प्रि–ओपन सेसनमा दुई प्रतिशत मूल्यमात्र घटबढ गर्न पाइने «

प्रि–ओपन सेसनमा दुई प्रतिशत मूल्यमात्र घटबढ गर्न पाइने


नेपाल धितोपत्र बोर्डले प्रि–ओपन सेसनमा हुने कारोबार दुई प्रतिशत मूल्यमात्र घटबड गर्न पाइने व्यवस्था गरेको छ । बोर्डले सेयरको नियमित कारोबार हुनु आधा घन्टा अगावै नेपाल स्टक एक्सचेन्ज (नेप्से) हुने प्रि–ओपन सेसनमा ह्वात्तै मूल्य बढाएर वा घटाएर सेयर अर्डर गर्ने गरेको पाइएपछि कडाइ गरेको हो ।
यसअघि अधिकतम पाँच प्रतिशतसम्म मूल्य घटबढ गरेर मूल्य अर्डर गर्न सक्ने व्यवस्था थियो । त्यस्तै, अब न्यूनतम मूल्य १० पैसामात्रै घटबढ गरेर मात्रै अर्डर गर्न पाउने व्यवस्था धितोपत्र बोर्डले गरेको छ । यसअघि न्यूनतम मूल्यमा एक रुपैयाँ घटबढ गरेर सेयर अर्डर गर्न पाउने व्यवस्था थियो ।
यसैगरी साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १६.९६ अंकले घटेर २८८३ अंकमा झरेको छ । यसदिन २१९ कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर किनबेच भई ७ अर्बबराबरको कारोबार भएको छ ।
बोर्डले जोखिमयुक्त कम्पनीको सूचक सार्वजनिक गर्दै कारोबारमा सावधानी अपनाउन सुझाव दिएसँगै सेयर बजार घट्न थालेको थियो । साताभरमा ४ दिन नेप्से घट्यो भने मंगलबार एकैदिन करिब ८० अंकले बढेको थियो ।
बजारमा लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न थालेपछि ओरालो लाग्न थालेको हो । यसैगरी बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीमा कडाइ गर्ने हल्लाले समेत बजार प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्