भारतीय नागरिकविरुद्ध १८ करोड ६५ लाख बढीको बिगो दायर «

भारतीय नागरिकविरुद्ध १८ करोड ६५ लाख बढीको बिगो दायर

सुन तस्करीको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।

विभागका अनुसार सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरुद्ध बुधबार उच्चअदालत जनकपुरमा मुद्दा दायर भएको हो भने उनीहरूसँग १८ करोड ६५ लाख २ हजार ७ सय ६ रूपैयाँ बिगो, जरिवानासहित कैद सजाय माग दाबी लिइएको विभागका महानिर्देशक रामप्रसाद आचार्यले कारोबारलाई बताए ।तस्करमा संलग्न उनीहरू बाबुछोरी हुन् ।

दुवै वीरगञ्ज महानगरपालिका–५ रेशम कोठीस्थित श्री गणेश अपार्टमेन्टमा बसोबास गरिरहेका थिए । उनीहरूले २२ हजार ९५७.४८ ग्राम सुन र १ हजार ७८ ग्रामचाँदीका गरगहना तस्करी गरेको विभागको दाबी छ।गणेश अपार्टमेन्टको फ्लाट नम्बर ३०३ बाट पर्सा प्रहरीले गत कात्तिकमा २३ किलो सुन बरामद गरेको थियो ।

प्रहरीले सुन बरामद गरेपछि सोही फ्लाटमा बस्ने सिन्हा बाबुछोरी अनुसन्धानमा तानिएका थिए । उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३, सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम मुद्दा दायर गरिएको आचार्यले बताए । पछिल्लो समय सुनचाँदी तस्करमा भारतीय नागरिकहरूको संलग्नता बढी रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्