले नेपाल भ्रमण वर्ष–२०२० को उद्देश्य प्राप्तितर्फ एउटा महत्वपूर्ण सकारात्मकता प्रदान गर्ने नै छ ।

विश्वमा भगवान् गौतम बुद्धका अनुयायी (बुद्धमार्गी) को संख्या झन्डै ४९ करोड रहेको विश्वास गरिन्छ । महायान, थेरावाद र बज्रयान पथमा अग्रसर यी सबै बुद्धमार्गी जीवनमा एकपटक भगवान् बुद्धको जन्मस्थल देवभूमि नेपालमा अवस्थित पवित्र लुम्बिनी पुग्ने इच्छा राख्छन् । गत वर्ष मात्रै स्वेदशी तथा विदेशी गरी कुल १० लाख मानिसले लुम्बिनी भ्रमण गरेका थिए ।
यस वर्षको उपलब्ध तथ्यांकनुसार गत जनवरीदेखि नोभेम्बरसम्म झन्डै साढे १३ लाखले लुम्बिनी भ्रमण गरे र त्यसमा विदेशीहरूको संख्या डेढ लाख रहेको पाइन्छ । लुम्बिनी आउनेहरूलाई मायादेवीको मन्दिर मात्र नदेखाई लुम्बिनी क्षेत्र वरिपरि रहेका तिलौराकोट, कपिलवस्तु, रामग्राम र देवदहजस्ता महत्वपूर्ण ऐतिहासिक स्थलहरूको पनि भ्रमण गराइनुपर्छ । साथै, ती स्थलहरूमा ध्यान र अन्य आध्यात्मिक गतिविधिहरूलाई नियमितता दिनुपर्ने आवश्यकता छ ।
भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हुन थालेपछि अत्यधिक बुद्धमार्गीहरू पवित्र लुम्बिनी वाटिकाको भ्रमण गरेर आफ्नो जीवनलाई कृतकृत्य तुल्याउन लालायित रहेको अध्ययनहरूले देखाएका छन् ।
चीनमा साढे २४ करोड महायानी बुद्धमार्गीहरू छन् भने थाइल्यान्डमा ६ करोड ४४ लाख २० हजार, जापानमा ४ करोड ५८ लाख, म्यानमारमा ३८ करोड ४१ लाख, श्रीलंकामा १४ करोड ४५ लाख, भियतनाममा १४ करोड ३८ लाख, कम्बोडियामा १३ करोड ६९ लाख, दक्षिण कोरियामा ११ करोड ५० लाख, भारतमा १२ लाख ५० हजार, मलेसियामा ५ करोड १० हजार बुद्धमार्गी बसोबास गर्ने तथ्यांक देखिन्छ ।
यसबाहेक पनि विश्वका अन्य विभिन्न मुलुकमा बुद्ध दर्शनबाट प्रभावित जनसंख्या निकै ठूलो रहेको पाइन्छ । मित्रराष्ट्र चीनलगायत दक्षिण एसिया, पूर्वी एसिया तथा एसिया प्रशान्त क्षेत्रका अनेकन मुलुकबाट नेपाल भ्रमणमा आउने बुद्धमार्गीहरूले बृहत्तर लुम्बिनी क्षेत्रको सांस्कृतिक रौनकको अभिवृद्धि गर्दै लुम्बिनीलाई भारतको बोधगया र कुशीनगरभन्दा बढी आकर्षक र लोकप्रिय बनाउने छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
केही वर्षअघिसम्म भगवान् गौतमबुद्ध भारतमा जन्मेका हुन् भन्ने प्रचार असत्य र निराधार प्रमाणित भइसकेको परिपे्रक्ष्यमा संसारका करोडौँ बुद्ध धर्मावलम्बीको ध्यान नेपालको दक्षिण पश्चिम प्रदेश नं. ५ मा रहेको लुम्बिनी वाटिकामा केन्द्रित हुँदै गइरहेको छ । नेपाल सरकारले चीनका सातवटा सहरसँग र कम्बोडिया तथा श्रीलंकासँग हवाई सम्झौता गरिसकेको अवस्थामा ती देशहरूबाट सोझै हवाई यात्रा गरी भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने आफ्नो जीवनको महत्वपूर्ण सपनालाई सार्थक तुल्याउन सक्ने विषयमा विज्ञहरू ढुक्क छन् । यसरी आगामी दिनहरूमा लुम्बिनीलाई सांस्कृतिक तथा धार्मिक पर्यटनको हब बनाउन सकिने सम्भाव्यताहरू प्रशस्तै देखिन्छन् ।
