सुनचाँदी व्यवसायीद्वारा निर्वाचित सांसदको सम्मान «

सुनचाँदी व्यवसायीद्वारा निर्वाचित सांसदको सम्मान

राजनीतिक तथा आर्थिक क्षेत्रका विज्ञहरूले अब मुलुकमा आर्थिक विकासको पालो आएको बताएका छन् । मुलुकका व्याप्त राजनीतिक तरलताका कारण मुलुकमा लामो समयसम्म आर्थिक विकास ओझेलमा परेको भन्दै उनीहरूले अब आर्थिक विकास नै पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले अब आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतिनिधि सभा निर्वचनमा निर्वाचित भएका महासंघका सल्लाहकारहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले आफूहरू प्रतिनिधिसभामा निर्वाचित भए पनि अझै कानुनी रूपमा प्रतिनिधिको हैसियत प्राप्त गरिनसकेको बताए । नयाँ सरकार गठनपछि मुलुकको आर्थिक मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने उद्घोष उनले गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारहरू प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुवासचन्द्र नेम्वाङ, काठमाडौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, रूपन्देही क्षेत्र नं १ बाट एमाले स्थायी कमिटी सदस्य एवं पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा र काठमाडौं क्षेत्र नं ९ बाट एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन् ।
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष मोहन कुमार सुनारले महासंघका विभिन्न गतिविधिको बारेमा प्रकाश पार्दै सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका समस्याको बारेमा अवगत गराएका थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायले राज्यलाई करमार्फत पु¥याएको योगदान र रोजगारी सृजनामा पुराएको योगदानको बारेमा जानकारी गराए ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले कार्यक्रम सञ्चालन गर्दै महासंघका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा पूर्व सभामुख नेम्वाङले व्यवसायीको हक अधिकारको रक्षाका लागि आफूहरू जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्षहरू अर्जुन रसाइली, मोहन काजी शाक्य, दियसरत्न शाक्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्य र सहकोषाध्यक्ष किसन मास्केलगायत महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
सुनचाँदी व्यवसायीका लागि आवश्यक कानुनहरू निर्माणको क्रममा रहेको छ । सुनचाँदी व्यवसायीलाई सम्बोधन गर्ने विषयवस्तु देशको प्रमुख कानुन देवानीसंहितामा सुनचाँदी व्यवसायीहरूले भोग्दै आइरहेका चोरीको समस्या समावेश भएको छ । लामो समयदेखि थाती रहेको सुनचाँदी निर्देशिका पनि जारी हुने क्रममा छ । सुनचाँदी सम्बन्धी विभिन्न व्यवस्थाहरू निर्माणको क्रममा रहिरहेको बेला सुनचाँदी व्यवसायीका सल्लाहकारहरू प्रतिनिधि सभामा पुग्नुले अब सुनचाँदीको गरगहना निमार्णका लागि आवश्यक ऐन कानुनको निर्माण भएर निर्बाध रूपमा यो व्यवसायको संचालन गर्न सकिने अवस्था आउन सक्नेमा सुनचाँदी व्यवसायीहरू आशावादी रहेका छन् ।
महासंघले सुनचाँदी व्यवसायीहरूका लागि आवश्यक पर्ने नीतिनियमका विषयमा सल्लाहकारहरूसंग अन्तक्र्रिया गरी संसदसम्म सहज रूपमा पुराएर आवश्यक ऐन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्