नेपाल भ्रमण वर्ष–२, २०२० को लक्ष्य पूरा गर्ने तयारीका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विभिन्न पर्यटकीय पूर्वाधारहरूको आवश्यकतातर्फ केन्द्रित रहेर तिनको कार्यान्वयन गर्न लागिपरेको छ भने निजी क्षेत्रबाट पनि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रले नाट्टा लुम्बिनी प्रदेशसँग समन्वय, सरोकारवाला मन्त्रालयसँग समन्वय, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै नेपालमा पहिलो चोटि आगामी २०१९ जनवरी १० देखि १२ तारिखसम्म लुम्बिनीमा प्रथम अन्तर्राष्ट्रिय बौद्ध पर्यटन मेला बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) आयोजना गर्ने भएको सूचना अहिले युद्धस्तरमा प्रवाहित गरिरहेको देखिन्छ ।
‘बुद्धको देश नेपालको अन्वेषण गराँ’ भन्ने नाराका साथ पीपलको पातमा अंकित मेलाको प्रतीक चिह्नले व्यापकता बटुलिरहेको छ । लुिम्बनी परिसरमा हुने बीआईटीएमको उद्घाटनपछिको सभा, गोष्ठी तथा पर्यटन मेला कार्यक्रम भैरहवास्थित होटल टाइगर प्यालेसमा सम्पन्न गरिने ३९ सदस्यीय आयोजक समितिका सदस्य–सचिव तथा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागार्इंले यस पंक्तिकारलाई जानकारी गराउनुभएको छ । बुद्धमार्गीहरूलाई लुम्बिनी ल्याउने चाँजोपाँजो मिलाउन इच्छुक ट्राभल व्यवसायीहरूलाई पर्यटन मेलामा सहभागी हुन आह्वान गरिएको छ ।
बजेटका हकमा आयोजक नाट्टाले २ करोड ९७ लाख रुपैयाँको अनुमानित बजेट तयार पारेर स्रोत जुटाउने काममा दौडधूप गरिरहेको बुझिन्छ । मेला आयोजक समितिका सदस्य–सचिव गुरागाईं नाट्टाका तर्फबाट स्वयं संयोजक पनि हुनुहुन्छ । उहाँले बताएअनुसार बीआईटीएम सम्पन्न गर्न नेपाल पर्यटन बोर्डले १ करोड रुपैयाँ सहयोग गर्ने र अरू बाँकी रकम नेपाल सरकारबाट पाउने आशा गरिएको छ ।
उहाँ भन्नुहुन्छ, “म आफैँले गत वर्ष पाकिस्तानको कन्दहार क्षेत्रमा रहेका भगवान् बुद्धका प्राचीन स्मारकहरूको अवलोकन गर्दै जाँदा बुद्ध नेपालमा जन्मेका हुन् । संसारका बुद्धमार्गीहरूलाई नेपालमा ल्याउने र लुम्बिनीको पवित्र भूमिमा पदार्पण गराउने उद्देश्यसाथ बीआइटीमको अवधारणा प्रस्तुत गरेको हुँ र यस अवधारणाले सार्थकता पाउन लागेको मा म व्यक्तिगत रूपमा धेरै हर्षित छु ।”
नाट्टाले ५० जना क्रेता, ५० जना विक्रेता र ३० जना सञ्चारकर्मी तथा ब्लगरलाई सहभागिताका लागि निमन्त्रणा पठाइसकेकोमा हाल सम्म २० जना क्रेता, ३० जना विक्रेता र ५ जना ब्लगरहरूबाट कन्फर्मेसन प्राप्त भइसकेको छ । आयोजक समितिका अनुसार दक्षिण कोरियाका कूटनीतिज्ञ तथा संयुक्त राष्ट्र संघका आठौ महासचिव बान कि मुनलाई प्रमुख वक्ताका रूपमा पर्यटन मन्त्रालयबाट मन्त्रीस्तरीय निमन्त्रणा पठाइसकिएको र अन्य वक्ताहरूमा युनाइटेड फेडरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (युएफटीएए) का अध्यक्ष भारतका सुनिलकुमार तथा चीनका प्रख्यात व्यवसायी एवं बुद्धिजीवी मार्कस ली रहेका छन् ।
नेपालमा बुद्ध धर्मावलम्बीहरूको जनसंख्या प्रशस्तै रहेको तथा यहाँका हिन्दूहरूले पनि भगवान् गौतम बुद्धको पूजा गर्ने भएकाले उक्त मेला भर्न जानेहरूको संख्या पनि उलेख्य रहने सहजै अनुमान गर्न सकिन्छ । हुन त यो पर्यटन मेला नितान्त व्यावसायिक प्रकृतिको हुने भएकाले क्रेता र विक्रेता बाहेकका अन्य सहभागीहरू भने त्यहाँ हुने गोष्ठी, सेमिनार र प्रदर्शनीहरूमा मात्र जान पाउने व्यवस्था गरिएको छ ।
जनवरी ८ तारिखभित्रै सबै विदेशी सहभागीहरूको नेपाल आगमन भइसक्ने र सो वा पछिल्लो दिन उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गराउँदै १० तारिख बीआइटीएम सम्पन्न गरेर आयोजना स्थलमै पत्रकार सम्मेलन गर्ने र आउँदो वर्षका लागि दोस्रो बीआइटीएमको मिति घोषणा गरिने आयोजकहरूले बताएका छन् ।
विश्वमा नै सर्वप्रथम पहिलो चोटि पर्यटन प्रवद्र्धनका लागि बुद्ध जन्मभूमि पवित्र लुम्बिनीमा आयोजना गर्न लागिएको बीआईटीएममा पाटा नेपालका अध्यक्ष अध्यक्ष पर्यटन व्यवसायी सुिनल शाक्यको अत्यन्तै महत्वपूर्ण योगदान चिरस्मरणीय रहने नाट्टा संयोजक गुरागाईंले बताएका छन् ।
वर्तमान नाट्टा कार्य समितिले भगवान गौतम बुद्धको जन्मथलो पवित्र लुम्बिनीलाई जोडेर गर्न लागेको यस सांस्कृतिक धार्मिक पर्यटन मेलाले आगामी वर्षहरूमा पनि निरन्तरता पाउँदै गयो भने लुम्बिनीको विश्वव्यापी रूपमा व्यापक प्रचार–प्रसार हुँदै जाने विषयलाई नकार्न सकिँदैन । पर्यटन प्रवद्र्धनका लागि गरिने नाट्टाको यस बीआईटीएमले नेपाल भ्रमण वर्ष–२०२० को उद्देश्य प्राप्तितर्फ एउटा महत्वपूर्ण सकारात्मकता प्रदान गर्ने नै छ ।
अन्त्यमा, बुद्धम् शरणम् गच्छामि, धर्मम् शरणम् गच्छामि, संघम् शरणम् गच्छामिको सन्देशलाई बुद्धमार्गी एवं अन्य मानवतावादी र अहिंसा तथा पञ्चशीलताप्रति समर्पित मानव समुदायमा पुर्याई संसारभरिका सनातनीहरूसमेत त्यसमा सम्मिलित हुँदै विश्व शान्तिका लागि संखनाध गर्न सकियो भने पवित्र लुम्बिनी क्षेत्रको भ्रमणमा आउन चाहनेहरूको उत्कण्ठा निःसन्देह बढ्दै जानेछ । बीआईटीएमका आयोजकहरूमा यस कार्यक्रमको सफलताका लागि सलामसहितको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्